लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेल विभाजित, प्रदेश अधिवेशनमा दुई पक्षीय भीडन्त
![लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेल विभाजित, प्रदेश अधिवेशनमा दुई पक्षीय भीडन्त](https://annapurnapost.prixacdn.net/media/albums/UML_Lumbini_ADhibesan1_pGUEeGbGXE_8GKtUlX3o0.jpg)
बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनको नयाँ नेतृत्व लिनका लागि नेताहरू आन्तरिक दौडधुपमा लागेका छन्।
केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने दुवै नेताहरू भूगोलमा दुई खेमामा विभाजित भएको देखिन्छ। कँडेल पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष विष्णु पौडेलको निकट मानिन्छन् भने रिजाल पार्टी महासचिव शंकर पोखरेल निकटका हुन्। भौगोलिक हिसाबले पनि दुवै नेता साविक राप्ती र लुम्बिनी क्षेत्रका हुन्।
प्रदेशमा गुटउपगुट नभएको नेताहरू प्रतिक्रिया दिँदै आए पनि आन्तरिकरूपमा यो झांगिएको छ। एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल र पार्टीका महासचिव दाङका शंकर पोखरेल निकटका भूगोलका नेताहरू दुई खेमामा विभाजित भएर चुनावी तयारी थालेका छन्।
प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि प्यूठानका हरिप्रसाद रिजाल बहालवाला केन्द्रीय सदस्यको पद त्यागेरै निर्वाचनमा होमिने तयारी गरेका छन्। उनी प्यूठानबाट निर्वाचनका लागि प्रतिनिधिसमेत चुनिएका छन्। ‘म व्याक हुने सयमा जीरो प्रतिशत पनि सम्भावना छैन,' रिजालले भने, 'सकभर सर्वसम्मत होस् भन्ने नै हो। नभए निर्वाचन लड्छु।'
उनले केन्द्रीय सदस्यमा भन्दा प्रदेश कमिटी अध्यक्ष भएर जनताको नजिक पुग्न सहज हुने प्रतिक्रिया दिए। पार्टीलाई वैचारिक रूपले एकतावद्ध बनाई देशकै नमूना प्रदेश कमिटीको रूपमा विकास गर्ने उनको अठोट छ। रिजाल मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा पूर्व मन्त्रीसमेत हुन्।
गाउँ संगठन कमिटीदेखि जिल्लासम्मको नेतृत्व लिएर कुशल जिम्मेवारी पूरा गरेको दाबीसहित आफूले प्रदेशको नेतृत्व लिन चाहेको उनको प्रतिक्रिया छ। ‘एउटा कर्मचारी खरदारदेखि सचिव, मुख्य सचिवसम्म आफूलाई अपग्रेट गर्न चाहन्छ,' रिजालले भने, 'मैले राजनीतिमा पनि क्रमवद्धरूपमा नेतृत्व लिन चाहेको हो।'
रिजाल २०३७ सालदेखि पार्टी कमिटीमा संगठित छन्। उनले तत्कालीन गाउँकमिटी, इलाका, अखिल र जिल्ला कमिटीको अध्यक्षको नेतृत्व गरिसकेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भए पनि त्यसलाई छाडेर प्रदेशको नेतृत्व लिने दौडमा रिजाल लागेका हुन्। ‘पार्टीको आन्तरिक विरोधलाई समाधान गर्ने, अराजकतालाई अन्त्य गर्ने र अनुशासित रूपमा संगठित गर्ने योजना छ,' ५८ वर्षीय रिजालले भने, ‘प्रदेशमा एमालेलाई घरघरमा पुर्याएर अबका सबै निर्वाचनमा पहिलो बनाउने लक्ष्य छ।’
चुनौतीको घडीमा तदर्थ कमिटी हुँदै प्रदेशको नेतृत्व गरेको र एकपटक अधिवेशनबाट निर्वाचित भएर पुनः नेतृत्व गर्ने संकल्प रहेको अर्का आंकाक्षी राधाकृष्ण कँडेलले प्रतिक्रिया दिए। उनी लगातार २० वर्ष पार्टी जीवनमा क्रियासिल छन्। जिल्ला, साविक अञ्चल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा छन्। पाल्पा निवासी कँडेलको बसोबास अहिले बुटवलमा छ।
दुई/दुई पटकका स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्याएको र देशकै उत्कृष्ट प्रदेश कमिटीको रूपमा स्थापित गरेको अनुभवले पनि आफू पूनः निर्वाचित हुनुपर्ने उनको दाबी छ। अहिले लुम्बिनीका २७ स्थानीय तहमा एमालेको नेतृत्व, ३९ वटामा उपाध्यक्ष निर्वाचित छन्। ११ जिल्लामा प्रतिनिधिसभा सदस्य, २ जिल्लामा पार्टीको समर्थनमा सांसद् र १८ जना सांसद् प्रदेशमा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेश मतका हिसाबले पनि अरुपार्टी भन्दा बोलियो बनाएको उनले बताए।
‘कामको हिसाबले पनि म दोहोरिनुपर्छ भन्ने हो,' कँडेलले भने, 'साथीहरू बुझ्ने हुनुहुन्छ। अवश्य साथ दिनुहुनेछ।’ कँडेलले पनि पाल्पाबाट विद्यार्थी जीवनदेखि राजनीति थालेका हुन्। विद्यार्थीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, पार्टीको इलाका सेक्रेटरी, जिल्ला कमिटी सदस्य हुँदै दुई-दुई पटक पार्टीको नेतृत्व गरेको उनमा अनुभव छ। उनी पूर्व राष्ट्रिय सभा सदस्य पनि हुन्।
आकांक्षी जो भए पनि ओली निटककै नेतृत्व हुने भएपछि यस क्षेत्रका नेता रुपन्देहीका भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य, कपिलवस्तुका बलराम अधिकारी मौन थिए। तर, पुरानै नेतृत्व दोहोरिने संकेत पाएपछि उनीहरुले रिजाललाई अघि सारेर आफूहरु पछाडि हटेको एमाले निटक नेताहरू बताउँछन्। तीनै जना नेता महासचिव शंकर पोखरेल निकटका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कँडेललाई प्रदेश कमिटी अध्यक्ष बनाएकै कारण रिजाललाई केन्द्रीय सदस्यमा अघि सारेको बुझिएको छ। अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाबाट १ हजार ४ जना प्रतिनिधि चयन भएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)