देउवाकै कारण कांग्रेसको भविष्य संकटमा पर्यो

वीरेन्द्रनगर : नेपाली कांग्रेसका युवा नेताहरूले सभापति शेरबहादुर देउवाकै कारण पार्टीको भविष्य संकटमा परेको बताएका छन्।
कांग्रेस रुपान्तरणको अभियान अन्तर्गत मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश युवा नेताहरूले पार्टी कमजोर हुँदै जानुको मुख्य दोष नै पार्टीको नेतृत्व रहेको बताएका हुन्।
कार्यक्रममा कांग्रेस रुपान्तरण अभियानका अभियन्ता एवं युवा नेता जगदीश्वर नरसिंह केसीले कांग्रेस कमजोर हुनुमा नेतृत्व दोषी रहेको बताए।
नुवाकोट जिल्लाका पूर्वसभापति समेत रहेका नेता केसीले भने, 'कांग्रेसमा सभापति देउवाकै भूमिका गलत भएकाले पार्टी दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ। जसको परिणाम २०७४ सालमा पार्टीले प्राप्त गरेको समानुपातिक मत भन्दा २०७९ सालको निर्वाचनमा समानुपातिक मत घट्यो। यसको मुख्य दोष पार्टी सभापति र उनले टिकट दिएर उम्मेदवार बनेका अनुहारहरू हुन्।'
उनले रुपान्तरण अभियान गुटरहित अभियान भएको पनि दाबी गरे। कांग्रेस पुरानो ढर्राले चल्दैन। उनले भने, 'त्यसका लागि गुटरहित अभियान हो। कांग्रेसजनलाई उत्साहित बनाउने रुपान्तरण अभियान हो।'
कांग्रेसका अर्का युवा नेता गुरुराज घिमिरेले कांग्रेस रुपान्तरण अभियानले पार्टी भित्रको फोहोर बडारिने बताए। उनले पार्टीमा विधि भन्दा व्यक्ति हावी हुँदा समस्या आएको बताए।
नेपाली कांग्रेस रुपान्तरण अभियानका कर्णाली प्रदेश संयोजक एवं युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील पार्टी बनाउन यो अभियान थालिएको बताए। उनले पार्टीमा बढ्दै गएको अराजकता, पक्षपात, नातावाद, धनवाद र डनवादको अन्त्य गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
