सगरमाथामा कीर्तिमानै कीर्तिमान
सगरमाथामा बढे आरोही, चुलिए कीर्तिमान
७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिले हिमालमा ढिलो हिउँ पर्न थालेपछि आरोहणको सिजन पनि परिवर्तन भइरहेको छ।
काठमाडौं/ओखलढुंगा: गत साता मात्रै सगरमाथा आरोहणका ३ छुट्टाछुट्टै विश्व कीर्तिमान रहे। विश्वकीर्तिमानी कामिरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरे, कृत्रिम खुट्टाको भरमा हरिबहादुर बुढा मगरले गरेको सगरमाथा आरोहण र कान्छा आरोही निमी रिन्जी शेर्पाले सगरमाथाको सफल आरोहणसँगै १० घण्टामा ल्होत्से हिमालको पनि आरोहण गरे। सगरमाथामा मानवपाइला परे यताको ७० वर्षमा थुप्रै कीर्तिमान कायम भएका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि.) को आरोहणका लागि प्रत्येक वर्ष आरोहीको संख्या करिब ५० प्रतिशतले बढ्ने गरेको पर्यटन विभाग बताउँछ।
सगरमाथा आरोहीको संख्या बढेसँगै यसबाट आउने रोयल्टी पनि बढ्दै गएको छ। फागुन अन्तिमदेखि जेठ मसान्त वसन्त ऋतुमा करिब ६० करोड रुपैयाँ रोयल्टी उठ्ने गरेको विभागका पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडा बताउँछन्। तर, अन्य ऋतुमा भने सगरमाथा आरोहीको संख्या उल्लेख्य हुने गरेको छैन। सगरमाथा आरोहणबाट मात्रै वार्षिक रूपमा सरदर पार्ने १ अर्ब रोयल्टी उठ्ने गरेको बताइन्छ।
सगरमाथा आरोहणको ७० वर्षमा आइपुग्दा अहिलेसम्म करिब ७ हजार ६ सय २५ ले सगरमाथाको सफल आरोहण गरेको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए। हिमाल आरोहणका लागि तुलनात्मक रूपमा अनुकूल मानिन्छ। त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको संख्या वसन्त ऋतुमा बढी हुने गरेको छ। वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन्।
यसपालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ६५ आरोही समूहका ४ सय ७८ आरोहीले अनुमति लिएका छन्। उनीहरूमध्ये १ सय २ महिला र ३ सय ७६ पुरुष छन्। सगरमाथा आरोहणका यही अवधीमा सन् २०२२ मा ४४ समूहका ३ सय २३ र सन् २०२१ मा ४२ समूहका ४ सय ९ जनाले अनुमति लिएका थिए।
सगरमाथा आरोहण नेपालतर्फको दक्षिण मोहडाबाट गरिन्छ। सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ। कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको संख्या बढेको हुनसक्ने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको भनाइ छ।
सगरमाथा आरोहणका लागि विदेशीले बढीमा ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ भने नेपालीको हकमा बढीमा ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ। ऋतुअनुसार रोयल्टी दर पनि फरक छ। विदेशीको हकमा शरदमा ५ हजार ५ सय अमेरिकी डलर र गर्मी–जाडो याममा भने २ हजार ७ सय ५० अमेरिकी डलर रोयल्टी तोकिएको छ। नेपालीले भने शरदमा ३७ हजार ५०० र जाडो–गर्मीमा क्रमशः १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्दै आएका छन्।
सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो। पछि सन् १९५६ (वि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए। सन् १९३६ मा पनि सगरमाथा आरोहणको प्रयास भएको थियो तर सफल हुन सकेन।
