पोखरालाई योगकेन्द्र बनाउनुपर्छ : राजदूत श्रीवास्तव

पोखरा : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान हो। त्यसैले यो योग केन्द्र बनाउन लायक ठाउँ छ,’ उनले भने।
पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने भएकाले यहाँ भारतीय पर्यटक र तिर्थयात्री पनि धेरै आउने उनको भनाई थियो। श्रीवास्तवले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरू तानेको बताए। ‘भारतका विभिन्न सहरका पर्यटकहरू पोखरामा आइरहेका छन्।
पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नका लागि भारत सरकार सहयोग गर्न तयार छ,’ उनले थपे। राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योग कार्यक्रम हुने आशा राखेको बताए।
यो पनि पढ्नुहोस
भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बुधबार पोखरा रंगशालामा योग दिवस मनाइएको हो। योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले योगाभ्यास गरेका थिए। योग दिवसका अवसरमा भएको कार्यक्रममा पोखरेलीको राम्रो उपस्थिति रहेको थियो। युवा, युवती, वृद्धवृद्धा, विद्यार्थीलगायतले योग अभ्यास गरेका थिए।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगको माध्यमबाट पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए। नेपाल र भारतको सांस्कृतिक सम्बन्ध भएकोले भारतीय पर्यटकका साथै अन्य मुलुकका पर्यटकलाई योगका माध्यमबाट जोड्न सकिने बताए।
पर्यटन मन्त्री सुदन किराँतीले भारतीय नागरिकलाई प्राकृतिक सुन्दरताको अवलोकन गर्दै योग गराउने गरी पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए। पोखराबाटै पनि आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरि र मनास्लु हिमाल देखिने भएकोले सुन्दर हिमाल पर्वतको काखमा योग गर्ने गरी पर्यटकलाई आकर्षण गर्न सकिने उनले सुनाए।
पोखराको पर्यटन विकासका लागि पोखराबाट भारतका विभिन्न सहरसँग सिधा हवाई उडान गर्नुपर्नेमा किराँतीले जोड दिए। नेपालको धार्मिक पर्यटनको विकास भई यसबाट सांस्कृतिक सम्बन्ध अझै प्रगाढ हुने पनि उनले बताए। मानसिक तनावबाट मुक्त हुन योग महŒवपूर्ण रहेको पनि उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !
