मिनी रंगशाला निर्माणमा चरम लापरवाही

३६ महिनामा ३६ प्रतिशत मात्रै काम

मिनी रंगशाला निर्माणमा चरम लापरवाही
सुन्नुहोस्

सिन्धुपाल्चोक : बागमती प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा निर्माणाधीन ‘मिनी रंगशाला’ निर्माण कम्पनीको चरम लापरवाहीका कारण अलपत्र अवस्थामा पुगेको छ। 

तीन वर्षभित्र पूरा हुने गरी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोकको भैसेंपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन इकाई र सुनकोशी–गिरी जेभीबीच २०७७ असार २३ मा ठेक्का सम्झौता भएको थियो। सम्झौता समय सकिएर म्याद थप्दासमेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन।

सम्झौता अनुसार २०७९ पुस २३ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा निर्माण पूरा नभएपछि सार्वजनिक निर्माण कार्यान्वयन इकाईले पहिलो पटक २०८० असार मसान्तसम्मका लागि ६ महिनाको म्याद थपेको थियो। तर, ठेकेदार कम्पनीले ३६ महिनामा ३६ प्रतिशत मात्रै निर्माण सकेको छ। कम्पनीले २० करोड ९२ लाख २६ हजार ९ सय २ रुपैयाँमा ठेक्का लिएको थियो। 

प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि ३० करोड ९१ लाख ५७ हजार ५ सय ७० रुपैयाँ विनियोजन गरे पनि ठेकेदार कम्पनीले न्युनतम मूल्यमा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले ३२.५४ प्रतिशत घटी मूल्यमा सम्झौता गरेको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले जनाएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल सामाजिक विकासमन्त्री हुँदा रंगशाला निर्माण योजना सम्झौता भएको थियो।

ठेकेदारले समयमा काम पूरा गर्न नसकेपछि प्रदेश सरकारले ६ महिनाभित्र निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएको थियो। ठेकेदार कम्पनीले काम सुरु नगरे ठेक्का रद्द गर्ने र नयाँ ठेक्का लगाउने प्रदेश सरकारको तयारी छ। ‘पहिले त म्याद थपेर यही निर्माण व्यवसायीमार्फत काम सम्पन्न गराउनेतर्फ लाग्छौं’, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले भने, ‘निर्माण कम्पनीले अब पनि आलटाल गर्ने र निर्माण सुरु नगर्ने हो भने ठेक्का तोडेर अर्को ठेक्का लगाउनुको विकल्प रहँदैन।’

थप गरिएको समयमा पनि मिनी रंगशालाले पूर्ण आकार लिनेमा सरोकारवालाहरू नै विश्वस्त छैनन्। ‘हामीले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम सुरु गरेको छैन’, सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैसेंपाटीका प्रमुख चन्द्रप्रसाद लुईंटेल भन्छन्, ‘प्रदेश सरकारको निर्देशन बमोजिम हामीले ठेकेदार कम्पनीलाई ६ महिनाभित्र काम सक्न ताकेता गरेका छौं। ६ महिनाभित्र ठेकेदारले कामको प्रगतिलाई द्रुत रुपमा बढाएन भने सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का तोडिन्छ र कम्पनीलाई कालो सूचीमा राखेर कारवाही प्रक्रिया अगाडि बढ्छ।’ अहिले निर्माण भएको रंगशाला पनि मापदण्ड अनुसार छैन। रंगशालाको डिजाइन अहिलेसम्म पाँच पटकसम्म फेरिएको छ। रंगशालाको ५ वटा प्यारापिटमध्ये दुई वटाको काम सुरु नै भएको छैन। यस्तै पानी ट्याङ्की, टिकट काउन्टरलगायतको संरचना बनाउन सुरु नै भएको छैन।

बेलाबेलामा नक्सा र डिजाइन परिवर्तन गर्ने, सम्पन्न भएको कामको भुक्तानी समयमा नदिने र निर्माण सामग्रीको मूल्यबृद्धि भएकाले कम्पनी समस्यामा परेको फिल्डमा रहेका कम्पनीका प्रतिनिधि शिव घलेले बताए। ठेकेदार कम्पनीले सम्झौता रकममध्ये ७ करोड ३९ लाख ७५ हजार ३ सय २० रुपैयाँ भुक्तानी लिइसकेको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले जनाएको छ। कार्यान्वयन इकाईका अनुसार मिनी रंगशालाको फुटबल मैदान अखिल नेपाल फुटबल संघको मापदण्ड बमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ भने पाँच सय सवारी साधन अट्ने पार्किङ स्थल, ड्रेसिङ रुमलगायत संरचना बनाइनेछ। 

निर्माण भइरहँदा रंगशालाको संरचना कमजोर देखिएको छ। रंगशालाको पर्खाल चर्किसकेको छ। ‘रंगशालाको ढलान चुहिएर पानीको धारो बग्छ’, रंगशालाभित्र तेक्वान्दो खेलाउँदै आएका हिराहरि डोजाङका प्रमुख रमेश गुरुङ भन्छन्, ‘एकदमै कमसल सामग्री प्रयोग भएको छ। अहिले नै भित्ताहरू चर्कन थालेको छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.