सन् १९७५ मे १६ मा जापानकी जुनको ताबेई शिखरमा पुगेर संसारकै पहिलो महिला सगरमाथा आरोही बनेर इतिहास कायम गरेकी थिइन्। नेपाली चेली पासाङ ल्हामु शेर्पाले भने सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
कीर्तिमान थपिँदै, आरोहणको सिजन फेरिँदै
सगरमाथा आरोहणमा होडबाजी नै देखिन्छ। विभिन्न आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानी कायम गर्दै र तोड्दै आएका छन्। यस क्रममा पछिल्लो पटक कामिरिता शेर्पाले विश्वमा नै २८ पटकसम्म सगरमाथा चढेर अर्को कीर्तिमान कायम गरेका छन्। योसँगै दर्जनौं कीर्तिमान कायम भएको सगरमाथा आरोही संघका उपाध्यक्ष दिवश पोखरेल बताउँछन्।
उनका अनुसार सगरमाथाको चुचुरोमा बिहे गर्ने, निर्वस्त्र उभिने, लामो समयमा सम्म चुचुरोमा बिताउने, सबैभन्दा छिटो चढ्ने, अक्सिज मास्कबिना नै सगरमाथामा पुग्ने, कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने लगायतका कीर्तिमान कायम छन्। यसमा सबैभन्दा धेरै नेपाली शेर्पाहरूको नै कीर्तिमानी देखिन्छ।
तर, पछिल्लो समयमा आरोहण पूर्वका तालिम केन्द्रहरू, प्रविधिको प्रयोग लगायतले अन्यको पनि आरोहण मोह बढेको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा बताउँछन्। नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतीय प्रतिष्ठान, खुम्बु क्लाम्बिङ स्कुल तथा निजी तहबाट खोलिएका तालिम केन्द्रहरू अहिले प्रशस्त छन्।
सगरमाथामा पनि जलवायुको असर
जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिले हिमालमा ढिलो हिउँ पर्न थालेपछि आरोहणको सिजन पनि परिवर्तन भइरहेको छ। जलवायुपरिवर्तनको सबैभन्दा बढी असर र प्रभाव पनि हिमालमा देखिएको छ। समुद्रको सतह बढेको र हिमालमा हिउँ नपरेर हिमालहरू काला पहाडजस्ता बन्न थालेको विभिन्न अध्ययनले देखिएको छ। त्यसमा पनि बढी असर सबैभन्दा अग्लो शिखर सगरमाथामा पर्नु स्वाभाविक छ। शरद ऋतुमा ८ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले जोखिम बढी हुने जानकार बताउँछन्।
जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जानु र मानवीय गतिविधि बढ्नुले आधार शिविरमा असुरक्षा भएको भन्दै सार्ने योजना बनाएको धेरै भइसक्यो। आधार शिविरलाई गोरक्सेप सार्ने भनिए पनि काम अघि नबढेको काठमाडौं युनिभर्सिटिका प्रा.डा. रिजनभक्ता कायस्थ बताउँछन्।
अहिले खुम्बु हिमनदीकै छेउमा आधारशिविर छ। आरोहणको याममा आधारशिविरमा १५ सय बढि भेला हुन्छन्। उनीहरू टेन्ट हालेर सुतेको बेलामा त्यहाँ खोपिल्टो पर्न थालेको कायस्थले जानकारी दिए। सरकारले हिउँ नभएको ठाउँमा आधार शिविर सार्न उपयुक्त हुने भन्दै कायस्थले चाँडै नै सरकारले यसमा ध्यान पुर्याउन सुझाए।
