संसदीय दलको बैठकअघि आन्तरिक छलफलमा कांग्रेस
काठमाडौं : संसदीय दलको बैठक बस्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावित एजेण्डा र भावी रणनीतिका बारेमा छलफल गरेका छन्। धुम्बाराहीस्थित निवासमा बिहीबार उनले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग छलफल गरेका हुन्।
बैठकमा प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी रहेका थिए। सभापति देउवाले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएका छन्। उनीहरूबीच सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण र सरकारका पछिल्ला काम कारबाहीबारे छलफल भएको थियो।
भोलिको संसदीय दलको बैठकमा समेत यिनै विषयहरूले प्राथमिकता पाउने स्रोतले बताएको छ। तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जेल जीवन विताइरहेका छन्। उनको विषयमा समेत बैठकमा छलफल हुने स्रोतको भनाइ छ। यद्यपि नेपाली कांग्रेसभित्र खाँणलाई कारबाही गर्ने वा नगर्नेबारे दुई धार देखिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेका सांसद सुनिल शर्माका विषयमा समेत संसदीय दलको बैठकमा छलफल हुने छ। सांसद शर्मालाई व्युरोले आज पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !