कवितामार्फत पहिचानको खोजी

समीक्षा

कवितामार्फत पहिचानको खोजी

कवि कल्पनाको उडानमा कविताका हरफहरू लेख्दैनन्, कविता खोज्दै गाउँ बस्तीहरू पुग्छन्, सहरका सुखले भन्दा गाउँका दुःखले कविता लेखाउँछ।

समय एकनास रहँदैन। समयको घट्टमा घुमेका मान्छेका जीवनकथालाई सुन्दर बुनोटका साथ मान्छेहरूकै बस्तीमा पुुर्‍याउने काम सर्जकले सिर्जनाका माध्यमबाट गरेका छन्। युवा सर्जक राजु स्याङ्तान सिर्जनामार्फत मान्छेका पहिचान खोजिरहन्छन्, वर्तमान समयको चित्र दुरुस्तै उतार्छन्। पत्रकारिता तथा साहित्य लेखनमा सक्रिय राजुको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’मा विगतदेखि वर्तमान समयका सग्ला चित्र दुरुस्त पढ्न पाइन्छ।

राजु कल्पनाको उडानमा कविताका हरफहरू लेख्दैनन्, कविता खोज्दै गाउँ बस्तीहरू पुग्छन्। उनलाई सहरका सुखले भन्दा गाउँका दुःखले कविता लेखाउँछ। अर्गानिक कविता त गाउँमै हुन्छन् भन्ने मान्यता उनको छ। अर्गानिक कविता खोज्दाखोज्दै रित्तिएको गाउँ देखेर भावुक हुन्छन्। अर्को विरहको कविता बोकेर सहर पस्छन्। यो सहरले कविलाई मोहनी लगाएको छ। गाउँका अर्गानिक कविता सहरलाई सुनाउँछन्, सहरका दूषित विचारमाथि धावा बोल्छन्। गाउँका कविता सुन्न नचाहने सुकिलो सहरमा गाउँका कविता मजाले घन्काउँछन्। ‘ओ पेङ्दोर्जे’मा यस्तै अर्गानिक कविता पढ्न सकिन्छ।

कृतिभित्र मजदुर, आमा, योद्धा, प्रेम, मान्छे र पिपाका कथाहरू छन्। कवितामा वर्तमान समयले भोग्न बाध्य बनाएका दारुणिक चित्कार तथा यी चित्कारबाट मुक्तिको कामना गर्ने आवाज छन्। वर्तमान समयको बेमेल राजनीतिक चित्र तथा कुनै तन्त्रले पनि सम्बोधन गर्न नसकेको पीडितहरूको सामूहिक आवाज छन्। साथै आफू र परिवारको भविष्यका खातिर परदेशमा बगेका पसिनाका थोपाथोपा सिञ्चन गरिएका छन् कवितामा। धेरैले आमाका महानताका कविता कोरेका छन्, तर आमाको पीडा महसुस गरेका छैनन्। उनी कवितामार्फत आमाको भित्री पीडाका कथा लेख्नुपर्छ भन्ने ठान्छन्। अबको युगमा हरेक आमा क्रान्तिको ज्वाला बोकेर बाँच्नुपर्छ भन्ने ठान्छन्। वर्षौंदेखि दबाइएका आमाका चाहनामाथि, अब आफैंले धावा बोल्नु पर्छ भन्ने ठान्छन्। ठूलाले सधैं राज गर्ने देशमा उनीहरूकै हैकम चल्छ भन्ने कवितामा छ। उनीहरूकै आदेश सबैले मान्नु पर्ने तथा महिलालाई दोस्रो दर्जाको नागरिक बनाएर भोग गरिरहेका शासकहरूका विरुद्धको विद्रोह हुन् यी कविताहरू।

इतिहासदेखि वर्तमानसम्मका शासकहरूको रवैया उस्तै देख्छन् कवि। पेङ्दोर्जेलाई भन्छन्, अब हामी सधैं सचेत बन्नु पर्छ। जहाँ गए पनि असुरक्षित आमाहरूको आँसुले लेखिएको एउटा अद्भुत कृति हो– ओ पेङ्दोर्जे। जसले हामीलाई धर्तीमा उभ्याएको छ, उसलाई नै राज्यले उपेक्षित बनाएको कैयौं उदाहरण छन्। त्यसका विरुद्ध पनि अब उनीहरूको पहिचानका खातिर सर्जकहरूले कदम चाल्नु पर्छ भन्ने सन्देश कृतिमा छ। हेरौं एउटा कविताको पंक्ति–‘जँड्याहा बाउले कुट्यो भनेर, लुगाको पोको बोकी त्यसरी रुँदैरुँदै मामाघर नजाऊ आमा, त्यहाँ पनि त मामाले यसरी नै कुट्छन् माइजूलाई।’ सटिक, यथार्थ, सुन्दर बिम्ब प्रस्तुत गर्ने राजुका कविताहरू वर्तमान पुस्ताकै शक्तिशाली कविता र कविको स्थान ओ पेङ्दोर्जेमार्फत बनाएका छन्।

