कांग्रेसको केन्द्रीय समिति बैठक : प्रस्ताव र प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने
आज बिहान ११ बजेपछि बैठक बस्दैछ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका छ। मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा १० एजेन्डा प्रस्तुत गरेका थिए।
बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बैठकमा मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधि, केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन, संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत भएको थियो।
बैठकमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ५-७ मिनेटको समय निर्धारण गरिएको छ। मंगलबार ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बनको विषय बैठकको एजेन्डामा परेको छैन। बाहिर ‘हल्ला’ गरिएका विषयबारे छलफल भएन।
प्रतिक्रिया दिनुहोस !