बेचबिखनको जोखिममा कर्णालीका बालबालिका
वीरेन्द्रनगर : कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन्। प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो।
कर्णालीमा कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ। गाउँमा बालबालिकालाई गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन्।
प्रदेश प्रहरी कार्यालयअनुसार ६ वर्षको अवधिमा कर्णालीका ३५ जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन्। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा सुर्खेतका मात्रै १४ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन्।
यो अवधिमा सल्यान, हुम्ला, कालिकोट, रुकुम पश्चिम, जुम्ला, दैलेखमा गरी २१ जनाको बेचबिखन भएको हो। यो तथ्यांक प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो। हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइपुग्दैन।
केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने समेत गरिएको छ।
छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरूले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेका छन्। परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेका हुन्। विभिन्न अध्ययनअनुसार हातहतियार र लागूपदार्थ ओसारपसारपछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्छ। यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ। त्यसबाट कर्णाली पनि अछुतो छैन।
गरिबी, सूचनाको अभाव, लैंगिक हिंसा, महत्वकांक्षा जस्ता कारणले मानिस बेचबिखनको जोखिममा छन्। अधिवक्ता दुर्गाप्रसाद सापकोटाले भने, यसलाई न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन। कुनै पनि व्यक्तिलाई जबर्जस्ती तथा धोखाद्वारा शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्य मानव बेचबिखन तथा ओसारपसार हो।
पहिले देहव्यापार गराउन नेपाली महिला मानव बेचबिखन तथा ओसारपसारको सिकार हुन्थे। अहिले अपराधीको मनसाय त्यत्तिमा मात्र सीमित छैन। चेली वा बालबालिका मात्र नभई अब जो–कोही बेचबिखन तथा ओसारपसारबाट प्रभावित हुन सक्छन्। यसको मतलव हो, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति र यसका कारण पनि परिवर्तन भइरहेका छन्। यसले प्रभावितहरूको क्षेत्र पनि फराकिलो बनाएको छ।
बालअधिकारकर्मी बाले विश्वकर्माले भने, आफन्तबाटै बेचिएर उद्धार गरी ल्याइएका मध्ये पनि अधिकांशले प्रहरीमा उजुरी दिन सक्दैनन्। धेरै मुद्दा त गाँउमै सामसुम हुन्छन्। कानुनी निकायमा पुग्दै पुग्दैनन्। कर्णालीमा प्रायः बालबालिकाहरू बेचबिखनको जोखिम बढी छ। मुलुक संघीय संरचनामा गएको छ। हरेक स्थानीय सरकारले मानव बेचबिखनबारे विशेष अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रममै समावेश गर्न सक्छन्। यसका लागि संघीय सरकारले सहजकर्ताको भूमिका खेल्ने हो भने मानव बेचबिखन निरूपणका लागि अर्को प्रभावकारी कदम हुन सक्छ। तर त्यसो भएको छैन।
यसरी कर्णाली प्रदेशमा हराउने बालबालिकाको संख्या ठूलो छ। प्रदेशका सबैजसो जिल्लामा बालबालिका हराउने क्रम बर्सेनि बढ्दो क्रममा देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीमा १ हजार ३ सय ५९ जना बालबालिका हराएका छन्। त्यसमध्ये एक हजार ३९ जना बालबालिका भेटिएका छन् भने एक सय ४७ जना फेला भेटिएका छैनन्। हराउनेमा बालक भन्दा बालिकाको संख्या बढी छ। यस अवधिमा ६ सय ६७ जना बालिका र पाँच सय ५८ बालक हराएको प्रहरीले जनाएको छ।
आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको छ। कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय छ। प्रहरीका अनुसार कतिपय बालबालिका हराएको अभिभावकले प्रहरीमा जानकारी गराए पनि भेटिएपछि खबर नगर्दा हराउने र भेटिनेको संख्या यकिन गर्न भने कठिनाइ छ। प्रहरीले उजुरीका आधारमा बालबालिकाको खोजतलास गर्दै आएको छ।
कर्णालीमा आर्थिक वर्ष २०७६/०७७ मा ३ सय २८ जना बालबालिका हराएका थिए। तीमध्ये १ सय ६२ बालक र १ सय ६६ जना बालिका हुन्। त्यसमध्ये १ सय ५१ बालक र १ सय ५१ जना बालिका फेला परेको प्रहरीको तथ्यांक छ।
उक्त आर्थिक वर्षमा हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन्। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २ सय २५ बालबालिका हराएका थिए। जसमा बालक ८५ जना हराएका थिए भने बालिका १ सय ४० हराएका थिए। जसमा ७५ बालक फेला परेका छन्। भने एक सय १० बालिका फेला परेका छन्। १० जना बालक र ३० जना बालिका अझै भेटिएका छैनन्।
आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ८ जना बालबालिका हराएका थिए। १ सय ५३ बालक र २ सय ५५ जना बालिका हराएकोमा १ सय ३१ बालक र २ सय ३४ बालिका फेला परेका छन्। २१ जना बालिका र २५ जना बालक अझै भेटिएका छैनन्।
आर्थिक वर्ष २०७९/८० को हालसम्म २ सय ४२ जना बालबालिका हराएका छन्। त्यसमध्ये ८० जना बालक र १ सय ६२ जना बालिका रहेका छन्। जसमध्ये १० जना बालक भेटिएका छन् भने २० जना बालिका भेटिएका छन्। हराएका बालबालिकाको तथ्यांक हेर्ने हो भने कर्णालीका १० वटा जिल्ला मध्ये सबैभन्दा धेरै सुर्खेतमा बालबालिका हराउने दर बढी रहेको छ।
गरिब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकहरूले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको पाइएको छ। हराउनेमा अधिकांश अतिविपन्न परिवारका बालबालिका रहेका छन्।
प्रतिक्रिया दिनुहोस !