आफन्तहरू नै ‘काल’ बनेपछि...

आफन्तहरू नै ‘काल’ बनेपछि...
सुन्नुहोस्

परासी : नवलपरासीमा गत आर्थिक वर्ष (२०७९/०८०) मा ६ वटा हत्याका घटना भएका छन् । घटनामा ७ जनाले ज्यान गुमाएका छन् । घटनामा ४ वटा हत्या परिवारकै सदस्यले गरेको पाइएको छ।  सबै हत्या घटनाको कारण भने ठूलो छैन । 

अधिकांश घटना आवेग र मदिराको नशामा गरिएका  छन् । घटनामध्ये दुईवटा घटना प्रेम सम्बन्धका कारण घटेका छन् । एक घटना मदिराको नशामा र अन्य दुईवटा घटना आवेग र घरायसी विवादमा भएका छन् । 

अर्को एक घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए । एक घटनाबाहेकका सबै घटनामा संलग्न मुख्य अभियुक्तहरू पक्राउ परेका छन् । उक्त एक घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेकाले  मुख्य अभियुक्त पनि पक्राउ गर्नका लागि खोजी कार्य भइरहेको डीएसपी पाण्डेयले बताए ।  

घटना नं. १ 
२०७९ मंसिर ८ गते बर्दघाट नगरपालिका–४ को एक खाजा पसलमा पुगेर दुई जनामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहार गरेकामध्ये एकजनाको मृत्यु भयो । गम्भीर अवस्थामा रहेकी पसल सञ्चालक लामो समयको उपचारपछि घर फर्किन । हत्या गर्ने बर्दघाट नगरपालिका –२ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना थिए । राति करिब ९ बजेको समयमा खाजा पसलमा पुगेका अभियुक्त रानाले पसलधनी ४२ वर्षीया विष्णु कुमारी काउछा  र कोठामा बसेका ४६ वर्षीय दीलिप कुमार पुनमाथि एकाएक खुकुरी प्रहार गरेका थिए । पुनको उपचारका क्रममा मृत्युभयो । मृतक बडीघाट गाउँपालिका–४,बाग्लुङका थिए । पसल सञ्चालक विष्णुको घर पनि मृत्तककै गाउँ हो । विष्णुले बडीघाटबाट बर्दघाट आएर पसल सञ्चालन गरेकी हुन् । प्रहरीका अनुसार विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोरा  कामको शिलशिलामा विदेशमा छन् । विगत ४/५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएकी हुन् । बाग्लुङको एउटै गाउँ भएकाले मृतक पुन ‘बैनी’ भन्दै बेला बखत विष्णुको पसलमा आउने गरेका थिए । प्रहरीको अनुसन्धानमा अभियुक्त रानाले विष्णुलाई मन पराउने भएकाले अर्को व्यक्ति आएर बसेको देखेपछि दुवैमाथि खुकुरी प्रहार गरेको देखिएको छ । अभियुक्तको बयानअनुसार आफ्नो प्रेम सम्बन्धकै कारण सहन नसकेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अहिले उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । 

घटना नं. २ 
२०७९ चैत २५ गते सुनवल नगरपालिका–१ आवास मार्गमा बस्ने मोहन चौधरीले ५५ वर्षीया श्रीमती सोदली चौधरीको हत्या गरे । दैनिक मजदुरी गर्दै उनीहरुले जिविकोपार्जन गर्दै आएका थिए । सामान्य घरायसी विवादमा पनि आवेगमा आउने चौधरीले सो दिन पनि खाना पकाउने र अन्य सामान्य विवादकै कारण दाउराले हानेर श्रीमतीको हत्या गरेका हुन् । हत्याको कारण केही नभएर सामान्य घरायसी कारण रहेको प्रहरीले जनाएको छ । अहिले उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।  

घटना नं. ३ 
२०८० जेठ १९ गते नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलकी हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरिन् । आफ्ना भारतीय साथीको सहयोगमा मोबाइलको डाटा केबलले घाँटी कसेर खाँको हत्या गरिएको थियो । हशिवुनको माइत भारत हो । हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी थिए । उनीहरु विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । साथीसँगको आफ्ना कृयाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले साथीको सहयोगमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि दुवैजना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए । हत्यालाई लुकाउन हशिवुनले आफ्ना श्रीमान हराएको भन्दै खोजीका लागि प्रहरीकहाँ निवेदन दिएकी थिइन् । अनुसन्धानपछि श्रीमती पक्राउ परिन् । अर्का अभियुक्त भने अझै फरार रहेका छन् । पक्राउ परेकी हशिवुन पुर्पक्षका लागि कारागारमा रहेको र फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

