सोलुखुम्बुको बोल्दो पुलमा पहाडसहितको पहिरो खस्यो : बेनी हाइड्रोमा क्षति, बस्तीमा सन्त्रास!

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोमा गएको पहिरोका कारण बेनी हाइड्रोपावरको संरचनामा क्षति पुगेको छ। शनिबार राती बोल्दो पुल छेउमा माथिबाट पहाडसहित खसेको पहिरोका कारण १९.८ मेगावाटको बेनी हाइड्रोपावरको ट्रान्समिसन लाइनमा क्षति पुगेको हो।
पहिरोले हाइड्रोपावरको ट्रान्समिसन लाइनको एक नम्बर टावर नै क्षतिग्रस्त बनेको आयोजनाका प्लान्ट म्यानेजर देवदत्त दुवेदीले जानकारी दिए। उनका अनुसार ठूला ढुंगासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ।
साथै पहिरोका कारण सल्लेरी–तामाखानी सडक अन्तरगत बोल्दो स्थित सोलुखोला माथिको मोटरेबल पक्की पुलमा समेत क्षति पुगेको छ भने आवतजावत ठप्प बनेको छ। सडकको माथिल्लो भागबाट पहाडसहित झरेको पहिरोले पैदल यात्रा गर्न नमिल्ने गरी सडक अवरुद्ध भएको छ।
पुलमा तामाखानी तर्फको भागमा क्षति पुगेको सोलुदुधकुण्ड नगरपालिका ३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए। रातको समयमा पहाडसहित पहिरो खसेपछि बोल्दो क्षेत्रका बासिन्दामा सन्त्रास फैलिएको स्थानीय दावा तामाङले उल्लेख गरे।
पहिरोले बोल्दो क्षेत्रको घरहरुमा कम्पन सृजना गरेपछि स्थानीयबासीमा भागाभागकै स्थिति सृजना भएको स्थानीयले बताएका छन्। साथै माथिबाट झरेको ठूलो ढुंगा सोलुखोला छेउमै रहेको बेनी हाइड्रोपावरको ट्रान्समिसन लाइनको टावरमा नरोकिएको भए सोलुखोला नै थुन्न सक्ने सम्भावना रहेको तामाखानीका शन्तबहादुर मगर(र्याबिट)को भनाइ छ।
खोला थुनिएको खण्डमा बोल्दो क्षेत्रका करिब १० घर परिवार डुबानमा पर्न सक्ने सम्भावना रहेको मगरले बताए। पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाकै प्रसिद्ध धार्मिक स्थल तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ। मन्दिरमा दैनिक दर्जनौंको संख्यामा भक्तजनहरु पुग्ने गरेको भए पनि पहिरोले समस्या सृजना गरेको पुजारी वीरबहादुर मगरले बताए।
साथै मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक बैकल्पिक रुपमा प्रयोग गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
