कोसी अस्पतालमा साढे ४ महिनामै फेरिए मेसु

११ औं तहका चन्द्रभाल झा नियुक्त

कोसी अस्पतालमा साढे ४ महिनामै फेरिए मेसु
कोसी अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा

विराटनगर : विराटनगरको कोसी अस्पतालमा साढे ४ महिनामै मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन्। यो अस्पताल कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको नयाँ प्रमुखका रूपमा वरिष्ठ कन्सलटेन्ट चर्म, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ। कोसीमा ४ वर्षदेखि कार्यरत प्रमुख कन्सलटेन्ट झा ११ औं तहका चिकित्सक हुन्। उनी कोसीका चर्म, यौन तथा कुष्ठ रोग विभागका प्रमुख पनि हुन्। कोसीमा सरुवा हुनुअघि झाले मेची अञ्चल अस्पताल भद्रपुरमा ७ वर्ष सेवा गरेका थिए। 

कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ। अस्पतालमा झासहित वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. दीपक सिग्देल र वरिष्ठ कन्सलटेन्ट बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औं तहका चिकित्सक छन्। तर, यसअघि अस्पतालमा मेसुको जिम्मेवारी १० औं तहका चिकित्सकले पाउँदै आएका थिए। 

वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंह गत फागुन २ गते निमित्त मेसु बनेका थिए। १० औं तहका चिकित्सक सिंहको पालामा अस्पताल सुधारका धेरै कामहरु भएको बताइन्छ। मन्त्रालयले झालाई आइतबार नयाँ मेसु नियुक्त गरेपछि सिंह पुरानै जिम्मेवारीमा फर्किएका छन्।
काठमाडौंमा रहेका झा विराटनगर फर्किएपछि कार्यभार सम्हाल्ने तयारीमा छन्। राजनीतिक खिचातानीका कारण तहसनहस बन्दै गएको सरकारी अस्पताललाई माथि उठाउने जिम्मेवारी उनको काँधमा आइपुगेको हो। ११ औं तहका चिकित्सकलाई जिम्मेवारी दिएसँगै दल र नेताको स्वार्थ अनुसार छोटो अवधिमै कोसीको मेसु परिवर्तन भइरहने खेल अब बन्द हुने अपेक्षा गरिएको छ। 

अन्नपूर्णसँग कुरा गर्दै नवनियुक्त मेसु झाले अस्पतालको सेवा सुविधालाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। ‘सेवा प्रवाहमा सुधार गर्दै अस्पताललाई माथि उठाउने प्रयत्न गर्ने छु,’उनले भने, ‘त्यसका लागि सबै पक्षले सहयोग गरिदिनु पर्छ।’ पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरु सरकारी अस्पताल आउने हुँदा सबै बिरामीले सहज उपचार पाउने वातावरण बनाउने डा. झाको भनाइ छ। 

कोसीमा डेढ वर्ष नपुग्दै ४ मेसु 

कोसी अस्पतालमा डेढ वर्ष नपुग्दै ४ जना मेसु परिवर्तन भएका छन्। २०७८ फागुन ५ मा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइयो। उनलाई हटाएर २०७९ भदौ १६ गते वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवलाई स्वास्थ्य मन्त्रालयले निमित्तको जिम्मेवारी दियो। यादवका ठाउँमा गत फागुन २ गते डा. रविनराज सिंहले जिम्मेवारी पाए। 

खरेल, यादव र सिंह १० औँ तहका चिकित्सक हुन्। यद्यपि, उनीहरुले अस्पताल सुधारमा उल्लेख्य काम गरेको बताइन्छ। तर, कोसीमा ११ औँ तहका चिकित्सकको दरबन्दी छ। मेसुको नियुक्ति पाएका झा ११ औं तहकै हुन्। २०६१ सालयता अस्पतालमा १८ जना मेसु परिवर्तन भइसकेका छन्। सरकार परिवर्तनको प्रभाव सबैभन्दा बढी पर्नेमध्ये कोसी अस्पताल पनि एउटा हो। 

सरकार परिवर्तन हुनासाथ आफू अनुकूलका व्यक्तिलाई मेसु नियुक्त गरेर फाइदा लिने प्रचलन दल र नेताहरुमा बढ्दो छ। त्यही भएका कारण छोटो अवधिमै मेसु परिवर्तनको खेल भइरहने गरेको हो। राजनीतिक स्वार्थको कोपभाजनमा पर्दा अस्पताल धराशायी बनिरहेको छ। सरकारी स्वास्थ्य संस्था थिलथिलो र लथालिंग बनिरहेको छ। 

कोसी अस्पतालमा ३ सय ५० बेड सञ्चालनमा छ। दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि १ हजार ५ सय जनाभन्दा बढी आउने गरेका छन्। लगभग २ सय जना आकस्मिक विभागमा भर्ना हुन्छन्। विभिन्न वार्डमा भर्ना हुनेको संख्या दैनिक ३ सय हाराहारी रहेको अस्पतालले जनाएको छ। १ सय ३२ वर्ष पुरानो अस्पतालले कोसीसहित मधेस प्रदेश र भारतका बिरामीलाई सेवा दिइरहेको छ।

अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स कार्यरत छन्। तर, स्वास्थ्यकर्मी र कर्मचारी अपुग हुँदा सेवा प्रवाहमा समस्या भाइरहेको अस्पताल प्रशासनले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.