नेपाल समूह विजेता
क्वालालम्पुर: अशोक धामीको अर्धशतकप्रेरित नेपाल यु १६ राष्ट्रिय क्रिकेट टिमले एसीसी मेन्स यु १६ इस्ट जोन कपमा घरेलु टिम मलेसियालाई ८४ रनले पराजित गरेसँगै समूह विजेता बनेको छ।
बायिमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले ३०.५ ओभरमा सबै विकेट गुमाउनुअघि ९९ रन मात्रै बनाउन सक्यो।
मलेसियाका लागि मोहम्मद हैरिलले २५ र मुहम्मद आलिफले १५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि अशोकले सर्वाधिक चार तथा अविषेक तिवारीले तीन र सन्तोष यादवले दुई विकेट लिए। यस्तै, क्रितिक कामतले एक मलेसियन ब्याटरलाई पभिलियन फर्काएका थिए।
नेपालका लागि ३६ बलको सामना गरेका अशोकले तीन चौका र पाँच छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले।
त्यसअघि ओपनर सुयान्सु कोइराला २९, दिपु कुमार १५ र नरेन २९ रन बनाएर पभिलियन फर्केका थिए।
मलेसियाका लागि हाजिक हैकल, मुहम्म अक्रम र अरिन अकिलले दुई–दुई तथा मोहम्मद फाथुल फात्रीले एक विकेट लिएका थिए।
जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा थाइल्यान्डलाई दुई सय १५ रनले हराएको नेपालसँगै मलेसिया पनि उपविपजेताको हैसियतमा सेमिफाइनलमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !