मोरङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु
![मोरङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Cy5gWmuBex_GS6H1hhRpt.jpg)
विराटनगर : मोरङको बूढीगंगामा मंगलबार दिउँसो स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको हो।
स्कुल विराटनगरको हो। बसको ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देश सुनामको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।
चिकित्सकले दिउँसो ४:४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ।
स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ का ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए। सेन्ट म्यारिजले भानु स्कुलको बस भाडामा लिएर विद्यार्थी ओसारपसार गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)