रोहित चौधरी हत्यामा संलग्न थप एक जना समातिए, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रोहित चौधरी हत्यामा संलग्न थप एक जना समातिए, पक्राउ पर्नेको संख्या पाँच पुग्यो
रोहित चौधरी हत्याको अनुसन्धानका क्रममा पक्राउ परेकाहरु

विराटनगर : विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या गरिएको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। 

सुनसरीको धरान उपमहानगरपालिका–८ घर भइ इटहरी उपमहानगरपालिका–४ मा बस्दै आएका २९ वर्षीय सुजन तामाङ समातिएका हुन्। प्रहरीले सुजनलाई विराटनगरको महेन्द्र चोकबाट शुक्रबार साँझ पक्राउ गरेको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार सुजन रोहितको हत्यामा प्रत्यक्ष संलग्न व्यक्ति हुन्। हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या पाँच पुगेको जानकारी राईले दिए। 

हत्याको अनुसन्धानका क्रममा यसअघि मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिना, झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर घर भइ धरान–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू, धरान–१० का ३४ वर्षीय अनसन तामाङ र विराटनगर महानगरपालिका–१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा पक्राउ परिसकेका छन्। 

लुटपाटमा संलग्न गिरोहले साउन ५ गते साँझ ५:२० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती पुलनजिक गोली हानेर रोहितको हत्या गरेको थियो। २८ औं जन्मदिन मनाउन घुमघामका लागि धनकुटाको मुलघाटसम्म पुगेर फर्कने क्रममा लुटेरा समूहले चारकोसे जंगलको बीचमा उनीमाथि गोली हानेका हुन्। 

विराटनगर फर्किने क्रममा रोहित र उनीसँगै रहेकी युवती सेउती पुलनजिकै जंगलमा रोकिएका थिए। युवतीमाथि तीन जनाको समूहले लुट्न खोज्यो। रोहितले प्रतिकार गरेपछि उनीमाथि लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘लुटपाट हुन आँटेपछि रोहितले धेरै हल्लाखल्ला गरे। प्रतिकारमा उत्रिए,’डीएसपी राईले भने, ‘लागूऔषध सेवन गरेको गिरोहले उनको दाहिने कोखामा गोली हान्यो। छटपटाउँदै र धरखराउँदै सडकमा आइपुगेपछि रोहित बेहोस भए।’ गिरोहले युवतीबाट सुनको ४ आनाको सिक्री, मोबाइल र ‘लेडिज ब्याग’ लुटेर लगेको राईले बताए। उनका अनुसार प्राविधिक पक्षसहित विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गर्दा अन्ततः गिरोहसम्म पुग्न प्रहरी सफल भएको हो। 

पक्राउ पर्नेमध्ये दीपक र अनसनको साथबाट हत्यामा प्रयोग गरिएको सेमी अटोमोटिक पेस्तोल, नौ राउन्ड गोली, दुई थान म्यागजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औंठी र गोलीको खोकालगायत प्रहरीले बरामद गरेको थियो। सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार रोहितमाथि दीपकले गोली प्रहार गरेको खुलेको छ। ‘दीपक, प्रकाश तथा सुजन मिलेर रोहित र उनको साथमा भएकी युवतीमाथि लुटपाटको प्रयास गरेछन्,’ उनले भने, ‘प्रतिकार गर्दा साथमा बोकेको पेस्तोलबाट अपराधिक पृष्ठभूमिका दीपकले गोली प्रहार गरेको खुल्यो।’ हत्या तथा लुटपाटमा दीपक, प्रकाश र सुजनको प्रत्यक्ष संलग्नता रहेको तथा घटनामा अरुले सहयोग गरेको पाइएको ढकालले बताए। 

उनका अनुसार रोहितको हत्यामा प्रयोग भएको पेस्तोल अजयले उपलब्ध गराएको खुलेको छ। हत्यापछि अनसनले पेस्तोल लुकाउन भूमिका खेलेको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल धरानको विजयपुरस्थित दीपक र अनसनको कोठाबाट बरामद गरेको थियो। 
लागूऔषध मुद्दामा चार वर्ष आठ महिना कैद सजाय भुक्तान गरेर चार महिनाअघि छुटेका अजय पछिल्लो समय अपराधिक समूहलाई हतियार ‘सप्लाई’गर्ने धन्दामा संलग्न रहेको एसपी ढकालले बताए। उनका अनुसार पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरेर दुई महिनाअघि छुटेका थिए। अनसन लागूऔषध मुद्धामा छ महिना कैद भुक्तान गरेर दुई वर्षअघि छुटेका हुन्। 

