काठमाडौं : प्रतिनिधिसभाको पहिलो बैठक बसेको पाँच महिनापछि मिनी संसद् मानिने संसदीय समितिहरूले काम थालेका छन्। सभापति चयन भइनसकेकाले ज्येष्ठ सदस्यका अध्यक्षतामा समितिका बैठक मंगलबार बसेका हुन्।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति बैठकको अध्यक्षता गरे। नाउपा सांसद लालवीर चौधरीले पूर्वाधार विकास समिति बैठकको अध्यक्षता गरे। माओवादी सांसद रनेन्द्र बराइलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकको अध्यक्षता गरे।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपा सांसद पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्यो।
शिक्षा तथा स्वास्थ्य समितिको बैठक एमाले सांसद कालुराम राईको अध्यक्षतामा बस्यो। महिला तथा सामाजिक मामिला समितिको बैठक राप्रपा सांसद रोशन कार्कीको अध्यक्षतामा बस्यो। राज्यव्यवस्था तथा सुशासन समिति बैठक राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो।
कांग्रेस सांसद सन्तोष चालिसेले अर्थ समिति बैठकको अध्यक्षता गरे। कांग्रेस सांसद शेरबहादुर देउवाले कानुन, न्याय तथा मानवअधिकार समिति बैठकको अध्यक्षता गरे। जसपा सांसद नबलकिशोर साह सुडीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकको अध्यक्षता गरे।
नागरिक उन्मुक्तिका सांसद लालवीर चौधरीले पूर्वाधार विकास समिति बैठकको अध्यक्षता गरे। अधिकांश संसदीय समिति करिब २५ सदस्यीय छन्। मंसिर ४ को निर्वाचनपछि संघीय संसद्का दुवै सदनका अधिवेशन गत पुस २५ गते बसेको थियो। त्यसपछि लामो समय समिति बन्न सकेका थिएनन्।
प्रतिक्रिया दिनुहोस !