धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया
बागलुङ : धौलागिरि अस्पताल बागलुङमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ।
बागलुङका ५२ वर्षीय एक पुरुषको बुधबार धौलागिरि अस्पतालमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।
मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका उनको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए।
अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा अमित ढुङ्गाना लगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेसु प्रधानले बताए।
धौलागिरी अस्पतालमा यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो। यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए। महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरूलाई पनि सहज हुने भएको छ।
पछिल्लो समय धौलागिरि अस्पतालमा विशेषज्ञ चिकित्सक थप भएसँगै ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ।
अस्पतालमा ओपीडी र इर्मेजेन्सी लगायत विशेषज्ञ सेवामा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा. प्रधानले बताए।
प्रतिक्रिया दिनुहोस !