‘लम्पी स्किन’बाट चार सय गाईभैँसी मरे

नवलपरासी : (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया संक्रमित भएका छन्। जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसी मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए। 'जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ', उनले भने, 'लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ।'
उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताए। कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट संक्रमित भएका जानकारी दिए।
मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी संक्रमित भएका उनले बताए। चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ संक्रमित भएका छन्।
यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी संक्रमित तथा २२ को मृत्यु भएको उनले बताए। बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको उल्लेख गर्दै पशु चिकित्सक चापागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताए।
गैंडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ संक्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ संक्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ संक्रमित भएका उनले जानकारी दिए।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ। लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानी तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा चापागाईंले बताए।
प्रतिक्रिया दिनुहोस !
