कांग्रेस बैठकको मुख्य एजेन्डा नीति महाधिवेशन

कांग्रेस बैठकको मुख्य एजेन्डा नीति महाधिवेशन
फाइल तस्बिर।
सुन्नुहोस्

कांग्रेसमा सभापतिमा निर्वाचित भएको यत्तिका समयसम्म सभापति देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्।

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकको प्रमुख एजेन्डा पार्टीको नीति महाधिवेशनका विषयमा रहेको नेताहरूले बताएका छन्। यो बैठकले नीति महाधिवेशन गर्ने मिति र स्थान तोक्ने तयारी पनि कांग्रेसको छ। 

कांग्रेसले २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि डेढ वर्षसम्म मितिसमेत तय हुन सकेको छैन। 

कांग्रेसले अनौपचारिक रूपमा पदाधिकारी बैठक डाकेर एजेन्डा तय गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार राति केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय समितिमा छलफल गरिने मोटामोटी एजेन्डा तय गरेको छ। बाँकी विषय छलफलकै क्रममा निस्कने सहमहामन्त्री किशोरसिंह राठोरले बताए। भने, ‘बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक एजेन्डाकै विषयमा बस्दै छ। निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ। अरू बैठककै सन्दर्भमा विषय निस्कँदै जान्छन्।’

यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि पेस गर्ने तयारी पनि छ। केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेस विधानको व्यवस्था छ।

त्यसो त कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म चार दिनको केन्द्रीय समिति बैठक गरेको थियो। कांग्रेसमा पार्टीको विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। महत्त्वपूर्ण निर्णयहरू केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको कांग्रेसले केन्द्रीय समिति ठूलो भएको र राष्ट्रिय राजनीतिमा आएका उतारचढावका कारण समयमा बैठक बस्न नसकेको महामन्त्री विश्वप्रकाश शर्माले बताए। कांग्रेसको अर्को पक्ष भने सभापति देउवाले केन्द्रीय कमिटीको बैठक नचाहेको र आफ्नो मनगढन्ते हिसाबले निर्णय र नियुक्ति गर्दै आएको आरोप लगाउँदै 
आएका छन्। 

पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बिहान एजेन्डाकै विषयमा बस्दै छ। निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ।
किशोरसिंह राठोर - सहमहामन्त्री, कांग्रेस

संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुनेछ। साथै राष्ट्रव्यापी अभियानबारे पनि छलफल गर्ने कांग्रेसको तयारी रहेको छ। संगठन सुदृढीकरणका लागि देशैभर अभियान सञ्चालन गर्ने तयारीमा कांग्रेस छ।
चुनावी समीक्षा, प्रदेश र केन्द्र सरकारका कामकारबाहीलगायत विभिन्न विषयमा पनि छलफल हुने गरी केन्द्रीय कार्यसमिति बैठक गर्न लागिएको हो।
सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको केही दिनअघि जिल्ला सभापतिहरूले बैठकमा गुनासो गरेका थिए।

कांग्रेसभित्र बजेट विनियोजनमा गुनासो गर्दै आएका छन्। कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत केन्द्र सरकारमा अर्थमन्त्री छन्। आफ्नै पार्टीका अर्थमन्त्री महतले सबै जिल्लामा बजेट समान तवरले नपठाएको सांसदहरूको गुनासो छ।

कांग्रेसमा सभापतिमा निर्वाचित भएको यत्तिका समयसम्म सभापति देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्। १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि सभापति देउवाले केही संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्न अझै बाँकी छ। सभापति भएको ६ महिनाभित्रै मनोनीत गरिसक्नुपर्ने व्यवस्था पनि छ। २८ विभागमध्ये प्रचार विभाग मात्रै गठन भएको छ। महिला संघ र तरुण दल भर्खरै विस्तार भएको छ। अन्य विभाग गठन र नेविसंघलगायत भ्रातृ संस्थाका तदर्थ समिति गठन हुन भने अझै सकेको छैन। 

पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहान

सभापति देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्र्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। उनले उक्त बैठकलाई अनौपचारिक छलफल गर्ने भनेर केन्द्रीय समितिको बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने दाउ गरेको पनि कांग्रेसमा एकथरीले चर्चा गरेका छन्। 

यसबीचमा पटकपटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर केन्द्रीय समितिको बैठक सार्दै आएका देउवाले यो बैठकमा पनि आफ्नो विरोध नसोच्नै भन्ने चाहेको देउवा निकट एक नेताले बताए। उनले भने, ‘सीमित एजेन्डा तय गर्ने र तिनै एजेन्डामा मात्र बैठक केन्द्रित गर्ने सभापतिजीको तयारी छ। त्यसकै लागि पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठक राखिएको हो।’

सभापति देउवाले दुई महामन्त्रीलाई यसअघि नै एजेन्डा तयार गरेर ल्याउन भनेका थिए। बैठकका एजेन्डा तय गर्ने विषयमा पार्टीमा छलफल भइरहे पनि बुधबार बिहान बस्ने बैठकले मात्रै एजेन्डाको टुंगो लाग्छ। एक सहमहामन्त्रीले भने, ‘सभापति र महामन्त्रीहरूबीच एजेन्डाका विषयमा छलफल भएको होला सहमहामन्त्रीलाई केही पत्तो पाइएको छैन। आज बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको छ। त्यसैमा हामीलाई पनि बोलाइएको छ। 

कांग्रेसले तय गरेका प्रारम्भिक एजेन्डा

  •  संघ, प्रदेश र उपनिर्वाचनको चुनावी समीक्षा गर्ने 
  • नीति अधिवेशन मिति र स्थान तय गर्ने 
  • केन्द्रीय कार्यसम्पादनले गरेका निर्णय अनुमोदनलाई पेस गर्ने 
  • कांग्रेस जागरणका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने  
  • प्रदेश र केन्द्र सरकारको कामकारबाहीबारे समीक्षा गर्ने 
  • संगठन सुदृढीकरणबारे बृहत् बहस गरिनेलगायत विविध
  • कोषाध्यक्ष मनोनीत गर्ने तयारी
     

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.