चौतारामा गुन्जियो कविता

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारामा ‘चौतारा साँगाचोकगढी नगर सांस्कृतिक उत्सव– २०८०’ सुरु भएको छ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजना र शब्द-सारथी, सिन्धु कला मन्दिर र प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको समन्वयमा असार १ गतेबाट साँस्कृतिक उत्सव सुरु भएको हो।
उत्सव अन्तर्गत भएको कविता प्रतियोगतामा सुषमा तिमल्सिना प्रथम भएकी छिन्। उनको सिंगो पाठशाला शीर्षकको कविता प्रथम भएको हो।
त्यस्तै विनोद श्रेष्ठको म सिन्धु पुत्र हुँ शीषकको कविता द्वितीय र राजाराम तिवारीको कविता आह्वान तृतीय भएको हो। विजयी कविहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए। विजयी कविहरूलाई क्रमसः १० हजार रुपैंया, ७ हजार ५ सय रुपैंया र ५ हजार रुपैंयासहित सम्मान गरिएको थियो।
कविता प्रतियोगितामा पहिलो चरणको मूल्याङ्कनबाट उत्कृष्ट ७ मा पर्न सफल कविहरूलाई उत्सवमा वाचनको लागि बोलाइएको आयोजकले जनाएको छ। पहिलो चरणमा दुई जना निर्णायकहरूले ८० अंकमा कविताको मूल्याङ्कन गरिएको र दास्रो चरणमा २० अंकमा मूल्याङ्कन गरी कूल १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको मूल्याङ्कन समितिको संयोजक अमित घिमिरेले जानकारी दिए।
चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले विकास पूर्वाधारको निर्माणले मात्र नहुने भन्दै कला, साहित्यको पनि संरक्षण गरेमात्र विकासले गति लिने बताए। ‘मैले यो उत्सव अन्तर्गत उत्कृष्ट ७ कविता सुने’, उनले भने– ‘कविता सुनिरहँदा मलाई लाग्यो कि कला, साहित्यको विकास विना भौतिक विकास अपूर्ण छ। अबको नीति तथा कार्यक्रम बनाउँदा नगरपालिकाले यो कुरालाई ख्याल गर्ने छ।’
विभिन्न झाँकी, ओपेरा र साँस्कृतिक कार्यक्रमसहित सुरु भएको कार्यक्रमले छुट्टै अर्थ राखेको नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए। ‘हामीले पत्रकारितामार्फत सामाजिक सचेतना त फैलाइरहेका छौं तर प्रेस सेन्टर सिन्धुपाल्चोकले गरेको यो कार्यले पत्रकारितासँगै पत्रकारहरूले सांस्कृतिक क्षेत्र, कला, साहित्यको पनि जगेर्ना गर्न सक्छ भन्ने पुष्टि गरेको छ’, उनले भने।
कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, सञ्चारकर्मी, स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। उत्सव अन्तर्गत असार १ गते साँझ सांस्कृतिक साँझ, विभिन्न विषयमा कार्यशाला, असार २ गते बिहान धार्मिक पर्यटकीय क्षेत्र गौरातीसम्म पदयात्रा र साहित्यिक कार्यक्रम गरी चौतारामा समापन कार्यक्रम गर्ने तयारी रहेको आयोजक प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकले जनाएको छ। उत्सव सञ्चालन गर्न चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक सहयोग गरेको हो।
प्रतिक्रिया दिनुहोस !
