क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, बाबु बने अध्यक्ष
विराटनगर : जिल्ला क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व चयन गरिएको छ। मोहम्मद साद बाबु संघको जिल्ला अध्यक्ष बनेका छन्। सर्वसम्मत अध्यक्ष चुनिएका उनी युथ क्रिकेट क्लब (वाईसीसी)का पूर्वखेलाडी हुन्।
बाबु तत्कालीन समयमा तीव्र गतिका बलर थिए। संघको बिहीबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मि शर्मा चौलागाईं चयन भएका छन्। चौलागाईं पूर्वअन्तर्राष्ट्रिय खेलाडी हुन्।
पदाधिकारी सर्वसम्मत चयन भए पनि सदस्यतर्फ भने निर्वाचन भएको छ। निर्वाचन समितिका सदस्य नवीन अर्यालका अनुसार ११ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेपछि निर्वाचन गर्नु परेको हो।
मोरङमा क्रिकेट संघ २०५३ सालमा स्थापना भएको थियो। संघको संस्थापक अध्यक्ष स्वः नरेश श्रेष्ठ हुन्। उनले जिल्लामा तीन कार्यकाल संघको नेतृत्व गरे। संघको चौथो अध्यक्ष सुनील पौडेल भए। पौडेलपछि पूर्वअन्तर्राष्ट्रिय खेलाडी नवीन घिमिरेले नेतृत्व सम्हाले।
नवनिर्वाचित अध्यक्ष बाबुले मोरङमा क्रिकेटलाई प्राथमिकतामा राखेर चलायमान बनाउन आफू सक्रिय रहने बताए। ‘ग्रास रुटसँगै क्लबस्तरीय प्रतियोगिता आयोजना गरेर क्रिकेटलाई चलायमान बनाइने छ,’ उनले भने, ‘आवश्यक मैदान निर्माणका लागि सरोकारवाला निकायसँग पहल गर्ने छौं।’
नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय अधिवेशन आगामी असोज पहिलो साता काठमाडौंमा हुँदैछ। कोसी प्रदेशका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा क्यानको शाखा रहेको छ। पदाधिकारी चयन भने सबै जिल्लामा सर्वसम्मत भएको छ।
प्रतिक्रिया दिनुहोस !