काभ्रेको मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन विरुद्ध निःशुल्क खोप
काठमाडौं : काभ्रेको मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन विरुद्ध निःशुल्क खोप अभियान सुरु भएको छ।
नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह सुरु गरेको हो। नगरपालिकाले शुक्रबारदेखि १२ वटै वडामा सप्ताहव्यापी निःशुल्क खोप अभियान सञ्चालनमा ल्याएको हो।
खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित छन्। वडा नम्बर ३ र ४ तथा ७ र ८ हेर्न गरी एक/एक जना प्राविधिक खटाइएको छ भने बाँकी प्रत्येक वडामा एक/एक जना प्राविधिक खटाइएको पशुपंक्षी शाखा प्रमुख ध्रुवप्रसाद पराजुलीले जानकारी दिए।
नगरपालिकाले यसअघि ६ हजार ४५७ वटा गाई र १५० वटा भैंसी गरी जम्मा ६ हजार ६०७ वटामा लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क लगाएको पशुपंक्षी शाखा प्रमुख ध्रुवप्रसाद पराजुलीले बताए।
नगरभित्र हालसम्म ७८ वटा गाईको लम्पी स्किन रोगका कारण मृत्यु भइकेको पशुपंक्षी शाखा प्रमुख पराजुलीले बताए। नगरको सबैभन्दा बढी प्रभावित वडा नम्बर १ नगरकोटमा २५७ गाई र एक वटा भैंसी गरी २५८ वटा प्रभावित भएका ३५ वटा गाई लम्पी रोग बाट मरेका पराजुलीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !