‘कम्युनिष्ट दलबीच असार ४ गते कार्यगत एकता’
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन्।
चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए। उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए।
उपाध्यक्ष पाण्डेले भने, 'कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो।' सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उनको भनाइ थियो। उनले थपे, 'सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो।'
सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उनले बताए। उनले भने, “नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनःसुरु गर्नुपर्छ। जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ।”
फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए। अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !