ललिता निवास जग्गा हिनामिना प्रकरणमा कसैलाई पनि छोडिदैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गामा भएको अनियमितामाथि कसैलाई नछोड्ने बताएका छन् । प्रधानमन्त्री दाहालले ललितानिवास जग्गामाथि धेरै ठूलो सञ्जाल रहेको भन्दै कसैलाई पनि नछोड्ने बताएका हुन् ।
दाहालले भने,‘तपाईंहरूले देख्नुभएको छ होला, ललितानिवास जग्गा । हेर्नुहोस् त कति ठूलो षड्यन्त्र । कति ठूलो सञ्जाल । कति ठूलो सेटिङ भएको रहेछ । हेर्दै जानुहोला अझ अगाडि अगाडि बढिन्छ । अझ अगाडि बढिन्छ, छोडिदैंन । यसो गर्दै जाँदा जनता र युवाको साथ भएपछि मलाई कसैले हिलाउन सक्दैनन् । हिजोपनि जनताको साथ लिएर यहाँ आइएको हो ।’
प्रधानमन्त्री दाहालले जनताको मुद्दालाई बोकेर अघि बढेको बताए । यसअघि प्रतिपक्षी दलले वैशाख देख्दैनस् भन्ने गरेको र आज असार समेत कट्न थालिसकेको दाहालको भनाइ छ ।