अपराधिक पृष्ठभूमि खुलिनसकेका प्रकाश लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो। गिरोहविरुद्ध अरु मुद्दा पनि चलाउने प्रहरीको तयारी छ। 

रोहितको हत्या घटनाको अनुसन्धान अघि बढाउन र हत्यारालाई पक्राउ गर्न कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले विशेष टोली परिचालन गरेका थिए। दीपक र अनसन पक्राउ परेपछि गत बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले घटना विवरणसमेत सार्वजनिक गरे। 

बास्तोलाले प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र धरानबाट संयुक्त टोली परिचालन गरेका हुन्। अनुसन्धानलाई नतिजामूलक बनाउन उनले प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाको नेतृत्वमा विशेष अनुसन्धान टोलीसमेत खटाए।

पक्राउ परेको गिरोह मोरङ र सुनसरीमा विगतका शृङ्खलावद्ध लुटपाटमा संलग्न रहेको डीआईजी बास्तोलाले बताए। उनका अनुसार हतियार (पेस्तोल) ‘सप्लाइ’ गर्नेदेखि हत्या र लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ। ‘हतियार देखाएर लुटपाट गर्दै पैसा कमाउने उद्देश्य राखेको देखिन्छ,’ डीआईजी बास्तोलाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उत्तरी मोरङदेखि पश्चिम सुनसरीसम्मको जंगलबीचका लुटपाटलगायतका अपराधमा यही गिरोह संलग्न रहेको पत्ता लाग्यो।’ 

लुटपाट गर्ने शैली, संलग्न व्यक्तिको संख्या, पीडितबाट प्राप्त उनीहरुको हुलिया, अनुसन्धानबाट जुटाइएको विवरणलगायतले सबैजसो घटनामा एउटै गिरोहको संलग्नता देखिएको उनले बताए। ‘जुन घटनामा पनि हतियार देखाएर मोबाइल, गरगहना र नगद लुटपाट गरेको देखिन्छ,’ डीआईजी बास्तोलाले भने, ‘प्रतिकारमा उत्रिएका कारण रोहितको चैं हत्या नै गरेको पाइयो।’ 

उनका अनुसार गिरोहले विभिन्न लुटपाटका घटनामा संलग्नता स्वीकार गरिसकेको छ। ‘योजनावद्ध तरिकाले घटना गराउने हैनन्। एकान्त  र जंगलको बीचमा बाटो ढुकेर बस्दा भेटिनेहरुमाथि लुटपाट गर्ने गरेको पाइयो,’ बास्तोला भन्छन्, ‘प्राविधिक हिसाबले अनुसन्धान गर्दै जाँदा प्रहरीले सफलता प्राप्त गरेको छ। मानवीय चहलपहल कम हुने एकान्त स्थान छानेर गिरोहले घटना गराउने गरेको खुल्यो।’ उनका अनुसार पक्राउ परेका सबै लागूऔषधका दुव्र्यसनी हुन्। 

सुनसरी र मोरङका विभिन्न स्थानमा असारयता मात्रै आधा दर्जनभन्दा बढी शृङ्खलावद्ध लुटपाटका घटना भएका छन्। जंगल क्षेत्रमा लुटपाट एवं डकैतीको बढ्दो शृङ्खलाले जंगलको बाटो हुँदै गन्तव्यसम्म पुग्नुपर्ने सर्वसाधारण असुरक्षित बनिरहेका थिए। तर, हत्याको अनुसन्धान अघि बढाएको प्रहरीले लुटपाट एवं डकैतीमा संलग्न हतियारधारी गिरोहलाई पक्राउ गरिसकेको छ। शृङ्खलावद्ध घटनामा अरुपनि संलग्न हुनसक्ने प्रहरीको आशंका छ। 