घटना नं. ४ 
२०८० जेठ २३ गते  नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भयो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । सामान्य प्रमाण पनि घटनास्थलबाट पाउन नसकेपछि प्रहरीलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको थियो । लामो समयसम्म पनि हत्यारा पत्ता नलागेपछि सीआईबीसहित जिल्लाको टोलीले अनुसन्धान गरेको थियो । हत्याको एक महिनापछि एकजना पक्राउ परेका छन् । उनी पुर्पक्षका लागि कारागारमा छन् । अर्का एक जनालाई पक्राउ गरी अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा ६ जना संलग्न रहेको र मुख्य अभियुक्तसहित अन्य ४ जना अझै फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या गरेपछि दम्पत्तिको शव आँगनमा ल्याएर फालिएको थियो । मृतक दम्पत्ति सामान्य खेतिपाती गर्दै आएका थिए । उनीहरूको के कति कारणले हत्या गरे भन्नेबारे मुख्य अभियुक्त पक्राउ नपरेकाले अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । 

घटना नं. ५ 
२०८० असार ११ गते रामग्राम नगरपालिका–११ रानीपाकड घर भएका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै आमा ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरे । जिल्लाको सुनवल नगरपालिका–१३ बिचैपुरमा उनीहरु बस्दै आएका थिए । हत्या गरेपछि अभियुक्तले आमाको शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनीहरुको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी थियो । घरमा सधैं पैसा माग्ने र सामान्य विषयमा पनि विवाद गर्ने अभियुक्तको स्वभाव थियो । अभियुक्त शिवकुमारले त्यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाडेका थिए । आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रुपमा कुटपिट गर्ने गरेका थिए । कुटपिट सहन नसकेपछि अभियुक्तकी श्रीमती माइतमा गएर बस्ने गरेको प्रहरीले जनाएको छ । त्यस दिन पनि सामान्य विषयमा आमासँग झगडा गरेर आवेगमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका अभियुक्तलाई रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको थियो । उनी अहिले पुर्पक्षका लागि कारागार थुनामा छन् । 

घटना नं. ६ 
२०८० असार २४ गते रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया आफ्नै भाउजु मिरा चौधरीको हत्या गरे । सन्तानमा दुई भाईमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका शिलशिलामा विदेशमा छन् । चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गराई दिएका थिए । प्रहरीकाअनुसार गाउँमै बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर आफूको विवाह गरिदिन बाबुलाई दबाब दिँदै आएका थिए । उनीहरुको अंशबण्डा भएको थिएन । जग्गा बेच्न दबाब दिएपछि बाबुले आफ्नो भागमा पर्ने अंश लिएर विवाह गर्न चन्दनलाई भन्दै आएका थिए । तर अंश नभइ संगोलकै जग्गा बेचेर विवाह गरिदिन भन्दै दिनहुँ झगडा गर्ने गरेको प्रहरीले जनाएको छ । जग्गाको विषयलाई लिएर सधैं बाबुसँग झगडा गर्ने गरेको भन्दै मृतक मिराले मोबाइलबाट आफ्ना पतिलाई खबर गरिरहेको अवस्था पछाडिबाट मोटरसाइकलको सकरले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण केही थिएन,मात्रै दाजुलाई कुरा लगाएको भन्दै उनले भाउजुको हत्या गरेको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । हत्याको कारण केही नभइ एक्कासी आवेगमा आउँदा हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनी अहिले कर्तव्य ज्यानमा पुर्पक्षका लागि कारागारमा थुनामा छन्। 

हत्याबारे यसो भन्छन् डीएसपी पाण्डे

‘हत्याको पछाडि उद्देश्य हुन्छ । कुनै पनि व्यक्तिले हत्या गर्दा योजना बनाउँछ । तर,कतिपय हत्या यस्ता देखिएका छन् कुनै योजना र उद्देश्यबिहीन छन् । नवलपरासीमा भएका यी घटनामा अधिकांश उद्देश्यविहीन छन् । आवेग र नशाको झोकमा हत्या भएका छन् । घटनामध्ये ३ मात्रै उद्देश्यसहित हत्या गरेको देखिन्छ । ती घटनामा श्रीमतीले आफ्नो प्रेम सम्बन्ध श्रीमान्ले थाहा पाएपछि हत्या गरेको देखिएको छ । प्रेम सम्बन्ध बाहिर जाने र बद्नाम हुने डरले श्रीमानलाई मार्नुबाहेकको विकल्प अभियुक्तले नदेखेको देखिन्छ । उद्देश्य पूर्ति गर्नका लागि कार्य हुन्छ । पर पुरुषसँगको प्रेम सम्बन्ध बाहिर नजाओस् भन्ने उद्देश्यले पूर्व योजनाअनुसार नै श्रीमानको हत्याको कार्य भएको देखिएको छ । त्यस्तै घटना नं. १ मा प्रेम सम्बन्ध भएपनि उसले आवेगमा आएर दुईजनामाथि खुकुरी प्रहार गरेको देखिएको छ । उसले पूर्वयोजना बनाएको थिएन । आफूलाई मन पराउनेसँग आएर बसेको देखेपछि एक्कासी आवेगमा आएर हत्या गरेको उक्त घटनामा देखिएको छ ।  अन्य घटनाहरु आवेग र नशामा भएको देखिएको छ । माथि उल्लेख भएको प्रतापपुर दम्पत्ति घटनाको कारणबारे मुख्य अभियुक्त पक्राउ नपरेकाले खुल्न सकेको छैन । ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.