योसँगै आरोहीहरूले लैजाने र त्यहाँ गर्ने फोहोरले पनि सगरमाथाको सुन्दरतामा असर गरिरहेको छ। नेपाली सेनाले सगरमाथामा मात्रै ५० हजार टनभन्दा बढी फोहोर रहेको बताएको छ। हिमालमा आरोहीको घुइँचोसँगै त्यहाँ थुप्रिने फोहोर व्यवस्थापन कसले र कसरी गर्ने भन्ने स्पष्ट हुन सकेको देखिँदैन। आरोहणको अनुमति दिने पर्यटन विभागले फोहोरको धरौटी राख्ने गरेको छ । ५ सय अमेरिकी डलरदेखि ४ हजार डलरसम्म धरौटी लिने गरिन्छ। उक्त रकम फोहोर व्यवस्थापनको कागजात देखाएपछि विभागले फिर्ता दिन्छ। धेरै आरोही उक्त रकम फिर्ता लिन नआएको बताइन्छ।
अर्थतन्त्रको भरपर्दो माध्यम
हिमाल आरोहण र पर्वतारोहण पर्यटनको प्रमुख आयस्रोतको रूपमा रहेको छ। एक आरोही नेपाल आउँदा त्यसले धेरैलाई रोजगारी दिने सेभेन समिटका प्रबन्ध निर्देशक मिङमा शेर्पा बताउँछन्। ‘हिमाल आरोहणका लागि आउँदा रोयल्टीसँगै पर्वतारोहण एजेन्सीदेखि भरियासम्मले काम पाउँछन्। होटल÷रेस्टुँरा चल्छन्। यसले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्छ,’ उनले भने।
सगरमाथा भएकै कारण खुम्बु क्षेत्रको अर्थतन्त्र संघीय राजधानी काठमाडौंपछि नाम्चेमा चलयायमान देखिन्छ। यहाँ आउने पर्यटक नै खुम्बुको मुख्य स्रोत हो। पर्यटकहरूले भ्रमण, आरोणका क्रममा गर्ने खर्चले सोलुखुम्बु जिल्लाको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ। यहाँका स्थानीय तहले रोयल्टी रकमबाट यस क्षेत्रको विकासमा टेवा पुगेको छ।
सगरमाथाकै नामले संसारभरका पर्र्यटकहरू नेपाल आउँछन्। नेपाल आएकामध्ये धेरै हिमाल हेर्न र आरोहण गर्न खुम्बु क्षेत्रमै जान्छन्। यसले नेपालको अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याएको छ। हिमाल आरोहणको रोयल्टीलाई मात्रै हेर्दा अर्थतन्त्र र समाज रूपान्तरणमा सगरमाथाको योगदान कम देखिन्छ। पर्यटकीय क्षेत्र भएपछि मुख्य गरी खुम्बु क्षेत्रमा यहाँ कला संस्कृति, भाषा शैली र पाहुना सत्कार गर्ने परम्परा गज्जबले विकसित हुँदै गएको छ।
खुम्बु क्षेत्रका स्थानीयको आम्दानीको स्रोत ९० प्रतिशत पर्यटन गतिविधि नै हुन्। चिसोका कारण पर्याप्त उत्पादन नहुने भएकाले १० प्रतिशत जति जनसंख्याले मात्रै कृषि पेसा अंगालेको खुम्बु पासाङल्हामु गाउँपालिका–२ का वडा अध्यक्ष फुर्वा शेर्पाले बताए। उनका अनुसार ट्रेकिङ, होटल तथा रेस्टुरेन्ट, पर्यटन गाइडजस्ता
पेसाले जीवनस्तर धानेको छ। पर्यटक नहुँदा ६ महिना त खुम्बु सुनसान हुन्छ। आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च नै यहाँका स्थानीयको मुख्य आयस्रोत हो।
शिक्षा र चेतनाको विकासमा विदेशी पर्यटक आउँदा पूरै परिवर्तन भएको पाइन्छ। सिधा देखिने रकमभन्दा यो सयौं गुणा ठूलो योगदान हो। यद्यपि सिधै सरकारले पाउने रोयल्टी नेपालको अर्थत्रन्त्रमा पनि निकै टेवा पुगेको छ। सगरमाथाको रोयल्टी ५० प्रतिशत संघीय सरकार र ५० प्रतिशत प्रदेश तथा स्थानीय तहमा पठाउने व्यवस्था भएकाले सोलुखुम्बुका स्थानीय तहलाई राजस्वको स्रोत पनि सगरमाथा राष्ट्रिय निकुञ्ज र सगरमाथा हिमाल बनेका छन्।
सगरमाथा सोलुखुम्बुको सरकारी राजश्वको स्थायी माध्यम पनि हो। यसबाट एकातिर सरकारले आरोहण अनुमति दस्तुर लिन्छ भने अर्कातिर पर्यटकहरूको हिमाली क्षेत्रमा भइरहने आवागमनले स्थानीय स्तरमा समेत अर्थ उपार्जनको माध्यम बन्दै गएको छ।
कति लाग्छ खर्च ?
