मुस्ताङको बाढी : जलवायु परिवर्तनको असर हो ?

मुस्ताङको बाढी : जलवायु परिवर्तनको असर हो ?

काठमाडौं : मुस्ताङमा गत साता २५.४ मिलिमिटर वर्षा भयो। उक्त वर्षाले विपद् नै ल्यायो। तर, विगतमा पनि २५ मिलिमिटर पानी पथ्र्यो। यसपटक मात्रै वर्षाबाट धेरै क्षति भएको जानकारहरू बताउँछन्। भूवनोटका कारण मुस्ताङमा २५ मिलिलिटर पानी पर्नु भनेको धेरै भएको विज्ञहरूको तर्क छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्, सुदर्शन हुमागार्इं भन्छन्, ‘पहिला पनि धेरैपटक २५ मिलिमिटरभन्दा धेरै पानी परेको तथ्यांक विभागसँग छ।’

हुमागाईंका अनुसार वास्तविकता बुझ्नका लागि विभागसँग उपल्लो मुस्ताङतिर स्टेसनहरू छैनन्। जोमसोममा एउटा र तिब्बतको सिमाना छोसेरमा अर्को एउटा स्टेसन छ। उक्त समयमा जोमसोमको डाटाअनुसार २५.४ मिमि पानी देखाएको छ। तर, छोसेरको डाटामा २०.१ मिमि छ। ‘विगतमा जे जस्तो भए पनि एकैदिन यतिको पानी पर्नु धेरै हो। विभागका अनुसार अगस्ट महिनाको सरदर वर्षा ४० मिमि हो। र, हाराहारीमा ३९.२ हुन्छ’ हुमागाईंले थपे, ‘महिनाभरी पर्ने पानी ३९.२ मिमि हुँदा एकदिनमा २५ मिमि पानी पर्नु धेरै हो।’ 

माथि खोला थुनिएर पानी जमेर एक्कासि बाढी आएको भनिएको छ। त्यस्ता ठाउँका लागि उक्त पानी जम्मा हुनलाई २५ मिमि वर्षा पर्याप्त भएको हुमागाईँ बताउँछन्। जोमसोमको वार्षिक रेकर्डअनुसार त्यहाँ सरदर २९२ मिमि वर्षा हुन्छ। मुस्ताङ कम पानी पर्ने ठाउँ हो। उनले गतवर्ष मनाङमा आकस्मिक बाढी आएको र त्यहाँ दुई/तीन दिनमा ८० मिमि वर्षा भएको जनाए। गत साता तिब्बती सिमानानजिकै रहेको छोचेरको तथ्यांक हेर्दा पनि १२ तारिखमा ९.२ मिमि र १३ तारिखमा २०.१ मिमि वर्षा भएको छ। दुईदिनको वर्षा २९.३ मिमि हुन्छ। त्यसैले त्यो वर्षालाई धेरै मानिएको उनले बताए। 

हुमागाईंले भने ‘भारी पानी परेर खोला थुनिँदा आकस्मिक बहाबले बाढी ल्याएको हो। तर, यतिकै मात्रामा पानी पहिला परेकै थियो,’ उनले थपे।

वरिष्ठ मौसमविद्, बरुण पौडेलका अनुसार प्रारम्भिक अध्ययनमा थोरै वर्षा पनि भूवनोटका कारण समस्या बन्ने देखिएको छ। उनले भने, ‘त्यस्ता ठाउँमा तुरुन्त डीब्रिज बगाउने हुन्छ। त्यहाँ हिलो माटो बगायो। किनभने रूख बिरुवा छैन। जंगल, घाँसेमैदान नभएर मरुभूमि जस्तो भएकाले यस्तो परिणाम आएको अनुमान गरेका छौं।’ 

सबै विपदका घटनामा जलवायु परिवर्तनको असर भन्नलाई ठोस अध्ययन चाहिने जलवायु विज्ञ तथा वरीष्ठ मौसमविद् अजय दिक्षित बताए।

‘मुस्ताङ, मनाङ, जुम्ला, डोल्पा जस्ता ठाउँका धरातलका कारण भारी वर्षाले बिगार गर्ने कुरा सत्य हो। तर त्यहाँ कस्ता खालका हस्तक्षेप भएका छन् हेर्न आवश्यक छ।’

तर जलवायु परिवर्तनले भारी वर्षा भयो भन्नु वैज्ञानिक रुपमा अर्थपूर्ण नहुने बताए। जलवायु परिवर्तनको हकमा तापक्रम वृद्धिको घटना र वर्षाको हकमा ‘इन्फ्लुएन्स’ देखिएको पक्का हो। 

तर एक पटक पानी परेको घटनालाई लिएर मात्रै जलवायुले भएको भन्ने विज्ञान नभएको बताए। ‘यस्ता विषयमा गहन अध्ययन हुनुपर्छ। विज्ञानले सावित गर्नुपर्छ।’

उनका अनुसार चौबीस घण्टामा यहाँ २५ मिमि पानी पर्नु भनेको धेरै हो। विस्तृतमा अझै अध्ययन भएको छैन। प्रारम्भिक अध्ययनमा पानी धेरै पर्दा एक्कासि त्यसले खहरे ल्याएको अनुमान गरेको उनले बताए। त्यहाँको माटो थोरै मात्र पानी पर्दा बगीहाल्ने खालको भएको उनले बताए। खोला थुनिएर एकैपटक आएको पानी माथिबाट आउँदा हिलो माटो जम्मा हुँदै, ड्याम बनेर ह्वात्तै फुट्दा पनि यस्तो बाढी आउने उनले बताए। पौडेलले भने, ‘पानी पर्ने शैली बदलिएको छ। खडेरी हुने, ह्वार्रर पानी आउने शैलीहरू देखिएको छ।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.