धरानमा गोली हानेर रोहितको हत्या प्रकरण

हतियार ‘सप्लाइ’ गर्नेदेखि हत्यामा संलग्न गिरोह पक्राउ

हतियार ‘सप्लाइ’ गर्नेदेखि हत्यामा संलग्न गिरोह पक्राउ
रोहित चौधरी हत्याको अनुसन्धानका क्रममा पक्राउ परेकाहरू । तस्बिर : अन्नपूर्ण

विराटनगर : विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या गरिएको घटनामा संलग्न थप दुईजना पक्राउ परेका छन् ।  प्रहरीले यस घटनामा प्रयोग गरिएको हतियार (पेस्तोल) ‘सप्लाइ’ गर्नेदेखि हत्यामा संलग्न रहेका चारजनालाई हालसम्म पक्राउ गरिसकेको छ । 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले हत्याकाण्डको अनुसन्धानका क्रममा धरान र विराटनगरबाट थप दुईजनालाई बिहीबार पक्राउ गरिएको जनाकारी दिए । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर घर भइ सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका–१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा रहेको राईले बताए । 

उनका अनुसार हत्यामा लिम्बूको प्रत्यक्ष संलग्नता छ । घटनामा प्रयोग गरिएको पेस्तोल शर्माले हत्यामा संलग्न गिरोहलाई उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए । चौधरीको हत्यामा संलग्न मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिना र सुनसरीको धरान– १० का ३४ वर्षीय अनसन तामाङ यसअघि पक्राउ परिसकेका छन् । 

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले गत बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर तिम्सिना र तामाङलाई सार्वजनिक गरेका थिए । डीआईजी बास्तोलाका अनुसार हत्यामा प्रयोग गरिएको पेस्तोल र ७ राउन्ड गोलीसहित तिम्सिना र तामाङलाई पक्राउ गरिएको हो ।  

चौधरीको गत साउन ५ गते धरानको सेउती पुलनजिकै गोली हानेर हत्या गरिएको हो । २८ औं जन्मदिन मनाउने क्रममा घुमघामका लागि धनकुटाको मुलघाटसम्म पुगेर विराटनगरस्थित घर फर्कने क्रममा लुटेरा समूहले चारकोसे जंगलको बीचमा चौधरीमाथि गोली हानेको थियो । 

गम्भीर घाइते चौधरीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार घुमफिर सकेर विराटनगर फर्किने क्रममा चौधरी र साथमा रहेकी युवती सेउती पुलनजिकै जंगलमा रोकिएका थिए । ‘सोही क्रममा लुटेरा समूहले युवतीले लगाएको सिक्री र पैसा लुटपाट गर्न खोज्यो,’उनले भने,‘चौधरीले प्रतिकार गरेपछि उनीमाथि गोली प्रहार गरिएको खुलेको छ ।’ 
 
एसपी ढकाल लुटपाट गर्ने गिरोहमा संलग्न अपराधिक पृष्ठभूमिका तिम्सिनाले चौधरीमाथि गोली प्रहार गरेको बताउँछन् । उनका अनुसार लुटेरा समूहलाई विराटनगर घर भएका शर्माले हतियार उपलब्ध गराएको खुलेको छ । शर्माको संलग्नता अपराधिक समूहलाई हतियार ‘सप्लाई’ गर्ने धन्दामा देखिएको प्रहरीको भनाइ छ । 

शर्मा र लिम्बूको अपराधिक पृष्ठभूमिका बारेमा थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए । प्रहरीका अनुसार पक्राउ परेका तिम्सिना र तामाङ यसअघि मोरङको लेटाङदेखि पश्चिम सुनसरीको चतरा जंगलबीचमा भएका विभिन्न चारवटा अपराधिक घटनामा संलग्न रहेको पत्ता लागेको छ । पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरेर दुई महिनाअघि छुटेका थिए । तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरेर दुई वर्षअघि छुटेको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.