सेयर बजारमा आशाका किरण
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेलगत्तै घटेको सेयर बजार बढ्न थालेको छ। ब्याजदर घटेकाले पनि सेयर बजार उकालो लागेको सेयर विज्ञ बताउँछन्। यद्यपि प्रायः हरेक आर्थिक वर्षको अन्त्यमा लगानीकर्ताहरू नाफा बुक गर्न पनि आकर्षित हुने भएकाले सेयर बढी खरिद हुने प्रवृत्ति छ।
प्रायः आर्थिक वर्षको चौथो त्रैमासदेखि नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा लाभांश खाने बेला हुने भएकाले यसको आसले लगानीकर्ता झुम्मिने गरेको सेयर विश्लेषक कृष्ण गिरी बताउँछन्। यसकारण पनि यो अवधिमा सेयर उकालो लाग्ने गर्छ। तर, पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किपछि जलस्रोत कम्पनीको सेयरमा उत्साह छाएको विश्लेषक गिरीले औंल्याए। भन्छन्, ‘भारतले १० हजार मेगावाट विद्युत् किन्ने सहमति गरेर प्रधानमन्त्री आएपछि लगानीकर्तामा आशा स्थापित गरेको छ।’
पर्यटन आगमन पनि कोभिड पूर्व (सन् २०१८–१९ को स्थिति)को अवस्था जस्तै बढ्न थालेको छ। जसले गर्दा होटल व्यवसाय पनि फस्टाउने भएकाले यसको सेयर कारोबार बढेको गिरी बताउँछन्। उनकाअनुसार निर्जीवन बिमा कम्पनीहरूले हकप्रद तथा पुँजीवृद्धिमा केन्द्रित भएकाले पनि यसको सेयरमा आकर्षण बढेको हो।
तर, आगामी आर्थिक वर्षको बजेट सार्वजनिकसँगै ल्याएको आर्थिक विधेयक २०८०ले लगानीकर्ता भने निरुत्साहित भएका थिए। अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयकमा पुँजीबजारलाई प्रभाव पार्ने ३ वटा दफा (२६, २७ र २९ )मा करमा हेरफेर गरे। अन्तर्राष्ट्रिय पुँजी बजार विज्ञ मुक्ति अर्याल बजेटमा यी ३ व्यवस्थाले सेयर बजार प्यानिक भएर घटेको बताउँछन्। यी दफा विवादित बनेका छन्।
लगानीकर्तासँग जोडिएको कुरापछि अर्थमन्त्रीले यसलाई सुधार्छु भनेर आश्वासन दिएपछि पुँजीबजार फर्केको उनको दाबी छ। तर, यी ३ बुँदालाई बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीका छाता संगठनहरूले बुधबार खारेज गर्नसमेत माग गरेका छन्।
उक्त विधेयकको दफा २६ ले फर्दर पब्लिक अफरिङ (एफपीओ) प्रिमियम मूल्यमा सेयर जारी गर्दा प्राप्त रकमबाट बोनस बाँड्दा कर लाग्ने व्यवस्था गरेको छ। यस्तै, दफा २७ ले दुई कम्पनी गाभिँदा वा एउटाले अर्कोलाई प्राप्ति गर्दा हासिल हुने बार्गेन पर्चेज गेनलाई आय मानेर आयकर तिर्न निर्देशन दियो। दफा २९ ले सेयर तथा घरजग्गा कारोबार किनबेच गरेर प्राप्त आयको कर विगतमा नतिरेको भए कर तिर्नुपर्ने अवस्था सिर्जना गर्यो। यी व्यवस्थाले गर्दा लगानीकर्ताको निराशा नेप्से परिसूचकमा छर्लङ्ग देखियो।
बजेट सार्वजनिक हुने अघिल्लो दिन जेठ १४ गते १९४१.७७ बिन्दुमा पुगेको नेप्से परिसूचक जेठ १६ गते ह्वात्तै घटेर १८८८.६१ बिन्दुमा झर्यो। अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्ताहरूको मनोवल बढेको नेप्से परिसूचकले देखाउँछ।
सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ बिन्दुमा पुगेको छ। तर, नेप्से सामान्य अंकले मात्रै बढ्यो। सो दिन २ सय ७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८ सय ४३ रुपैयाँमा खरिदबिक्री भएको छ। सो कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम हो। किनभने जेठ ३१ गते बुधबार नेप्से परिसूचक ह्वात्तै बढेर २ हजार ३७ दशमलव ०६ बिन्दुमा पुग्दा सेयर कारोबार ५ अर्बमाथि पुगेको थियो। सो दिन २ सय ७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँमा खरिदबिक्री भयो। यद्यपी यो कारोबार रकम विगत ५ महिना यताकै उच्च हो। किनभने २०७९ पुस २८ गते योभन्दा बढी थियो। यसअघि सेयर कारोबार ५ अर्ब ४७ करोड पुगेको थियो।
पछिल्ला दुई दिन बैंकिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अदर्श उपसमूहको सूचक बढेको छ। साताको अन्तिम दिन सिटी होटलको ९.९७ र अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ।
सो कम्पनीको १७ करोड मूल्य बराबरको कारोबार भयो। यस्तै, सोल्टी होटलको १६ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। समग्रमा कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य घट्यो भने ६ को बढेको छ। होटल्स एन्ड टुरिजम इन्डेक्सको सूचक सर्वाधिक ४.५६ प्रतिशतले बढेको छ।
विवादित बुँदाबाहेक बजेट राम्रै भएकाले पनि सेयर बजार लयमा फर्केको पुँजीबजार विज्ञ अर्यालको भनाइ छ। ‘भूक्तानी सन्तुलन अर्थात् शोधनान्तर, विदेशी मुद्रा सञ्चितिलगायतका अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्। साथै बैंकहरूमा पर्याप्त तरलता छ, ब्याजदरमा पनि सुधार आएको छ।
अर्थतन्त्र पनि अलिकति चलायमान हुने र नेपाल राष्ट्र बैंकले पनि साउनमा ल्याउने मौद्रिक नीति पनि अलि सहज हुने गरी ल्याउनुपर्छ भन्ने माहोल छ,’ अर्यालले अन्नपूर्णसँग भने, ‘यसकारणले पनि लगानीकर्तामा आशा जागेको छ। सेयरको आकार ५ अर्बमाथि नाघेकाले पनि लगानीकर्ताहरूमा लगानी गर्नुपर्छ भन्ने वातावरण सिर्जना भएकाले आत्मबल बढेको देखिन्छ।’
प्रतिक्रिया दिनुहोस !