आफन्तहरू नै ‘काल’ बनेपछि...
परासी : नवलपरासीमा गत आर्थिक वर्ष (२०७९/०८०) मा ६ वटा हत्याका घटना भएका छन् । घटनामा ७ जनाले ज्यान गुमाएका छन् । घटनामा ४ वटा हत्या परिवारकै सदस्यले गरेको पाइएको छ। सबै हत्या घटनाको कारण भने ठूलो छैन ।
अधिकांश घटना आवेग र मदिराको नशामा गरिएका छन् । घटनामध्ये दुईवटा घटना प्रेम सम्बन्धका कारण घटेका छन् । एक घटना मदिराको नशामा र अन्य दुईवटा घटना आवेग र घरायसी विवादमा भएका छन् ।
अर्को एक घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए । एक घटनाबाहेकका सबै घटनामा संलग्न मुख्य अभियुक्तहरू पक्राउ परेका छन् । उक्त एक घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेकाले मुख्य अभियुक्त पनि पक्राउ गर्नका लागि खोजी कार्य भइरहेको डीएसपी पाण्डेयले बताए ।
घटना नं. १
२०७९ मंसिर ८ गते बर्दघाट नगरपालिका–४ को एक खाजा पसलमा पुगेर दुई जनामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहार गरेकामध्ये एकजनाको मृत्यु भयो । गम्भीर अवस्थामा रहेकी पसल सञ्चालक लामो समयको उपचारपछि घर फर्किन । हत्या गर्ने बर्दघाट नगरपालिका –२ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना थिए । राति करिब ९ बजेको समयमा खाजा पसलमा पुगेका अभियुक्त रानाले पसलधनी ४२ वर्षीया विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दीलिप कुमार पुनमाथि एकाएक खुकुरी प्रहार गरेका थिए । पुनको उपचारका क्रममा मृत्युभयो । मृतक बडीघाट गाउँपालिका–४,बाग्लुङका थिए । पसल सञ्चालक विष्णुको घर पनि मृत्तककै गाउँ हो । विष्णुले बडीघाटबाट बर्दघाट आएर पसल सञ्चालन गरेकी हुन् । प्रहरीका अनुसार विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोरा कामको शिलशिलामा विदेशमा छन् । विगत ४/५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएकी हुन् । बाग्लुङको एउटै गाउँ भएकाले मृतक पुन ‘बैनी’ भन्दै बेला बखत विष्णुको पसलमा आउने गरेका थिए । प्रहरीको अनुसन्धानमा अभियुक्त रानाले विष्णुलाई मन पराउने भएकाले अर्को व्यक्ति आएर बसेको देखेपछि दुवैमाथि खुकुरी प्रहार गरेको देखिएको छ । अभियुक्तको बयानअनुसार आफ्नो प्रेम सम्बन्धकै कारण सहन नसकेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अहिले उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।
घटना नं. २
२०७९ चैत २५ गते सुनवल नगरपालिका–१ आवास मार्गमा बस्ने मोहन चौधरीले ५५ वर्षीया श्रीमती सोदली चौधरीको हत्या गरे । दैनिक मजदुरी गर्दै उनीहरुले जिविकोपार्जन गर्दै आएका थिए । सामान्य घरायसी विवादमा पनि आवेगमा आउने चौधरीले सो दिन पनि खाना पकाउने र अन्य सामान्य विवादकै कारण दाउराले हानेर श्रीमतीको हत्या गरेका हुन् । हत्याको कारण केही नभएर सामान्य घरायसी कारण रहेको प्रहरीले जनाएको छ । अहिले उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।
घटना नं. ३
२०८० जेठ १९ गते नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलकी हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरिन् । आफ्ना भारतीय साथीको सहयोगमा मोबाइलको डाटा केबलले घाँटी कसेर खाँको हत्या गरिएको थियो । हशिवुनको माइत भारत हो । हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी थिए । उनीहरु विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । साथीसँगको आफ्ना कृयाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले साथीको सहयोगमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि दुवैजना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए । हत्यालाई लुकाउन हशिवुनले आफ्ना श्रीमान हराएको भन्दै खोजीका लागि प्रहरीकहाँ निवेदन दिएकी थिइन् । अनुसन्धानपछि श्रीमती पक्राउ परिन् । अर्का अभियुक्त भने अझै फरार रहेका छन् । पक्राउ परेकी हशिवुन पुर्पक्षका लागि कारागारमा रहेको र फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना नं. ४
