नीति तथा कार्यक्रममा सत्तापक्ष–प्रतिपक्ष ‘जुहारी’

नीति तथा कार्यक्रममा सत्तापक्ष–प्रतिपक्ष ‘जुहारी’
सुन्नुहोस्

काठमाडौं: सरकारको नीति तथा कार्यक्रमलाई लिएर संसदमा सत्तापक्ष–प्रतिपक्ष जुहारी चलेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम कुनै कागजको खोस्टाजस्तो नभएको बताएका छन् ।

‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन। कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन। यसका लागि छलफलको आवश्यकता पर्छ। सुझाव सल्लाह पनि चाहिन्छ’, उनले सोमबारप्रतिनिधिसभा बैठकमा भने, ‘यो नीति तथा कार्यक्रम पोजेटिभ छ। देशको समस्यालाई समाधान गर्नसक्छ।’

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नहुने बताउँदै पुनर्लेखनको सुझाव दिएकामा नेपालले  भने जवाफ दिएका हुन् ।  उनले नेपाललाई स्वाभिमानी देशका रूपमा परिचित गराउन चाहेको बताए। भने, ‘त्यसका लागि सबैको सहयोग पनि हामी चाहन्छौं।’ नेपालमा हुने अनेकौं सेटिङ र भ्रष्टाचारका कारण विद्यार्थीले नेपालमै डाक्टर पढ्न नपाएर विदेश गइरहेको उनले बताए । नेपालमै उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । 

कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले पनि सरकारले नीति तथा कार्यक्रम अहिलेसम्म पुनर्लेखन गर्ने प्रचलन नरहेको बताए। ओलीले काम नलाग्ने रहेको भन्दै पुनर्लेखन गर्न सुझाव दिएपछि उनले यस्तो जवाफ दिएका हुन्।

भने, ‘यो नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्रीले धेरै विचार राखिसक्नुभएको छ। मैले सुनें यो काम लाग्दैन पुनर्लेखन गर्नुपर्‍यो भन्ने पनि सुने। हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं। पूर्वअर्थमन्त्रीहरूले पेश गरेको बजेट पनि देखेका छौं। म स्मरण गराउन चाहन्छु इतिहासमा कतै पुनर्लेखन भएको छैन।’

‘कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो ?’ 

एमाले सचिव योगेश भट्टराईले नेपाली कांग्रेसलाई जनयुद्ध शब्द स्वीकार गरेको हो ? भनेर प्रश्न गरे। एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलोपटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए।  

दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यक्तित्वपछिको एउटा निम्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसकेको बताएका छन्। नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गर्छौं भन्ने कुरा आउनुपर्ने भए पनि नआएको उनको टिप्पणी थियो। 

बहुमतका आधारमा नीति तथा कार्यक्रम पास भए पनि यसबाट कुनै उपलब्धि नहुने उनको दावी छ। ‘देश तपाईंको मात्रै होइन, सरकारमा बस्नेको मात्र पनि होइन। यो देश बिग्रिँदा तपाईंको मात्र बिग्रिँदैन। सरकारमा बस्नेको मात्र बिग्रिँदैन। देश हाम्रो मात्रै बिग्रँदैन भावी सन्तति र आउने युवाको पुस्ताको भविश्य बिग्रन्छ।’ लिङ्देनले थपे, ‘यो हामी सबैको साझा विषय हो। त्यसकारण नमिलेका विषयहरू फेरि लेखेर ल्याउनुपर्दा अप्ठ्यारो मान्नु हुँदैन। यसलाई पुनर्लेखन गर्न जरुरी छ।’

‘अब चुरेलाई पनि नछोड्ने ?’

सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम भइरहेको कामलाई टालटुल गरेर नयाँ नेपाल नबन्ने बताएका छन्। अहिलेको समस्या यो हो, यसरी अगाडि बढ्नुपर्छ भनेर नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ।

‘हिजो हामीले गरेका बाचा किन पूरा भएनन् ? को–को दोषी थिए ? जे सुकै गल्ति गरेपनि छुट हुने यो चरित्रले हामी कसरी अगाडि बढ्न सक्छौं ? भन्ने प्रश्न गरे। यादवले चुरेलाई पनि सरकारले नछोड्ने भन्दै प्रश्न गरे, ‘चुरे संरक्षण भनेर अर्बौं रकम खर्च गरिसकेको छ। ६१ नम्बरको बुँदा हेर्ने हो भने अरु त बेच्न बाँकी रहेन अब चुरेलाई पनि नछोड्ने ?’  

‘तालि पिटेरै नीति तथा कार्यक्रम पास गर्छौं’ 

नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले तालि पिटेर नीति तथा कार्यक्रम पास गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले छक्का हानेर नीति तथा कार्यक्रम फेल गराउने बताएपछि उनले त्यसको जवाफमा तालि पिटेरै कार्यक्रम पास गर्ने बताएका हुन्।

‘एकजना पूर्व प्रधानमन्त्रीले छक्का हानेर फेल गराउने कुरा गर्नुभयो। सुन्दा रमाइलै थियो, संसदमा सुनें बाहिर पनि एकपटक सुनें’ पौडेलले भने, ‘यो गठबन्धनको सरकार हो। ह्वीप लगाए पनि उहाँकै दलले मान्ने अवस्था छैन। हामी छक्का हानेर गडगडाहट ताली पिटेर बजेट पास गर्नेछौं।’ अहिलेको सरकार बहुमत प्राप्त भएकाले पास हुने कुरामा द्विविधा नरहेको पौडेलले बताए। ‘हामी तर्कका लागि तर्क गर्ने भन्दा पनि यथार्थमा रहेर बहस गर्न तयार छौं’ उनले भने, ‘शब्दजालमा पारेर रमाइलो गर्ने समय होइन। अहिलेको अर्थतन्त्रलाई सुधार गरेर अघि बढ्ने योजना बनाउनुपर्छ।’ 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन्। संसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरे पनि दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन्। 

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम जस–अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ सुवालले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.