‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक सार्वजनिक
काठमाडौं : शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ। सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन्।
रिसालले सत्यमोहनलाई घडाको संज्ञा दिँदै भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ। उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ। उहाँका बारेमा भनि र लेखिसाध्य छैन।’
गोरखापत्रका पूर्व प्रधान सम्पादक एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्यमोहनले १२ वटा अभिलेखमा कीर्ति राखेकाले उनका बारेमा यसरी पुस्तक तयार पार्नु ऐतिहासिक भएको बताए।
उनले भने, ‘सबैको सत्यमोहन बन्ने अवसर पाउने व्यक्ति जीवित संग्रहालय पनि हुनुहुन्थ्यो।’ सत्यमोहनका सुपुत्र अणुराजले बुबाका बारेमा ग्रन्थ तयार पारेर अध्ययन अनुसन्धान गर्नेका लागि गतिलो खुराक तयार भएको बताए।
प्राध्यापक डा. ज्ञानू पाण्डेले सदाका लागि उज्यालो छोडेर जाने स्रष्टा सत्यमोहन भएको बताउँदै उनी सत्यमोहन सिंगो नेपाल र संस्कृति भएको बताइन्। उनले भनिन्, ‘देशका लागि केही गरुँ भन्ने र गर्ने व्यक्तित्वबारेको विविध आयाम समेटेको यस कृतिले चीरकालसम्म अर्थ राख्नेछ।’
प्राध्यापक डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले सत्यमोहन नेपाली समाजका शिखर पुरुष भएको बताए। उनले भने, ‘सञ्चारकर्मीले राजनीतिक विषय छोडेर यसरी देश र संस्कृतिका लागि लागिपर्ने व्यक्तित्वबारे ग्रन्थ तयार पार्नु आफैंमा ऐतिहासिक कार्य हो।’
सम्पादक ढुंगानाले समयले सत्यमोहनलाई बनाएको र सत्यमोहनले समयलाई बनाएको आफ्नो अध्ययनको निष्कर्ष रहेको बताए। उनले भने, ‘सत्यमोहन शताब्दी लामो नेपालको प्रतिबिम्ब हुन्।
उनले न अरूलाई तराजुमा जोखे न अरूको तराजुमा जोखिए। हरमिनेटलाई जीवनको अर्थसँग जोडेर आफूलाई सगरमाथाको उचाइ दिए।’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको शब्दबिम्बमा सत्यमोहन कृति ४२० पृष्ठको छ।
लेख, आलेख, सम्पादकीय, परिशिष्टांक, समाचार, तस्बिर, स्केच, अन्तर्वार्ता र कविता गरी दस खण्डमा पुस्तक विभाजित छ।