सरकारी अस्पताल, धरौटीमा उपचार
२१ वर्षको भएँ। पेसा कृषि हो। छोरी जन्मिएपछि निकै खुसी थिएँ। घरमा लक्ष्मी भित्रिएको महसुस भयो। तर, जन्मिएको चारदिनपछि आपत आइलाग्यो। छोरी बिरामी भइन्। अहिले उनको उपचार गर्दागर्दै बेखर्ची भएको छुँ। भोक, निन्द्रा सबै हराएको छ।
धादिङको गजुरी गाउँपालिका–८ मा घर छ। घरनजिकै स्वास्थ्यचौकीमा छोरी जन्मिएकी हुन्। चारदिनपछि उनलाई जन्डिसको लक्षण देखियो। पुनः स्वास्थ्य चौकीमा लगें। स्वास्थ्यकर्मीले हामी त केही गर्न सक्दैनौं भन्ने जवाफ दिए। काठमाडौं लगेर उपचार गर्न सुझाव दिए। तुरुन्तै एम्बुलेन्स खोजी गरेँ। एम्बुलेन्सबाट काठमाडौं ल्याएँ। पाँच हजार भाडा एम्बुलेन्सलाई तिरेँ।
असार २८ गते साँझ कान्ति बाल अस्पतालमा ल्याए। १ सय रुपैयाँ तिरेर इमर्जेन्सीमा भर्ना गरेँ। डाक्टरले जाँच गर्नुभयो। भर्ना गर्नुपर्ने सुझाव दिनुभयो। अचम्म लाग्यो, भर्ना गर्नका लागि धरौटी बुझाउनु पर्ने रहेछ। १२ हजार धरौटी बुझाएँ। सरकारी अस्पतालमा किन भर्ना बापत १२ हजार धरौटी लियो ? नेपालको संविधानमा सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने छ भन्ने लेखिएको छ भन्ने सुनेको थिएँ। तर, धरौटी बुझाउन नसकेको भए छोरीलाई भर्ना गर्न पाउँथे कि पाउँथिन् ? मलाई जान्न मन लागेको छ।
- धरौटी बुझाउन नसकेको भए छोरीलाई भर्ना गर्न पाउँथे कि पाउँथिन् ? मलाई जान्न मन लागेको छ।
- सरकारले गरिब जनताका लागि हेर्नुपर्छ। उपचार नपाएर वा उपचार खर्च बेहोर्न नसकेर मर्ने अवस्था आउन दिनुहुँदैन।
भन्छन्, ‘सास हुनजेल आस हुन्छ नै।’ छोरीको उपचार गर्नै पर्यो। धन्न, सै–सापट मागेर धरौटी बुझाएँ। जग्गा जमिन बेचेर भए पनि उपचार त गर्नै पर्यो। शय्या (बेड) निःशुल्क छ। त्यसो भए भर्नाबापत किन मागिएको हो ? केहि बुझ्न सकेको छैन। अहिले औषधिका लागि डाक्टरले पर्चामा लेखिदिन्छन्। म किनेर ल्याउँछु। सल्लाह दिएअनुसारका परीक्षणहरू गर्दै आएको छु। तर, छोरीलाई बिसेक भएको छैन। कहिले डिस्चार्ज हुने हो त्यो पनि थाहा छैन। 
उपचार खर्चमा कति सकियो भन्ने हिसाब किताब गर्न भ्याएको छैन। तनावमाथि तनाब छ। सुत्केरी श्रीमतीको पनि स्याहार गर्न पाएको छैन। सुत्केरी अवस्थामा झन् बढी स्याहार गर्नु पर्ने त हो। तर, कुरुवा कोठामा श्रीमतीलाई राखेको छुँ। बनेपामा दिदीको घर छ। बसमा डेढ घण्टा यात्रा गरेर दिदीको घर जान्छौं। बेलुका भात, तरकारी खुवाएको छु। बिहानको खाना त यतै जसोतसो पेट भर्छौं। एकातिर छोरी र अर्कोतिर सुत्केरी श्रीमतीको चिन्ता छ। छोरी बेडमा छिन्।
श्रीमती कुरुवाघरमा सुत्छिन्। म यताउता गर्छु। बरन्डामा सुत्ने प्रयास गर्छु। घरमा सुतेजस्तो कहाँ हुन्छ र ? निद्रा नै पर्दैन। राति–राति लामखुट्टेले टोक्छ। एक्कासि कसैको निधन भयो भने रुवावासी हुन्छ। छोरीलाई जन्डिसबाहेक अरू पनि रोग के कस्तो छ ? त्यसको परीक्षण गर्नु भएको छ। त्यसका लागि रगत परीक्षण गर्नुपर्ने रहेछ। अन्य ठाउँमा जानुपर्ने रहेछ। काठमाडौंका लागि म नयाँ हुँ। ठाउँ पत्ता लगाउनै गाह्रो हुने रहेछ। उपचार सेवा पाउनै सकस हुने रहेछ।
अहिले अलि सस्तो पर्ने औषधि किनेको छु। महँगो औषधि किन्न पर्यो भने उपचार गर्नै नसकिने हुँदो रहेछ। पैसा भएन भने त बाँच्न पनि नसकिने रहेछ। सरकारले गरिब जनताका लागि हेर्नुपर्छ। उपचार नपाएर वा उपचार खर्च बेहोर्न नसकेर मर्ने अवस्था आउन दिनुहुँदैन। भर्ना, औषधि निःशुल्क व्यवस्था भए सहज हुन्थ्यो।
( सन्तोष तामाङ गजुरी गाउँपालिका–८, धादिङका स्थानीय हुन्। उनी नवजात छोरी बिरामी भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा आएर बसेका छन्।)
प्रतिक्रिया दिनुहोस !