चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी
सुन्नुहोस्

भरतपुर : चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो।

चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए। उनका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ। 

टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिए। कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ थियो।

नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ। कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष ३८ लाख रुपैयाँ छुट्याएको थियो भने यस वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताए। 'चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ', उनले भने, 'नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ।' 

पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिए। उनका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ। यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उनले बताए।

कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ। अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ। 

पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताए। उनका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो। 

वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो। प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो। 

विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो। 'प्राविधिक रूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ', पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भने, 'कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ।' उनका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ। 

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो। कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो। 

नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.