सगरमाथा आरोहणका लागि इच्छाशक्ति र आरोहण अभ्यास मुख्य आधार हुन्। यसका अतिरिक्त खर्चको व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ। सरकारले लिने राजस्वबाहेक तयारी तथा आवश्यक उपकरण र साधानसहित एक जना नेपाली आरोहीका लागि न्यूनतम २५ देखि ३० लाख खर्च हुने एक्सपिडिसन कम्पनी पिक प्रमोसनका निर्देशन बाबु शेर्पा बताउँछन्।
- यसपालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ६५ आरोही समूहका ४ सय ७८ आरोहीले लिए अनुमति
- ७० वर्षमा करिब ७ हजार ६ सय २५ ले गरे सगरमाथाको सफल आरोहण
- गत सातामात्रै सगरमाथा आरोहणका ३ छुट्टाछुट्टै विश्व कीर्तिमान
विदेशीको हकमा भने राजस्व दस्तुरदेखि उनीहरूले गर्ने आरामी खर्चका कारण केही बढी खर्च हुने गरेको छ। सेभेन समिटका प्रबन्ध निर्देशक मिङमा शेर्पाका अनुसार, विदेशी आरोहीरूले कम्तीमा ३५ लाखदेखि बढीमा ३ करोडसम्म खर्च गरेको रेकर्ड छ। आरोहणका कर्म जतिधेरै सेवा सुविधा खोजिन्छ त्यति नै धेरै खर्च बढ्ने उनी बताउँछन्।
यसरी पुगिन्छ आधार शिविर
काठमाडौंबाट हवाई माध्यम हुँदै सिधै लुक्ला जान सकिन्छ। त्यहाँबाट पैदल यात्रामा आधार शिविर पुग्न सकिन्छ। आधार शिविर घुमेर फर्किन आवश्यक सामग्री खरिद तथा बाटो खर्चका हिसाबले १ लाख देखि १ लाख ५० हजारसम्म एक जनालाई खर्च हुने पर्यटन व्यवसायी पेम्पा शेर्पाको भनाइ छ। खर्चको सीमा भने यात्रीले गर्ने विवेक र आवश्यकताले निर्धारण गर्छ।
अर्को सडक मार्ग हो। ओखलढुंगा सदरमुकामबाट ५४ किलोमिटर यात्रापछि सल्लेरी पुगिन्छ। त्यहाँबाट खरिखोला हुँदै काँडेसम्म पुग्न सकिन्छ। दूधकोसीसम्म बोलेरोको यात्रा गर्न वर्षादमा पनि सकिने पर्यटन व्यवसायी शेर्पा बताउँछन्। आधार शिविर वा आरोहणको उपयुक्त सिजन भनेको वसन्त र शरद हुन्। अत्याधिक वर्षा वा हिमपात हुने सिजनमा जान सकिँदैन।
लुक्ला वा आसपासबाट भने सडक मार्ग हुँदै गएका पदयात्री र हवाई मार्गबाट गएका पदयात्रीको रुट एकै हो। सबै एकै पदमार्ग प्रयोग गरेर आधार शिविरसम्म पुग्न सक्छन्। सडक यात्रामा गएका पैदल यात्री दूधकोसीबाट १ दिनमा काँडे पुग्न सक्छन्। काँडेबाट १ दिनमा लुक्का। लुक्ला नगई छोप्लुङ चैरीर्खक, फाक्दिङ मोञ्जे हुँदै मञ्चेबाट सगरमाथा नेश्नल पार्क पनि जान सकिन्छ। यहाँबाट ३ घण्टा जतिमा नाम्चे बजार पुगिन्छ। यसलाई हिमालको ठमेल भनेर चिनिन्छ। किनभने नाम्चे आरोहण सिजनमा सुत्दैन। सगरमाथाको प्रवेशद्वार पनि नाम्चेबजारलाई मानिन्छ, जुन ३,४४० मिटर) उचाइमा छ। आधार शिविर ५,३६२ मिटरमा छ। आधार शिविर जाने २ पदमार्गमा जाने पहिलो नाम्चेदेखि गोक्यो लेक, चोला पास हुँदै र दोस्र्रो, तेङ्बोचे, डिङ्बोचे, प्याङ्बोचे, थुक्ला, गोरक्सेप हुँदै हो।
केही अघि सगरमाथा आरोहण गर्दै आरोहीहरू । तस्बिर : सौजन्य बाबु शेर्पा/पूर्णिमा श्रेष्ठ
नाम्चेमा आराम गर्ने, घुमफिर गर्ने, एभरेस्ट म्युजियम हेर्ने अवसर प्राप्त हुन्छ। एभरेस्ट होटल भ्यूबाट सगरमाथा, लोबुचे, ल्होत्से, अमादब्लम लगायतका हिमाल देख्न सकिन्छ। यहाँबाट खुम्जुंग गाउँ जान सकिन्छ। खुम्जुंग शेर्पाहरूको पुरानो गाउँ हो। त्यहाँको गुम्बामा यतिको खोपडी पनि छ।
