कागखोला बाढीले कृषकको करोडौंको स्याउबारीमा क्षति

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा गत साउन २८ गतेको बाढीले करोडौंको स्याउबारीसहित सिँचाइ कुलोमा क्षति पुगेको छ।
गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायद्वारा एकिन गरिएको विस्तृत कृषि क्षति तथ्यांकमा कागबेनी गाउँले कृषकको करोडौं बराबरको स्याउ, खुर्पानी, ओखर र नास्पाती लगायतका फलफूल बोट क्षति हुनुका साथै सिँचाइ कुलो र खेतीयोग्य जमिनमा क्षति पुगेको हो।
कागखोलाको भीषण बाढीले करिब डेढ दर्जन कृषकको ११ रोपनी ३ कठ्ठा क्षेत्रफल भन्दा बढीमा लगाइएको फलदिने करिब १ सय ६९ वटा भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ। बाढीले कृषकको फल नलाग्ने ५ वटा स्याउ बिरुवामा पनि क्षति पुगेको कषि शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिए।
वारागुङ-४ कागबेनीका स्थानीय कृषक मिङमर गुरुङको ४५ वटा स्याउ बोट नर्सरी पनि बाढीले बगाएको पालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको शाखा धामीको भनाइ छ। यसैगरी कागखोलाको बाढीले फलदिने ७१ वटा भन्दा बढी खुर्पानीको बोट नष्ट भएको छ।नासपतीको १ विरुवा बाढीले क्षति पुर्याएको उनले बताए।
कागखोलाको बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ ,पेमा निङ्वो बिष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको हो। उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको हो। कृषि शाखा प्रमुख धामीको भनाई छ।उनका अनुसार कागखोलाको बाढीले स्याउ लगायतका कृषि उत्पादन हुने खेती योग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ।
बाढीले ५ देखि ७ हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ गाउँले कुलोमा क्षति पुगेको हो। गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ।
यसैगरी केशर गुरुङसहित ६ जना कृषकको ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलो बाढीले बगाएको शाखा प्रमुख धामीले बताए।
यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्थानीय कृषकलाई अनुदान सहुलियतमा उपलब्ध गराएको खेतबारी जोत्ने ९ वटा हाते ट्याक्टर समेत बाढीले बगाएको कृषि शाखा प्रमुख धामीले जनाए।
प्रतिक्रिया दिनुहोस !
