पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय
सुन्नुहोस्

मुगु : गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो। 

गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरू अहिले घरबिहीन भएका छन्।

वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन्। 

पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिराको डरले उनीहरू नसुतेर रात कटाउने गरेका हुन्।

'नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो। अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौं। यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्', स्थानीय कृष्ण रावलले भने, 'अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन।' 

उनका अनुसार यहाँ एक सय २० घरधुरी छन्। 'पूर्खाहरू यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पहराबाट पहिरो आएको थिएन। गत असोजमा परेको अविरल वर्षाले पहिरो पनि आयो, धेरैका घरमा क्षति पनि पुर्‍यायो', ढुमा गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भने, 'यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ। पानीका मूल घरभित्र देखिन थालेका छन्।' 

अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको भन्दै बस्नका लागि सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनुपर्ने बाध्यता रहेको उनले बताए।

आज बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेत लगायतको टोलीले पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका थिए। 

उक्त टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाका बारेमा जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राखेका थिए। स्थलगत अवलोकनका क्रममा उपप्रमुख कार्की, प्रजिअ थापा लगायतले यहाँका अधिकांश घरहरू पहिराको जोखिममा रहेको पाइएको बताएका थिए।। 

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उनीहरूको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.