एक वर्षपछि बस्दै कांग्रेस बैठक

एक वर्षपछि बस्दै कांग्रेस बैठक

बैठकका विषयमा अन्नपूर्णसँग कुरा गर्दै महामन्त्री गगन थापाले भनेका थिए, ‘बैठक बोलाउन महामन्त्रीले मिल्दैन। बैठक बोलाउने पार्टी सभापतिजीले नै हो।’

काठमाडौं : नेपाली कांग्रेसले करिब एक वर्ष पछि पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असार २७ गतेबाट बस्नेगरी केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन्। बुधबार सभापति देउवा निवास धुम्बाराहीमा सभापति देउवा, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बीचको छलफलपछि केन्द्रीय समिति बैठक बोलाइएको हो। 

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो। त्यसपछि पटक–पटक गर्ने भनेर मिति नै तय गरिएको बैठकसमेत विभिन्न कारण देखाउँदै सारिएको थियो। केन्द्रीय समितिको बैठक बोलाउनका लागि यसअघि पार्टीका द्वय महामन्त्रीहरूले सभापतिलाई भेटेरै दबाब दिँदै आएका थिए। बैठकका विषयमा अन्नपूर्णसँग कुरा गर्दै महामन्त्री गगन थापाले भनेका थिए, ‘बैठक बोलाउन महामन्त्रीले मिल्दैन। बैठक बोलाउने पार्टी सभापतिजीले नै हो। हामीले सभापतिजीसँगको भेट र सार्वजनिक मञ्चहरूबाट पनि केन्द्रीय बैठकका लागि बिलम्ब नगरौं भन्दै आएका थियौं। यो बीचमा विविध राष्ट्रिय राजनीतिका विषयहरू पनि अगाडि आए। त्यसले पनि ढिला भएको हो।’ 

पार्टीको विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। महत्वपूर्ण निर्णयहरू केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको कांग्रेसले केन्द्रीय समिति ठूलो भएको र राष्ट्रिय राजनीतिमा आएका उतारचढावका कारण समयमा बैठक बस्न नसकेको कांग्रेसकै एक पक्षका नेता भन्छन्। कांग्रेसको अर्को पक्षले भने सभापति देउवाले केन्द्रीय कमिटिको बैठक नै नचाहेको र आफ्नो मनगढन्ते हिसाबले निर्णय र नियुक्ति गर्दै आएको आरोप पनि लगाउने गरेको छ।

कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षासमेत अहिलेसम्म गरेको छैन। समीक्षा नगरेकै कारण वैशाख १० मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा नराम्रो हार बेहोर्नुपरेको गुनासो पनि पार्टीभित्र व्यापक रूपमा उठ्दै आएको छ। केन्द्रीय समितिको बैठकसमेत बोलाउन नसकेको भन्दै पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही नेता गुरु घिमिरे, भूपेन्द्रजंग शाही, जगदिश्वर नरसिंह केसीलगायतका नेताहरू पार्टी रूपान्तरणको बहस लिएर देशव्यापी दौडधुपमै छन्। 

केही दिनअघि पार्टीका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गरेका थिए। बुधबार भएको छलफलमा कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का भने अनुपस्थित थिए। खड्काको सचिवालयले भने खड्का केही दिनदेखि देखिएको घाँटीको समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी थिए। 

अस्वस्थताकै कारण देखाउँदै पार्टीको बैठकमा नगए पनि खड्का दिउँसो संसद् भवनमा भने उपस्थित भएका थिए। त्यसो त खड्का नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख पनि हुन्। कांग्रेसको विधानअनुसार पार्टीका उपसभापति नै नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ। सभापति देउवाले विधान बमोजिम नै उपसभापति खड्कालाई उक्त पदमा मनोनित गरेका थिए। बुधबारको बैठकमा खड्काको उपस्थिति नहुँदा केन्द्रीय समितिको बैठकमा नीति महाधिवेशनको विषय यही दिन उठाउने भनेर छलफल भने भएन।    


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.