पहिरोको जोखिमले गोरखा खानीगाउँका २६ घर विस्थापित
गोरखा : केहीदिनअघि आएको अविरल वर्षापछिको पहिरोले धार्चे ७ खानीगाउँका २६ घर विस्थापित भएका छन्। घर बस्न नमिल्ने गरी चर्किएका कारण गैरीगाउँ टोल र काफलगाउँ टोलका घरका बासिन्दा विस्थापित भएका स्थानीय पन्दुर गुरुङले जानकारी दिए।
‘विस्थापित भएकाहरु कोही स्कूल टोलतिर आफन्तको घरमा शरण लिएर बसेका छन्, कोही गोठमा बस्छन्, कोही त्रिपाल टाँगेर बसेका छन्’, वडा सदस्य समेत रहेका गुरुङले भने, ‘२६ वटा घर बस्न लायक छैन। कुनैको ढोका खोल्न, लाउन मिल्दैन, कुनै ढलक्क ढल्किएको छ। कुनैको घरभित्र र गारोमा ठूलो चिरा परेको छ।’ अहिले बर्षा रोकिए पनि फेरि पार्न पर्न थालेपछि यी घरहरु ढल्ने उनको अनुमान छ।
जोखिम घरका बासिन्दाले घरभित्रका सरसामान बाहिर निकालेर राखेका छन्। कुनै पनि बेला घर पहिरिन सक्ने खतराले गर्दा सामान निकालेर बाहिर राखेका अर्का स्थानीय छमबहादुर गुरुङले बताए। ‘जमिन पूरै चिरा–चिरा परेको छ। घरको पनि जताततै चिरा परेको छ’, उनी भन्छन्, ‘गाउँपालिकाले १२ थान त्रिपाल दिएको छ। अब १२ घरचाहिँ त्रिपालमा बस्छन्। अरुचाहिँ आफन्तहरुको घरमा बसेका छन्।’ भूकम्पअघि सुरक्षित नै रहेको सो गाउँ भूकम्पपछि जोखिम हुन थालेको हो। ‘भूकम्पपछि हाम्रो गाउँको ४०, ४५ घर पहिरोले लगिसकेको छ। उनी बिस्तापित भएर गाउँभन्दा माथि वनको छेउको सुरक्षित जमिनमा बसेका छन्’, उनले भने।
पहिरोको जोखिम भएपछि धार्चे गाउँपालिकाकी उपप्रमुख सुनिला गुरुङले सो जोखिम गाउँको निरीक्षण गरी फर्केकी छिन्। उनले सो गाउँलाई अन्यत्र सार्नुपर्ने सुझाव दिएकी छिन्। ‘भूकम्प र पहिरोले घर भत्किएपछि गाउँलेहरु सरेर अलिक माथि बसोबास गरेका थिए। त्यहाँ नयाँ बनेको घर पनि अहिले चिराचिरा भएर बस्न नमिल्ने भएपछि गाउँलेलाई असाध्यै समस्या भएको छ’, गुरुङ भन्छिन्, ‘अब उनीहरुलाई स्थानान्तरण गर्नुको बिकल्प छैन। हामी अहिले तत्काल गाउँलेलाई कसरी सुरक्षित गर्ने भनेर अल्पकालीन योजना बनाउँदैछौँ। दीर्घकालीन समाधान पछि गर्नेछौँ।’
खानीगाउँ जोखिम भएपछि केही वर्षअघि गाउँपालिकाले उनीहरुलाई सदरमुकाम आसपास जग्गा खोजेर पुनस्थापित गर्ने प्रयास गरेको थियो। तर ओत लाग्ने घर मात्र भएर नपुग्ने, गरिखाने जमिन पनि चाहिने भनेर गाउँलेले माग राखेपछि सो प्रक्रिया रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस !