‘विपी प्रतिष्ठानलाई पूर्ण विश्व विद्यालय बनाउनु पर्छ, छाता ऐनमा राख्न हुँदैन’

काठमाडौं : चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान अल इण्डीया इन्स्टिच्यूट अफ मेडिक साइसेन्स (एम्स) को मोडलमा स्थापना भएको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् ।
नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरी ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहिबार काठमाडौंमा गरेको अन्तक्रियामा सरोकारवाला तथा प्रतिष्ठानका पूर्व उपकुलपतिहरुले जोड दिएका छन् ।
प्रतिष्ठानको स्थापना नै चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भएकोले यसलाई छाता ऐनभित्र राख्न नहुने प्रतिष्ठानका पूर्वउपकुलपति तथा कांग्रेस नेता प्रा.डा शेखर कोइरालाको भनाई छ । ‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्व विद्यालय बनाउने उद्देश्य थियो’, प्राडा कोइरलालले भने, ‘प्रतिष्ठान भारतको एम्सको मोडलमा स्थापना भएको हो। यो अन्य प्रतिष्ठान भन्दा फरक विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउनु पर्छ ।’
धरान या कोशी प्रदेशको लागि मात्र नभई देशकै लागि प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक रहेको बताउँदै कोइरालाले भने, ‘छाता ऐनमा विपी प्रतिष्ठानमा लादा देशलाई नै घाटा हुन्छ, यसको विशिष्ट पहिचान छ, यो अन्य प्रतिष्ठानभन्दा बिलकुलै फरक छ ।’
चिकित्सा शिक्षा आयोगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठानमाथि आक्रमण भएको बताउँदै कोइरालाले भने , ‘चिकित्सा शिक्षा आयोगले आफूलाई सुपेरियर हिरो ठान्छ। त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।’ प्रतिष्ठानको स्थापना गर्दा पनि संसदहरुलाई बुझाउन निकै कठिन भएको बताउँदै उनले त्यो बेला पनि तत्काल प्रतिनिधिसभामा रहेका संसदहरु प्रतिष्ठानलाई मेडिकल कलेजको रुपमा मात्र बनाउने पक्षमा रहँदा रहँदै पनि तत्कालीन प्रधानमन्त्री स्वं गिरिजाप्रसाद कोइरालाले एम्सको मोडलमा नै यो संस्था बनाउनु पर्ने बताएपछि मात्र प्रतिष्ठान बनेको बताए ।
उनले स्थापनाको प्रसंग कोट्रयाउँदै अहिले पनि यसलाई विश्व विद्यालय बनाउन संसदीय समिति र संसदहरुलाई यसको महत्त्व र प्रतिष्ठानको बरेमा बुझाउन सुझाए । उनले आफू प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन लागि पर्न प्रतिबद्धता व्यक्त गरे।
अध्ययन अनुसन्धान, सेवा समेत अन्तर्राष्ट्रि स्तरमा ख्याती कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नेमा तल झारेर छाता ऐनमा लानु गलत भएको पूर्व उपकुलपति प्राध्यापक डाक्टर लोकविक्रम थापाको भनाइ थियो। उनले नेपालमा भएका अन्य विश्वविद्यालयभन्दा फरक विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउने उद्येश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउँदै थापाले भने, 'चिकित्सा शिक्षाका उच्च तहसम्मको अध्ययन हुँदै आएको प्रतिष्ठानले नेपालमा कुनै पनि स्वास्थ्य समस्या समाधान गर्न सामर्थ्य राख्छ ।’
प्रतिष्ठानका संस्थापक पूर्व निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए। उनले सरकारले ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आफू अचम्मित भएको र दु:खसमेत लागेको बताए। नेपालका दल र नेताहरुको अकर्मण्ड्यताको कारण प्रतिष्ठानलाई छाता ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पुर्याउन लागिएको हो' , उनले भने,' प्रतिष्ठानलाई यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुँदैन। यसलाई भारतको एम्स जस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनु पर्छ ।' नेपालको एक मात्र शहरमुखी नभइ गाउँमुखी चिकित्सक उत्पादन गर्ने सेवा दिन स्वास्थ्य संस्था प्रतिष्ठान भएकोले यसलाई जोगाउन सबै एक भए अगाडि बढ्नुपर्नेमा जोड दिए ।
काठमाडौंमा रहेका वरिष्ठ चिकित्सकहरुलाई धरान टाढा भएकोले उनीहरुले उपत्यकाबाहिर भएको विश्वविद्यालय सो सरहको प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन बाधा पुर्याइरहेको पूर्वमन्त्रि मिन विकले आरोप लगाए । प्रतिष्ठानसँग विश्व विद्यालय बन्न सबै थोक भएकोले प्रक्रिया पुर्याएर रचनात्मक दवाव दिंदै सबै क्षेत्रबाट एक भएर अगाडि बढ्न आह्वानसमेत गरे ।
कोशी प्रदेशको मात्र नभइ देशकै गहना भएकोले प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनु पर्ने कोशी प्रदेश संसद मिना श्रेष्ठले बताइन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन कोशी प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाई थियो।
धरानको भाग्य र भविष्यसँग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लान नदिने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेयाङ्वाले बताए । धरानको मात्र नभइ देशकै गहनाको रुपमा रहेको प्रतिष्ठान दक्षिणा एसियाकै उत्कृष्ट मेडिकल कलेजको बन्यो ।
देश विदेशमा ख्याती कमाइ सकेको प्रतिष्ठानलाई अहिले सरकारले प्रतिष्ठानहरुको छाता ऐन बनाएर गाभ्न लागेको भन्दै यसको सर्वत्र विरोध भइहेको छ । प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुको साटो राज्यले अस्पतालको रुपमा मात्र खुम्चयाउन खोजेकोले आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