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार एक ठाउँमा लुटपाट गरेपछि घटनामा संलग्न गिरोह तत्काल अर्को ठाउँमा स्थानान्तरण भइहाल्ने गरेको पाइयो। ‘एकान्त ठाउँ र जंगलमा ढुकेर बस्ने गिरोहले मानिसको साथबाट नगद, गहना र मोबाइल लुट्ने गरेको देखियो। घटनास्थल आसपासमा प्रहरीको ‘मुभमेन्ट’ बढाएपछि तत्काल अर्को ठाउँमा पुग्दा रहेछन्,’ उनले भने, ‘अर्कोतिर पनि घटना गराइहाल्ने गरेको पाइयो। लुटपाट एवं डकैतीमा लागूऔषध सेवनकर्ता र अपराधिक पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता रहेको खुलेको छ।’ 

गिरोहलाई साथमा भएको सामान थपक्क दियो भने केही नगरिकन छाडिदिने र प्रतिकार गर्‍यो भने चैं आक्रमणसमेत गर्ने गरेको पाइएको कँडेलले बताए। प्रायजसो घटनामा तीन जनाको प्रत्यक्ष संलग्नता देखिएको छ। ‘हतियार देखाएर त्रसित बनाइसकेपछि वरपर ‘रेकी’ गर्दै लुटपाट गर्ने गरेको पाइयो,’ एसपी कँडेल भन्छन्। 

लुटेको सुनसँग साटेर भित्र्याइयो पेस्तोल 

रोहितको हत्यामा प्रयोग भएको पेस्तोल गिरोहले लुटपाट गरेको सुनसँग साटेर भारतको जोगवनीबाट नेपाल भित्राएको खुलेको छ। ‘पेस्तोल जोगवनीबाटै ल्याइरहेको रहेछ। गिरोहले सुन दिएपछि पक्राउ परेकामध्ये अजयले पेस्तोल उपलब्ध गराएको पत्ता लाग्यो,’ प्रहरी स्रोतले भन्यो, ‘गिरोहले यताबाट लुटेको गहना र मोबाइल जोगवनीमा पुर्‍याएर बिक्री गर्ने गरेको स्थान तथा किन्ने व्यक्तिको पहिचान भएको छ। थप अनुसन्धानका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ।’

भारतको जोगवनीमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिसँग अजयको सम्पर्क देखिएको र उनीहरुसँग ‘कनेक्सन’ मिलाएर हतियार नेपाल भित्राउने धन्दामा उनको संलग्नता रहेको प्रहरीको भनाइ छ। जोगवनीमा उनको सम्पर्कमा रहेका हतियार कारोबारीको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ। भारतीय कारोबारीमार्फत अन्य लुटेरा समूहलाई समेत उनले हतियार उपलब्ध गराएको हुनसक्ने प्रहरीको अनुमान छ। 

‘अजय विगतका अरु दुईचारवटा घटनामा संलग्न रहेको देखिन्छ। उनको अपराधिक पृष्ठभूमिका बारेमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘नेपाल र भारतका अपराधिक गिरोहसँग उनको ‘कनेक्सन’ देखिएको छ। अपराधमा संलग्नले माग गरेअनुसार नेपालमा भित्राएर हतियार बेच्ने गरेको पाइयो।’ प्रहरीका अनुसार नेपालतिर पेस्तोल ‘सप्लाइ’ गर्ने धन्दामा संलग्न अजयले नेपालमा अहिलेसम्म कसकसलाई हतियार दिएभन्ने खुल्न बाँकी छ। 

लुटपाट गरिएका मोबाइल, गहनासमेतका वस्तु गिरोहले भारतको जोगवनी पुर्‍याएर बिक्री गर्ने गरेको पत्ता लागेको छ। रोहितको हत्यामा संलग्नहरु घटनापछि जंगलैजंगल भागेर इटहरी हुँदै विराटनगर निस्किएर जोगवनी पुगेको अनुसन्धानबाट खुल्यो। युवतीबाट लुटेको सिक्री र मोबाइल लगेर त्यहीँ बेचेको प्रहरीले पत्ता लगायो। ब्याग भने इटहरीकै जंगलबाट प्रहरीले फेला पारेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.