पार्टी रुपान्तरण अभियान : कर्णालीका गाउँगाउँ पुगे माओवादी
![पार्टी रुपान्तरण अभियान : कर्णालीका गाउँगाउँ पुगे माओवादी](https://annapurnapost.prixacdn.net/media/albums/Maoists_1_5OeVgnAiT6_83GMbbWbMX.jpg)
तीन महिनासम्म नागरिकहरूसँग जोडिएर काम गर्नेगरी गाउँ फर्किएका माओवादी कर्णालीमा बाटाघाटा, मठमन्दिर निर्माणजस्ता सामाजिक उत्तरदायीत्वसम्बन्धी कार्यमा लागिरहेका छन् । अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तिर्सना हमालले जुम्लामा पार्टीका नेता तथा कार्यकर्ताहरू विभिन्न सामाजिक कामसँगै पार्टीको संगठन निर्माण अभियानमा लागिरहेको बताइन् ।
वीरेन्द्रनगर : नेकपा माओवादी केन्द्र आफ्नो रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि माओवादी केन्द्रले देशव्यापी रुपमा ‘जनतासँग माओवादी रुपान्तरण अभियान सुरू गरेपछि माओवादीका नेता तथा कार्यकर्ताहरू गाउँगाउँ पुगेका हुन्।
कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका मान्दै आएको माओवादीले पछिल्लो समय सांगाठानिक रुपमा ओरालो लाग्ने अवस्थामा छ । तत्कालिन नेकपा माओवादीले थालेको दश वर्षे सशष्त्र द्वन्द्वमा कर्णालीका रुकुम,रोल्पालगायतका विकट जिल्लाबाट व्यापक जनसहभागिता बटुलेर निकै ठूलो क्षति व्यहोरेको माओवादीले फेरि एकपटक पुरानै साख बचाउने दाउमा छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज महेन्द्रबहादुर शाहीले जनतामा पुरानै अवस्थाको माओवादीको उत्साह भेटिएको बताए । सुर्खेतदेखि कालिकोटका गाउँगाउँसम्म विभिन्न कार्यक्रममा सहभागी बनेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता शाहीले पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरू र आगामी दिनमा माओवादी केन्द्रले गर्नुपर्ने कामका विषयमा जनताका बीचमा राख्न आफूहरु गाउँ केन्द्रीत भएको बताए । उनले भने,'अभियानका सुरुवातका दिनहरू नै निकै उत्साह देखिएको छ । व्यापकरुपमा कर्णालीमा नेता तथा कार्यकर्ताहरू गाउँगाँउमा खटिएका छन् । जनताको घरदैलोमा पुगेर जनताका समस्या सुन्ने, सहयोग गर्ने जस्ता कामहरूले पाटीको संगठन निर्माणले पनि गति लिएको छ । '
उनले कर्णाली प्रदेश जनयुद्धका बेलाजस्तै अहिले पनि माओवादी केन्द्रको पकट भएको प्रदेश रहेको बताए । उनले भने, 'कर्णालीमा अझै पनि जनताको आशा भरोसा माओवादीप्रति नै छ । पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूले पनि ग्रामीणस्तरका नागरिकहरूमा माओवादीले केही गर्छन् की भन्ने आशा पलाएको छ । यसले पार्टीलाई निकै उर्जा थपेको छ । हामी खासगरी कर्णालीमा भएको माओवादीको शक्तिलाई जोगाउने र बढाउने अभियानमा छौँ ।'
तीन महिनासम्म नागरिकहरूसँग जोडिएर काम गर्नेगरी गाउँ फर्किएका माओवादी कर्णालीमा बाटाघाटा,मन्दिर निर्माणजस्ता सामाजिक उत्तरदायीत्वजस्ता कार्यमा पनि लागिरहेका छन् । अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तिर्सना हमालले जुम्लामा पार्टीका नेता तथा कार्यकर्ताहरू विभिन्न सामाजिक कामसँगै पार्टीको संगठन निर्माण अभियानमा लागिरहेको बताइन् । उनले भनिन्,'अहिले संचालन भइरहेको पार्टी रुपान्त्रण अभियानले गाउँमा निकै उत्साह देखिएको छ । पार्टी पंक्तिमा सक्रियता पनि बढेको छ । '
२०६४ सालको निर्वाचनमा कर्णालीमा माओवादीको बर्चश्व थियो । कर्णालीका विकट जिल्ला रुकुम, रोल्पा, जुम्ला, कालिकोट, मुगुजस्ता जिल्लामा माओवादी बाहेक अन्य पार्टीको मान्छेहरू कमै देखिन्थ्ये । चुनावमा गाउँमा अन्य पार्टीका उमेदवारहरू पनि प्रचार गर्न जान नसक्ने अवस्था थियो । तर, २०७० को निर्वाचनपछि खस्किएको पार्टीको अवस्थालाई अभियानमार्फत् सुधार गर्ने गरी गाउँ केन्द्रीत भएको मुगुमा अभियानको नेतृत्व गरिरहेकी नेकपा माओवादी केन्द्रीय सदस्य गोमा कुंवरले बताइन् ।
उनले अभियानअन्तरगत सबै तहका नेतालाई गाउँ–गाउँमा केन्द्रित गरेको बताइन् । 'कर्णालीमा पार्टी कमजोर होइन् । पार्टीभित्रकै केही कमीकमजोरीका कारण संगठन कमजोरजस्तो देखिएको हो ,उनले भनिन,'अहिले संचालन भइरहेको रुपान्त्रण अभियानले संगठनलाई थप मजभुत बनाएको छ । '
अभियानअन्तरगत कर्णालीमा माओवादी केन्द्रले वडामा खटाएका प्रतिनिधिहरूले संगठन सुधार, विभिन्न विषयमा बहस र अन्तरक्रियासँगै सरसफाइ तथा बाटाघाटा,सडक मर्मतका कार्यक्रममा जनश्रमदान गरिरहेका छन् ।
'घरघरमा माओवादी,जनजनमा माओवादी’ को नाराका साथ माओवादी केन्द्रले सुरुवात गरेको ३ महिने अभियानमा केन्द्रीय नेतृत्वलाई नै वडा तहसम्म पठाएर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टी संगठनमा युवापुस्ताको आकर्षण बढाउने लक्ष्य रहेको माओवादी केन्द्र कालिकोटका संयोजक एवं केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईले बताए । यो अभियानमार्फत् सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले माओवादी पार्टीले उठान गरेको युवा र जनजीविकाको एजेण्डालाई निरन्तरता दिन नसक्दा समस्या आएको बताए। उनले विगतका जनमत र राजनीतिक परिवर्तनबाट माओवादीले नै जनताका मुद्दालाई उठान गरेर कार्यान्वयनमा ल्याएको दावी गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)