शैक्षिक सुधारका लागि काठमाडौं विश्वविद्यालयसँग पोखराका ७ विद्यालयको सम्झौता

शैक्षिक सुधारका लागि काठमाडौं विश्वविद्यालयसँग पोखराका ७ विद्यालयको सम्झौता

पोखरा : विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण पद्धतिमा सुधार ल्याउने उद्देश्यका साथ पोखराका निजी क्षेत्रका ७ विद्यालयले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेका छन्। 

काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डिन डा बालचन्द्र लुइँटेल र पोखराका ७ विद्यालयले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे।

हिलप्वाइन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी, हार्वड एकेडेमीका प्रिन्सिपल श्रीकृष्ण अधिकारी, पोखरा लर्नस एकेडेमीका प्रिन्सिपल विधान गौतम, सोसल पब्लिक स्कुलका निर्देशक खेम गुरुङ, प्रगति स्कुलका प्रिन्सिपल महेन्द्र थापा, भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोला र डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि काठमाडौं विश्वविद्यालयले विद्यालयहरूमा शिक्षकहरूको सिकाइ र सहयोग कार्यक्रम बढाउन पहल गर्ने, विद्यालयहरूको आवश्यकता विश्लेष्णको आधारमा ४८ घन्टाको पाठ्यक्रमको ढाँचा तयार गर्ने, अधुरा कार्यहरूको विश्लेष्ण, पाठ्यक्रम, मूलयांकन, नेतृत्व दुरदृष्टि र विद्यालयहरूको मिसनसँग सम्बन्धित प्रश्नहरूमा काम गर्ने, समयसमयमा कार्यशाला, प्रशिक्षणमार्फत स्रोत, उपकरण र पाठयोजनाको निर्माण र विकास गर्ने, शिक्षकहरूको सिकाइ अभिवृद्धि गर्न सहयोगको रुपमा काम गर्ने र आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने भएको छ।

विद्यालयहरूले निरन्तर र व्यावसायिक शिक्षा कार्यक्रमको पाठ्यक्रममा संलग्न सबै खर्चहरू प्रबन्ध गर्ने छन्। पाठ्यक्रम/कार्यशाला र प्रशिक्षण मार्फत शिक्षक र शैक्षिक नेतृत्वलाई सबलीकरण गर्ने, शिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गर्ने दायित्व विद्यालयहरूको हुने सम्झौता छ। 

उक्त सम्झौतापछि पोखराका विद्यालयका शिक्षकहरू विभिन्न तालिममा सहभागी हुने छन्। काठमाडौं विश्वविद्यालयले भौतिक तथा भर्चुअल तरिकाबाट प्रशिक्षण प्रदान गर्ने छ।

सम्झौता कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डीन डा लुइँटेलले सुखद सिकाइको वातावरण दिन चाहने शिक्षकको आवश्यकता औंल्याए। ‘शिक्षणको सबैभन्दा ठूलो चुनौती मनस्थिति हो,’ उनले भने, ‘यसको समस्या के भने मेरो मनस्थितिमा समस्या छ भन्ने नै थाहा हुँदैन।’

समाजमा आएका परिवर्तनले बालबालिकाले बुझ्ने तरिकामा पनि परिवर्तन आएको हुँदा शिक्षणमा परिवर्तन आवश्यक भएको उनले सुनाए। ‘भनेको सुनेर थाहा पाउने/बुझ्ने विद्यार्थी भनेको केवल ५ प्रतिशत हुन्छन्,’ उनले भने, ‘तर हामी त्यही तरिकाले मात्रै सिकाउन खोजिरहेका छौं, ९५ प्रतिशतले विभिन्न ढंगले सिक्छन्, तिनीहरूमाथि बेवास्ता भइरहेको छ।’ 

विद्यार्थीमा सिर्जनात्मकता जगाइदिने भूमिका शिक्षकको हुने उनको भनाइ थियो। डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले शैक्षिक सहकार्य र नेतृत्व विकास गर्दै विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरे। 

भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा डीन डा लुइँटेलसँग उनीहरूले सम्झौतापत्र आदानप्रदान गरे।

सहप्राध्यापक डा पार्वती ढुंगाना, प्रशिक्षक रविना महर्जन, रेजिना केसी र सन्दीप ढुंगाना समेत सम्झौता समारोहमा उपस्थित थिए। यसअघि उनीहरूले विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षण २ दिनसम्म चलेको थियो। 

प्रशिक्षकमा विद्यालयका विभागीय प्रमुखहरू सहितका सहभागी थिए। पाठ्यक्रम विकास, पाठयोजना निर्माण, पृष्ठपोषण, विद्यार्थीको सिकाइ उपलब्धि लगायत शीर्षकमा केन्द्रित रही प्रशिक्षण भएको हो 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.