गोरखाको दुर्गममा खाद्य बिक्री केन्द्र
गोरखा : गोरखाको सबैभन्दा दुर्गम क्षेत्रमा खाद्य बिक्री केन्द्र स्थापना गरिएको छ। स्थानीयवासीको माग र आवश्यकताका आधारमा सरकारले यसवर्षदेखि उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य बिक्री केन्द्र स्थापना गरी त्यहाँबाट ढुवानी अनुदानको चामल वितरण सुरु गरेको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चुमनुब्री गाउँपालिका ४ नाम्रुङ र वडा नं. ६ चुम्लिङमा बिक्री केन्द्र स्थापना गरेर गत जेठबाट सहुलियतको चामल बिक्री वितरण सुरु गरेको जनाएको छ। नुब्री उपत्यकाको सामागाउँ, ल्हो र प्रोकका लागि नाम्रुङबाट र चुम उपत्यकाको चुम्लिङबाट चुम्चेत र छेकम्पारका लागि चामल बिक्री गर्न सुरु गरेको कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए।
वडा नं. १ मा जनसंख्या ५ सय २५, वडा नं. २ मा ५ सय १४ र वडा नं. ४ को जनसंख्या ४ सय ७३ रहेको छ। त्यस्तै वडा नं. ६ मा ८ सय ५ र वडा नं. ७ को जनसंख्या ८ सय १२ रहेको छ। वडा नं. ३ र वडा नं. ५ का लागि भने कम्पनीको फिलिमस्थित डिपोबाट चामल वितरण हुने गरेको छ।
कम्पनीको गोरखा सदरमुकामस्थित कार्यालयका अनुसार गत जेठ महिनामा नाम्रुङका लागि पाँच सय क्विन्टल स्वीकृत भएकामा ४ सय ९० क्विन्टल बिक्री वितरण गरिएको थियो भने चुम्लिङका लागि स्वीकृत पाँच सय क्विन्टलमध्ये ४ सय २९ क्विन्टल वितरण भएको थियो। दुवै बिक्री केन्द्रका लागि यस वर्ष पनि पाँच–पाँच सय क्विन्टल चामल स्वीकृत भएको सूचना अधिकारी सुनारले जानकारी दिए। नाम्रुङ, चुम्लिङमा डिपो नभएको र बिक्री केन्द्रमात्र भएकाले ठेकेदार वा ठेकेदारको प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा चामल बिक्री हुने गरेको छ। डिपो नभएकाले त्यहाँ चामल सञ्चित गरेर नराखिने सुनारले जानकारी दिए। चामल बिक्री भएपछि वडाको सिफारिसको आधारमा ठेकेदारले कम्पनीको कार्यालयबाट भुक्तानी लैजाने व्यवस्था रहेको उनले बताए।
फिलिम डिपोबाट सामागाउँ, साम्दो तथा छुले, निलेसम्मका बासिन्दालाई चामल वितरण गर्न सम्भव नभएकाले आधा बाटो पर पर्ने ती दुई ठाउँमा बिक्री केन्द्र स्थापना गरिएको हो। यसअघि स्थानीयवासीले माछाखोला डिपोसम्म बाह्रैमहिना गाडी चल्न सक्ने र त्यहाँ खाद्य कम्पनीको चामल बिक्री नहुने भएकाले माछाखोला हटाई आफूहरूलाई पायक पर्ने ठाउँमा डिपो कायम गरिदिन माग गरेका थिए। माछाखोलाका लागि गत आर्थिक वर्ष स्वीकृत पाँच सय क्विन्टल चामल पनि बिक्री नभएको कम्पनीले जनाएको छ।
सरकारले तत्कालका लागि डिपो राख्न नसके पनि बिक्री केन्द्रमार्फत सेवा दिएको हो। यस वर्ष सिर्दिबास डिपोका लागि दुई हजार क्विन्टल चामल स्वीकृत भएको छ। ‘जसमध्ये गोरखा शाखाबाट एक हजार र विमलनगरबाट एक हजार क्विन्टल चामल फिलिम डिपोका लागि स्वीकृत भएको छ’, उनले भने, ‘माछाखोला डिपोका लागि पाँच सय क्विन्टल, चुम्लिङ बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल र नाम्रुङ बिक्री केन्द्रका लागि पनि पाँच सय क्विन्टल स्वीकृत भएको छ।’ चामल ढुवानीका लागि कम्पनीको प्रधान कार्यालयबाट गत साउन २१ गते टेन्डर आह्वान भइसकेको र कम्पनी छनोटको चरणमा रहेको उनले बताए।
यसअघि गत आर्थिक वर्ष सिर्दिबास डिपोका लागि ३ हजार ६ सय ७५ क्विन्टल, माछाखोलाका लागि पाँच सय क्विन्टल स्वीकृत भएको थियो। माछाखोलाका लागि भने जम्मा ६५ क्विन्टल मात्र ढुवानी भएको कार्यालयले जनाएको छ। हाल गोरखा शाखामा ढुवानी अनुदानको चामल ६ सय क्विन्टल मौज्दात रहेको कार्यालयले जनाएको छ।
सरकारीको ढुवानी अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हिमाल पारिको चुमनुब्री गाउँपालिकाका गाउँबस्तीहरूमा चामल उपलब्ध गराउने गरेको छ। जसअनुसार गोरखा शाखामा पाइने मूल्यमा सबैभन्दा सुदूरको नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा चामल पाइन्छ। कम्पनीले ती डिपो तथा बिक्री केन्द्रहरूमा पनि सोना मन्सुली चामल प्रतिकिलो ५६ रुपैयाँमा, स्टिम जिरा चामल प्रतिकिलो ८८ रुपैयाँमा, उपलब्ध गराउने गरेको छ।
प्रतिक्रिया दिनुहोस !