कांग्रेसका ७ नेताले भने : चर्चित भ्रष्टाचार काण्ड अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवाले आशंका जन्मायो

कांग्रेसका ७ नेताले भने : चर्चित भ्रष्टाचार काण्ड अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवाले आशंका जन्मायो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सात नेताले चर्चित भ्रण्टाचारका काण्ड अनुसन्धान अघि बढाइरहेका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन्। कांग्रेस रुपान्तरण अभियानको नाममा क्रियाशील रहेको कांग्रेसका युवा नेताको समूहले प्रहरी अधिकारीलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको बताएका हुन्। 

नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, डा. गोविन्दराज पोखरेल,  रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरतबहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर नागरिक तहमै गम्भीर प्रश्न उठेपनि यो आशंका मात्र हो भनेर राज्य पन्छिन नमिल्ने तर्क गरेका छन्। कांग्रेस नेताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तह मै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।’ 

मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेपछि उनीहरुले आपत्ति जनाएका हुन्। 

‘पछिल्ला विकसित राजनीतिक घटनाक्रमहरुका कारण नेपालको वर्तमान परिस्थिति थप पेचिलो बन्दै गएको छ । मुलतः लोकतान्त्रिक शासन प्रणालीलाई सबल तथा सफल बनाउने आधार भनेकै सुशासन हो। सुशासनलाई सुनिश्चित गर्ने प्रमुख विषय भ्रष्टाचारको नियन्त्रण हो। नेपाल उँभो नलाग्नुमा अनियन्त्रित भ्रष्टाचार नै हो । तसर्थ अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास जग्गा काण्ड तथा क्वीण्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाई सरकारले तार्किक निष्कर्षमा पुर्‍याउनुपर्छ ।’विज्ञप्तिमा भनिएको छ।

कुनै पनि बहानामा यसमाथि भइरहेको अनुसन्धान प्रभावित हुनु वा रोकिनु नहुने बताउँदै भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता  कदापि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । ‘भ्रष्टाचारसम्बन्धी यति, ओम्नी, वाइडबडी, फोर जी, सेक्युरिटी प्रिंटिंग प्रेसलगायतका सम्पूर्ण फाइल खोली अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइनुपर्दछ तथा यस कदममा वर्तमान सरकारलाई नेपाली कांग्रेसले पूर्ण रुपमा साथ सहयोग पुर्‍याउनुपर्दछ भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।’विज्ञप्तिमा भनिएको छ,‘यसैबीच विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तह मै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।’

कांग्रेस सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल साबित र पार्टी चलाउँदा पनि विधि र पद्धतिको पूर्ण पालना गर्नुपर्ने उनीहरुको माग छ।
    
यसैगरी नेपाली कांग्रेसले भर्खरै गठन गरेका भ्रातृसंगठनहरुको हकमा बिधानको गम्भीर उल्लंघन भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ,‘खासगरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको वैधानिक व्यवस्था विपरीत भिमकाय तदर्थ समिति गठन गरिएकोमा हाम्रो आपत्ति छ। यसैबीच नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिले विभिन्न जिल्लामा कार्यरत पुराना तथा निर्वाचित सभापतिहरुलाई अपदस्थ गरेको खबर प्राप्त भएका छन। जिल्लामा काम गरिरहेका साथीहरुलाई हतोत्साहि तुल्याउने, संगठनलाई कमजोर बनाउने यसप्रकारको निर्णय अविलम्ब फिर्ता लिन तथा पार्टीले तोकेको समयसीमा भित्र महाधिवेशन सम्पन्न गर्नेतर्फ केन्द्रित रहन स्पष्ट निर्देशन दिनुपर्दछ भन्ने हाम्रो आग्रह छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.