धरौटीमा रिहा भएका गच्छदारलाई कांग्रेसले निलम्बन गरे नयाँ पार्टी खोल्ने
बालकृष्ण खाँण र विजयकुमार गच्छदारलाई निलम्बन नगर्ने पक्षमा देउवा
कांग्रेसमा नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा तीव्र विवाद देखिएको छ।
काठमाडौं : सभापति शेरबहादुर देउवा पूर्वमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारलाई निलम्बन नगर्ने पक्षमा उभिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वमन्त्रीहरू खाँण र गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन गर्ने पक्षमा सभापति देउवा नदेखिएको कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।
ललिता निवास प्रकरणमा १८ महिनाअघि देउवा नेतृत्वकै सरकारले रोकेको ललिता निवास प्रकरणसम्बन्धी अनुसन्धानको फाइल यतिबेला पुनः अगाडि बढेको छ। कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छदारको संलग्नता जोडिएको छ।
अख्तियारले ०७८ सालमै गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समय फरार रहेका गच्छदार देउवा प्रधानमन्त्री भएको भोलिपल्टै ०७८ असार ३० मा विशेष अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो। यतिबेला उनै गच्छदार कांग्रेसले केन्द्रीय समितिको बैठकमा आफ्नो विषय कसरी उठाउँछ भन्ने पर्ख र हेरको अवस्थामा छन्।
गच्छादार यतिबेला कांग्रेसको बैठकमा निलम्बनको विषय उठ्यो र सभापतिले उक्त प्रस्ताव पारित गरे भने पार्टी छोड्नका लागि तयारी अवस्थामा पनि छन्। गच्छदार निकट एक नेताले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘यदि गच्छदारजीलाई निलम्बनको प्रस्ताव पार्टीले ल्यायो भने। गच्छदारजीलगायत हामीले कांग्रेस भित्रकै केही चौधरीलगायत अन्य केही साथीहरूले एकमुष्ट राजीनामा दिएर नयाँ पार्टी खोल्ने तयारी पनि हाम्रो छ।’
उनले नयाँ दल खोलेर जनता समक्ष जाने बताए। उनले भने, ‘कांग्रेसबाट निस्किसकेपछि अन्य दलबाट पनि हाम्रा साथीहरू आउन तयारी अवस्थामा हुनुहुन्छ। हामी नयाँ दल खोलेर जनता समक्ष जान्छौं। सभापतिजीले के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ।’
कांग्रेसमा नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा तीव्र विवाद देखिएको छ। संस्थापन पक्ष यो विषयमा मौन छ भने संस्थापन इतर पक्ष यो विषयलाई बैठकको एजेन्डा बनाएर खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने पक्षमा छ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले नक्कली भुटानी शरणार्थी, ललिता निवासको विषयमा नबोल्ने भन्ने नहुने बताए। परियारले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो। त्यसैले यसमा सबै किसिमका विषयमा छलफल हुन्छ। नक्कली भुटानी शरणार्थी, ललिता निवासको विषयमा नबोल्ने भन्ने हुँदैन। सबै विषयमा विस्तृत छलफल हुन्छ।’
देउवा निकट सहमहामन्त्री किशोरसिंह राठोरले अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा पार्टीमा छलफल गर्नुको कुनै अर्थ नभएको बताए। ‘अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा बोलेर कुनै निष्कर्षमा पुग्ने हैन,’ राठोरले भने, ‘यो कुरा सबैले बुझ्नुभएको छ। यही विषयमा अड्किएर सभापतिजीले गरेका अन्य राम्रा कामका विषय छायामा पार्न खोजिएको पनि हो।’
प्रतिक्रिया दिनुहोस !