सुन्तला र बंगुर किसानलाई क्षतिपूर्ति दिन्छौं : मन्त्री जिसी
स्याङ्जा : गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले गतवर्ष स्याङ्जाका केही बंगुरपालक र सुन्तला किसानलाई पुगेको क्षतिस्वरुप राहत उपलब्ध गराउने बताएका छन्।
स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ वटा सरकारी कार्यालयद्वारा संयुक्तरूपमा मंगलबार यहाँ आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सार्वजनीकरण कार्यक्रममा बोल्दै मन्त्री जिसीले सुन्तला किसानका लागि १९ लाख र बंगुरपालक किसानका लागि ३२ लाख रुपैंया क्षतिपूर्ति बापत उपलब्ध गराउने बताएका हुन्।
गत वर्ष पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाका चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिएका थिए। स्वाइन फ्लु संक्रमणका कारण वालिङ् र पुलतीबजारमा पालिएका बंगुर मरेका थिए। दुबैतर्फ लाखौं रुपैयाँको क्षति पुगेको बताइएको छ।
किसानलाई उत्पादनका आधारमा अनुदान दिने ब्यवस्था गरिने बताए। मन्त्री जिसीले स्याङ्जा कृषि र पशुका लागि अत्यन्त उर्वर क्षेत्र रहेकाले यहाँका किसानलाई थप प्रोत्साहितगरी ब्यवसायिकरणमा जोड दिनेगरी विविध योजनासहित तालिम सञ्चालन गर्नेमा जोड दिए।
‘बजेट नभएर होइन, बजेट ब्यवस्थापन गर्न नजानेर कृषिमा अपेक्षित लाभ भएको छैन। कर्मचारी पनि मन्त्रीको एटीच्युट हेरेर नीति बनाउँछन्। लामो अनुभव लिएका स्थायी सरकारका रूपमा परिचित कर्मचारीले योजना बनाउने र मन्त्रीलाई सही जानकारी एवं आवश्यकताअनुरुप सचेत गराउनुपर्छ,’ उनले भने। चिन्तन धेरै गर्ने काम गर्न नजान्ने र पहुँच हुनेले मात्र पाउने प्रक्रियाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। डुब्लिेकेशन रोक्नका लागि साना योजना स्थानीय पालिकाले र ठूल्ठूला आयोजना प्रादेशिक तहबाट गर्नुपर्ने उनले बताए।