प्रधानमन्त्री–प्रतिपक्षी भनावैरी

प्रधानमन्त्री–प्रतिपक्षी भनावैरी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर सोमबार संसद्मा प्रतिपक्षीसँग भनावैरी चलेको छ। प्रमुख प्रतिपक्षी एमालेले नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दिएको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरेको छ। उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने बताएपछि प्रतिनिधिसभा बैठकमा ओलीले भने, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन। यसमा कुनै सट्टापट्टाको विषय हुँदैन। बंगलादेश जानका लागि जमिन दिनुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय प्रचलनमा नभएको आफ्नो राष्ट्रिय अधिकारभन्दा परको हो।’

ओलीले भारतले सांस्कृतिक भन्दै आफ्नो नवनिर्मित संसद् भवनमा राखेको नक्सा त्रुटिपूर्ण भएको बताए। उनले प्रधानमन्त्री दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए। भारतले संसदमा राखेको नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन्।null

‘तपाईंले गेरुवस्त्र लगाउनुभयो। एक ढाकर रद्राक्ष बोकेर जानुभयो। कोटको एउटा गोजीमा नागरिकता विधेयक प्रमाणीकरणको कागज राख्नुभयो’ ओलीले भने, ‘उहाँ जे बोलियो त्यसले राष्ट्रिय हितमा धक्का पैदा भयो। प्रधानमन्त्रीप्रति सन्देह पैदा भएको छ। म भारतलाई दोष दिन चाहन्नँ। ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरू बोलिरहेका छन्। चार–चार दिन बस्दा केही भन्नुपर्दैन ?’ दाहाललाई ओलीले प्रश्न गरे। उनले अगाडि भने, ‘यही तरिका हो भने हामी धेरै कुरा लुज गर्छौं। नक्सा बनाउनु त्रुटि हो। सांस्कृतिक भनेर राष्ट्रका नक्साहरूको सम्बन्धमा सीमा नबनाइकन यस्तो ढंगले फस्नु हुँदैनथ्यो। प्रधानमन्त्रीको अडानहिनता देखियो। हुन त यो सरकार र गठबन्धन बन्दा नै कम्फर्टेबल भन्ने थियो।’

पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरे। नेपालको शिर ठडिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको आरोप उनले लगाए। ‘प्रधानमन्त्रीज्यू अत्यन्त फितलो रूपमा प्रस्तुत हुनुभयो। वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन। तरिकाहरू मिलेन। परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरू कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ। पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन्। यस्तोमा परिवारको सदस्य राख्न मिल्दैन। फस्र्ट लेडी भनेको श्रीमान्÷श्रीमती) लाई भनिन्छ। अरू फेमिली मेम्बर हुन्। छोरा लगे फस्र्ट जेन्टलम्यान भन्ने त ? थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा। छोरा लगेर स्पाउसको स्टाटस हुँदैन। परिवारका सदस्यलाई फस्र्ट लेडी भनिन्न।’

‘भोलि नातिनी लगे के भन्ने ? प्रोटोकल यस्तो भद्रगोल गर्नु हुँदैन। वार्तामा परराष्ट्रमन्त्री, सचिव, शिष्टाचार महापाल, नोट मेकर हुनुपर्छ। मोदीसँग गरेका कुरा तपाईंले कति सम्झिनुयो ? अहिले भनेको कुरा फेरि दोहोर्‍याएर त्यही शब्दमा भन्न सक्नुहुन्छ ?’, ओलीले भने।

कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेकोे संसदमा प्रस्ट पारे। सोमबारको बैठकमा प्रधानमन्त्रीले सीमा समस्याबारे भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन। प्रस्ट होस्, कहीँ कोही कन्फ्युजनमा नरहोस्। हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु। मैले त्यहीअनुसार आफ्नो भूमिका खेलेको छु, माननीय सदस्यहरूले तथ्य र तर्कलाई, सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउने कोसिस नगरौं भन्ने मेरो अनुरोध छ।’null

प्रधानमन्त्री दाहालले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा र सीमामा जहाँ–जहाँ समस्या छन्। जबसम्म यी समस्याको स्थायी र दीर्घकालीन समाधान गरिँदैन नेपाल–भारत सम्बन्ध सहज हुन सक्दैन। भनेर बडो प्रस्टसँग अन्य नेताहरूका अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत राखेँ। मलाई लाग्छ यति प्रस्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक नै हो।’

भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने कुरा केही बुद्धिजीवीहरूले राखेको कुरा आफूले गरेको तर प्रस्ताव नराखेको प्रधानमन्त्रीले बताए । 

मान्छेले मलाई भैंसी चढाएर हिँडाए : प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री दाहाल आफैंले यो विषयलाई संसदमा उठाए। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भारतबाट ‘भैंसी’ ल्याउने कुरा सात वर्षअघिकै रहेको प्रष्टीकरण दिए। तर, आफूलाई जोडेर मजाक बनाइएको विषयमा गुनासो गरे। सात वर्षअघिकै कुरालाई लिएर आफूलाई जोडेर मजाक बनाइएको उनको भनाइ छ। null

‘भैंसीको कुरा अहिले भएको होइन। सात वर्षअघि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ। आएको मात्रै अहिले हो। सात वर्षअघिको रहेछ मुर्रा भैंसी। (हाँस्दै) मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन्।’ 

नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा

नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। सांसदले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विधेयक प्रमाणीकरण भएपछि संविधान ट्रयाकमा आएको बताए। 

उनले दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्ट्रपतिले दराजमा हाल्दिए लोकतन्त्रमाथि घात हुने खतरासमेत भएको भनाइ राखे। उनले नेपाल–भारत सीमा विवादका विषयमा दुवै पक्ष बसेर छलफल गर्नुपर्ने पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.