हरेक सर्जकको प्रस्तुत गर्ने आफ्नै शैली हुन्छ, तर प्रस्तुत गर्दा मभन्दा हाम्रो दुःख, सुखका पाटाहरूमा लेख्ने सर्जकको आवश्यकता छ। स्याङ्तान समस्यामाथि कलमको सहारा लिएर युवापुस्ता कविको मोेर्चा सम्हालिरहेका छन्, यो कृतिमार्फत। मजदुरको पसिना सिञ्चिएर राजमार्ग बन्छ, नाम अर्कैको हुन्छ। एउटा मजदुरले टिलिक्क पारेर घर बनाउँछ, भोग अर्कैले गर्छ। मठ मन्दिरहरू बनाउँछ, त्यसभित्र ऊ पस्न पाउँदैन। कस्तो दुर्भाग्य ? कस्तो असमानता ? हामी कुन समयमा बाँचिरहेका छौं ? धेरै प्रश्न कवितामार्फत उब्जेका छन्। अब निराकरण पनि हामीले नै गर्नुपर्छ, सिर्जनाका माध्यमबाट, यस्ता आवाज बुलन्द गर्नुपर्छ भन्ने मूल सन्देश कविले दिएका छन्। मान्छे भएर पनि मान्छे हुन नसकेको अर्थात् पहिचान बनाउन नसकेका मान्छेहरूको कथा हो, ओ पेङ्दोर्जे।

वर्तमान समयमा कविताहरू निकै बलशाली भएर उभिएका छन् उनका। ६ खण्डका ५१ कविताले मानवीय संवेदनाका स्वरहरू सुसेलेका छन्। वर्तमान पुस्तामा यी कविताहरूको महत्त्व धेरै देखिन्छ। समाज बुझेर समाजका स–साना कुराहरू कवितामा अटाएको महसुस हुन्छ। समाजका हरेक गतिविधिलाई सूक्ष्म अध्ययनका साथ गहिराइमा पुगेर लेखिएका छन् कविता। कविता मन नपर्नेहरूले पनि यी कविता पढे भने आफैंले भोगेको समाज पाउँछन् र विसंगतलाई मजाले देख्न सक्छन् अनि समाजप्रति उत्तरदायी बन्न सक्छन्। बेमेल राजनीतिका तीता अनुभवहरू कविताका हरफ बनेका छन्। आधुनिक मान्छेले बिर्संदै गएको मौलिकता, भाषा, भेषभूषा र आफ्नोपनलाई पहिचान दिन सक्ने सामथ्र्य कवितामा पढ्न सकिन्छ।

‘यो देशको बेइमान चित्रकारले चोप्न छुटाएको एउटा अपहेलित रङ हुँ म, झेली पियानोवादकले थिच्न छुटाएको एउटा अपमानित धुन हुँ म...।’ शासक कहिल्यै जनतामुखी भएनन्। सधैं जनतालाई दास बनाउन चाहे, जनता पनि उनीहरूको झुटो आश्वासनलाई साँच्चै हो भन्ने सम्झिए। त्यही क्रमले निम्त्याएको परिणामको सिकार हामी बनेको यथार्थ कवितामा छ। हिजो अर्काको मुलुकमा बहादुर बनेका हामी आज पनि विदेशै ताकिरहेका छौं। कोही सद्दे आउँछन्, कोही बन्द बाकसमा, यो क्रम सम्झँदा पनि कहाली लाग्छ। यस्तो अवस्थालाई राजुले यसरी व्यक्त गरेका छन् कवितामा– ‘सबैलाई भनिदिनू, सबैलाई खबर गरिदिनू, पठाउन सकिएन यसपटक मुटु निचोरेर रगत, हाजिर भएको छु आफैं कफिनमा बन्द भएर।’

किन र कसका लागि कविता लेख्ने ? भन्नेहरूले यी कविता पढ्नै पर्छ। अनि पो उसले समाज चिन्छ र समाजप्रति जिम्मेवार बन्छ। कवि कवितामार्फत पुर्खाको खोजी गर्छन्। शताब्दी पहिले पुर्खाले गाडी बोकेका कथा, अंग्रेज युद्धमा होमिएका पुर्खा फर्केर नआएका नमीठा कहानी कविताका अंश बनेका छन्। मान्छेले पहिचान किन खोज्नुपर्छ भन्ने सन्देश कवितामा छ। कृतिभित्रका कविता मानवीयता तथा पहिचानका पक्षमा लेखिएको अब्बल कृति हो। वर्तमान पुस्ताकै अत्यन्त प्रभावशाली तथा शक्तिशाली कविता संग्रृहीत छन्। कविता सरल भाषाशैलीका छन्, कतै बिम्बको कमि महसुस देखिएता पनि कविताले उठाएको विषयवस्तु भने हामी सबैको साझा हुन्।

‘...यो आदिम बस्तीजस्तो लाग्ने मेरो दुब्लो शरीर, जहाँका करङहरू पढेर लेख्न सक्छौं, तिमी मेरो भोकको इतिहास, सदियौंदेखि किनारामा हेपिँदाहेपिँदै छियाछिया भएको छ, छाती जहाँका छिद्रहरू गनेर लेख्न सक्छौं, तिमी मेरो नागरिकताको नम्बर।’ यस्तै यस्तै अब्बल हरफहरूले सजिएको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ पठनीय र संग्रहणीय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.