प्राधिकरणको निर्णयले यात्रु मर्कामा

प्राधिकरणको निर्णयले यात्रु मर्कामा
मुगुस्थित रारा विमानस्थलमा हवाई उडान नभएपछि अलपत्र यात्रु। तस्बिर : जीवन सेजुवाल

नेपालगन्जबाट दिउँसो १२ बजेपछि ३ महिनाका लागि हवाई उडान गर्न रोक लगाइएको छ।

मुगु : नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेबाट दुर्गम स्थानका विमानस्थलमा दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि  स्थानीय यात्रु मर्कामा परेका छन्।

वर्षात्को समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले तीन महिनासम्मका लागि रोक लगाउने निर्णय गरेको हो। नेपालगन्जबाट  दैनिक उडान हुने डोल्पा, सिमीकोट, रारा र बाजुरालगायतका जिल्लाका यात्रुलाई समस्या परेको हो। 

मुगुको रारा विमानस्थलमा हवाई उडान नभएको साता नै हुन लाग्यो। हवाई यात्राबाट नेपालगन्ज पुग्ने यात्रु रारा विमानस्थलमा हवाईजहाजको पर्खाइमा ताल्चामा कुरिरहेका छन्। बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपछि भने आकाश खुला हुने गरेको छ। तर प्राधिकरणको निर्णयले गर्दा १२ बजेपछि उडान गर्न मिल्दैन। ‘आफ्नो ट्राभल्सबाट तारा एयरलाइन्सबाट नेपालगन्ज जाने ४३ यात्रु टिकट लिएर जहाजको पर्खाइमा बसेको साता नै भइसक्यो,’ हेमन रारा ट्राभल्सका बजार व्यवस्थापक शोभबहादुर भामले भने, ‘प्रत्येक दिन १२ बजेपछि दिन खुले पनि जहाज चल्दैन। बिरामी यात्रु भने पर्नु मर्का परेको छ।’

मुगु कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ। उनको नाकभित्र मासु पलाएर सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगन्ज जान रारा विमानस्थल आएको एक सातै भए पनि उड्न पाएकी छैनन्। उपचार गर्न जान पाउने हो÷होइन भन्ने उनी चिन्तामा रहेको सुनाउँछिन्।

प्राधिकरणको निर्णयअघिसम्म नेपालगन्जबाट सीता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए। नेपाल एयरलाइन्सले भने सातामा दुई दिन उडान गर्दै थियो। सातादेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन्। रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ। रारा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए। 

रारा विमानस्थललगायत अन्य विमानस्थलमा यो निर्णयलाई संशोधन गर्नुपर्ने भन्दै संघीय पर्यटनमन्त्रीलाई ज्ञापनपत्रसहित सुझाव दिएको कर्णाली उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.