२०८० जेठ २३ गते नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भयो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । सामान्य प्रमाण पनि घटनास्थलबाट पाउन नसकेपछि प्रहरीलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको थियो । लामो समयसम्म पनि हत्यारा पत्ता नलागेपछि सीआईबीसहित जिल्लाको टोलीले अनुसन्धान गरेको थियो । हत्याको एक महिनापछि एकजना पक्राउ परेका छन् । उनी पुर्पक्षका लागि कारागारमा छन् । अर्का एक जनालाई पक्राउ गरी अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा ६ जना संलग्न रहेको र मुख्य अभियुक्तसहित अन्य ४ जना अझै फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या गरेपछि दम्पत्तिको शव आँगनमा ल्याएर फालिएको थियो । मृतक दम्पत्ति सामान्य खेतिपाती गर्दै आएका थिए । उनीहरूको के कति कारणले हत्या गरे भन्नेबारे मुख्य अभियुक्त पक्राउ नपरेकाले अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटना नं. ५
२०८० असार ११ गते रामग्राम नगरपालिका–११ रानीपाकड घर भएका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै आमा ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरे । जिल्लाको सुनवल नगरपालिका–१३ बिचैपुरमा उनीहरु बस्दै आएका थिए । हत्या गरेपछि अभियुक्तले आमाको शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनीहरुको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी थियो । घरमा सधैं पैसा माग्ने र सामान्य विषयमा पनि विवाद गर्ने अभियुक्तको स्वभाव थियो । अभियुक्त शिवकुमारले त्यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाडेका थिए । आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रुपमा कुटपिट गर्ने गरेका थिए । कुटपिट सहन नसकेपछि अभियुक्तकी श्रीमती माइतमा गएर बस्ने गरेको प्रहरीले जनाएको छ । त्यस दिन पनि सामान्य विषयमा आमासँग झगडा गरेर आवेगमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका अभियुक्तलाई रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको थियो । उनी अहिले पुर्पक्षका लागि कारागार थुनामा छन् ।
घटना नं. ६
२०८० असार २४ गते रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया आफ्नै भाउजु मिरा चौधरीको हत्या गरे । सन्तानमा दुई भाईमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका शिलशिलामा विदेशमा छन् । चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गराई दिएका थिए । प्रहरीकाअनुसार गाउँमै बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर आफूको विवाह गरिदिन बाबुलाई दबाब दिँदै आएका थिए । उनीहरुको अंशबण्डा भएको थिएन । जग्गा बेच्न दबाब दिएपछि बाबुले आफ्नो भागमा पर्ने अंश लिएर विवाह गर्न चन्दनलाई भन्दै आएका थिए । तर अंश नभइ संगोलकै जग्गा बेचेर विवाह गरिदिन भन्दै दिनहुँ झगडा गर्ने गरेको प्रहरीले जनाएको छ । जग्गाको विषयलाई लिएर सधैं बाबुसँग झगडा गर्ने गरेको भन्दै मृतक मिराले मोबाइलबाट आफ्ना पतिलाई खबर गरिरहेको अवस्था पछाडिबाट मोटरसाइकलको सकरले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण केही थिएन,मात्रै दाजुलाई कुरा लगाएको भन्दै उनले भाउजुको हत्या गरेको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । हत्याको कारण केही नभइ एक्कासी आवेगमा आउँदा हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनी अहिले कर्तव्य ज्यानमा पुर्पक्षका लागि कारागारमा थुनामा छन्।
हत्याबारे यसो भन्छन् डीएसपी पाण्डे
‘हत्याको पछाडि उद्देश्य हुन्छ । कुनै पनि व्यक्तिले हत्या गर्दा योजना बनाउँछ । तर,कतिपय हत्या यस्ता देखिएका छन् कुनै योजना र उद्देश्यबिहीन छन् । नवलपरासीमा भएका यी घटनामा अधिकांश उद्देश्यविहीन छन् । आवेग र नशाको झोकमा हत्या भएका छन् । घटनामध्ये ३ मात्रै उद्देश्यसहित हत्या गरेको देखिन्छ । ती घटनामा श्रीमतीले आफ्नो प्रेम सम्बन्ध श्रीमान्ले थाहा पाएपछि हत्या गरेको देखिएको छ । प्रेम सम्बन्ध बाहिर जाने र बद्नाम हुने डरले श्रीमानलाई मार्नुबाहेकको विकल्प अभियुक्तले नदेखेको देखिन्छ । उद्देश्य पूर्ति गर्नका लागि कार्य हुन्छ । पर पुरुषसँगको प्रेम सम्बन्ध बाहिर नजाओस् भन्ने उद्देश्यले पूर्व योजनाअनुसार नै श्रीमानको हत्याको कार्य भएको देखिएको छ । त्यस्तै घटना नं. १ मा प्रेम सम्बन्ध भएपनि उसले आवेगमा आएर दुईजनामाथि खुकुरी प्रहार गरेको देखिएको छ । उसले पूर्वयोजना बनाएको थिएन । आफूलाई मन पराउनेसँग आएर बसेको देखेपछि एक्कासी आवेगमा आएर हत्या गरेको उक्त घटनामा देखिएको छ । अन्य घटनाहरु आवेग र नशामा भएको देखिएको छ । माथि उल्लेख भएको प्रतापपुर दम्पत्ति घटनाको कारणबारे मुख्य अभियुक्त पक्राउ नपरेकाले खुल्न सकेको छैन । ’