३२ सिटेको कामले ८० सिटेलाई बसिखानु भएको छैन : प्रधानमन्त्री दाहाल
वीरेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहालले ३२ सिटे माओवादी नेतृत्वको सरकारले गरेका कामले ८० सिटेलाई बसिखानु नभएको बताएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस-एमालेतिर इंगित गर्दै यस्तो बताएका हुन्।
उनले भने, 'कमरेडहरू ३२ सिटेले नेतृत्व गरेको सरकारले गरेका कामले ८० सिटेलाई बसिखानु भएको छैन। यसमा हामीले गर्व गर्नुपर्छ। सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध कडारूपमा प्रस्तुत भएपछि यसलाई रोक्न देशी विदेशी चलखेलहरू भएका छन्। यसप्रति हामी सजग भएर काम गर्नुपर्ने बेला आएको छ,' उनले भने।
सरकारले सुशासन कायम गर्न र आर्थिक समृद्धिको जनताको सपना पूरा गर्न कुनै कसुर बाँकी नराख्ने बताए। 'यसमा ढुक्क हुनुस्। तपाईंहरू सरकारले गरेका कामको विषयमा प्रचार गर्दै जनतामा जानुस्,' उनले भने।
प्रधानमन्त्रीले सबै माओवादी नेता तथा कार्यकर्तालाई गाँउ-गाँउमा गएर घर-घरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहितको तीन महिने अभियान सफल पार्न निर्देशन दिएका थिए। माओवादी प्रदेश कमिटी सदस्य खेमबहादुर सिंहका अनुसार प्रधानमन्त्री दाहालले चीन भ्रमणसँगै कर्णाली समृद्धिको मेरुदण्ड सुर्खेत हिल्सामा ब्रेक थु हुने घोषणा गरे उनले कर्णालीको विकास र समृद्धिको लागि चीन सरकारको सहयोग लिने संकेत गरे।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले बंगलादेश र भारतबीच १० हजार मेगावाटबाट त्रिदेशीय व्यपार सम्झौता हुनु पनि सरकारको ठूलो उपलब्धि भएको बताए। वैदेशिक रोजगारीमा रहेका झण्डै ४ लाख नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिएको भन्दै यसलाई सरकारको अर्को महत्वपुर्ण उपलब्धि भएको उनको भनाइ छ।