नाम्चेबाट ११ किलोमिटर हिँडेर तेङ्बोचे पुग्न सकिन्छ। त्यसपछि अरू ६ घण्टाको यात्रापछि दिङ बोचे पुगिन्छ। यो ठाउँलाई नै एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्दा आधार बनाएका थिए। यो करिब ४५ सय मिटर उचाइमा छ। यहाँबाट लोबुचे पुगिन्छ। लोबुचेबाट ३ घण्टा हिँडेर अन्तिम मानवबस्ती गोरक्सेप पुगिन्छ। यहाँ पुगेपछि सगरमाथामा सूर्योदय हेर्ने, कालापत्थर जाने र सगरमाथाको आधार शिविर घुमेर फकिर्ने बास बस्ने ठाउँ छ। यसमाथि आवासको व्यवस्था छैन।
सगरमाथाका बारेमा थप जानकारी लिन सगरमाथा राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, पर्यटन सूचना केन्द्र तथा स्थानीय स्तरमा गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिलगायतका निकाय छन्। यो समितिले क्याम्प–२ सम्म बाटो निर्माण तथा आरोहीहरूबाट संकलन हुने फोहोर संकलन गर्ने काम गर्दै आएको छ।
उज्यालो हिमालको अँध्यारो पाटो
सर्वोच्च शिखर सगरमाथाको रोचक कहानी मात्रै छैन। ऐतिहासिक रेकर्ड, संसारभरको चर्चा मात्रै सगरमाथाको चक्रसँग छैन। यसका कहाली लाग्दा र अपत्यारिला पाटा र प्रभावहरू छन्। हजारौंले सगरमाथामाथि विजय गर्दा सयौं सगरमाथामा बिलाएका कथा छन्।
हिमाल र हिमाली क्षेत्रका अध्यता डेभिड दुर्कनको पुस्तक गिम्प्सेस अफ सगरमाथाका अनुसार सन् १९२२ मा दोर्जी शेर्पादेखि सन् २०२२ सम्ममा निग्मी तेन्जी शेर्पासम्म गरी सगरमाथामा ज्यान गुमाउने १२० नेपाली छन्। वर्षमा सरदर ६ जना आरोहणको क्रममा हराउने गरेको सगरमाथा आरोही संघका उपाध्यक्ष दिवश पोखरेल बताउँछन्।
अध्यता दुर्कनले हिमाल आरोहणलाई ‘हिमालयन इगो एक्सपिडिसन’ भनेर व्यंग्य गरेको पाइन्छ। सन् १९५३ मा नेपालतर्फबाट सम्भव भएको पहिलो आरोहणका क्रममा १५ जनाले ज्यान गुमाउनुपरेको तथ्यांकलाई उनी शवमा टेकेर पालिएको कीर्तिमान भन्छन्। अहिले वसन्त ऋतुको सगरमाथा आरोहणको संघारमा आधार शिविर माथिबाट हिउँ पहिरो आउने हो कि भन्ने चिन्ता छ। सगरमाथा आफैं हिउँ नपरेर कालापत्थरजस्तो कालोपहाड बन्न थालेको छ।
सगरमाथामा मानव पाइलाको प्लाटिनम जुब्ली
यही मे २९ तारिख अर्थात् २०८० जेठ १५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा मानव पाइला टेकेको ७० वर्ष पुग्दैछ। खुम्बुपासाङ ल्हामु गाउँपालिका मुख्य आयोजक बनेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। २९ मेमा समापन हुने कार्यक्रमअन्तर्गत शुक्रबार मात्रै लुक्लाको तेन्जिङ हिलारी पार्कमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको पूर्ण कदको शालीक अनावरण भएको छ।
शालिक अनावरण कार्यक्रममा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अनावरण गरेका थिए। खुम्जुङमा २९ मेमा सर एडमन्ड हिलारी पर्यटन सूचना केन्द्र र तेन्जिङ नोर्गे हेरिटेज उद्घाटन कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ। यो कार्यक्रममा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क, स्व. हिलारीका छोरा पिटर हिलारी र तेन्जिङनोर्गेका छोरा जाम्लिङ शेर्पा सहभागी हुँदै छन्।
सगरमाथाको प्लाटिनम् जुब्लीले नेपालको पर्यटकीय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा जगतमा प्रवद्र्धन गर्न महत्वपूर्ण हुने विश्वास गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका–२ का वडा अध्यक्ष फुर्वा शेर्पाले बताए। प्लाटिनम जुब्लीको सन्दर्भमा पर्वतारोहण संघ नेपालले पनि राजधानीमा प्रभातफेरीसँगै कार्यक्रम गर्दैछ।