उच्च आयको रोजगारी ग्यारेन्टीले विदेश मोह तोड्छ
रामदिनेश मिश्र, प्रिन्सिपल, यती इन्टरनेसनल कलेज
विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा कसले के पढ्यो ? के भन्यो ? वा के भयो ? भन्दा पनि आफ्नो परिवेशलाई हेरेर कुन संकाय पढ्ने भन्ने निर्णय गर्नुपर्छ। विद्यार्थीले आफ्नो पढाइको अवस्था, इच्छा, पारिवारिक तथा भौतिक सहजता लगायतका कुरालाई मध्य नजरमा राखेर निर्णय गर्नुपर्छ।
हाम्रो शिक्षा प्रणाली व्यावहारिक छैन भनिन्छ, कारण के हो ?
हाम्रो शिक्षा प्रणालीलाई अव्यावहारिक भनिनुमा दुईवटा मुख्य कारणहरू छन्। प्रथमतः हाम्रो पाठ्यक्रमलाई समसामयिक विश्व परिवेशअनुसार अध्यावधिक छैन। दोस्रो, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा परिणत गर्न मुस्किल छ।
शैक्षिक गुणस्तर वृद्धिका लागि प्रणाली परिवर्तन कतिको आवश्यक छ ?
शैक्षिक गुणस्तर वृद्धि गर्न प्रणाली परिवर्तनभन्दा पनि विधि र प्रक्रियामा सुधार गर्दै कक्षाकोठामा छलफल गरिने सैद्धान्तिक ज्ञानहरूलाई व्यवहारमा लागू गरी सिद्धान्तअनुसारको सीप विकासमा जोड गर्नु पर्दछ।
विद्यार्थी बिदेसिनुको प्रमुख कारण के हो ?
हाम्रो मुलुकको समग्र सामाजिक, आर्थिक तथा राजनीतिक वातावरणमा बढ्दै गएको अस्थिरता नै विद्यार्थी बिदेसिनुको प्रमुख कारण मान्न सकिन्छ। बढ्दै गएको विदेश मोहले विद्यार्थीलाई विदेश पठाउन मलजल गरिरहेको छ।
नेपालको शिक्षा प्रणाली दुई खालको जनशक्ति उत्पादन गरिरहेको छ, भनिन्छ नि !
पक्कै पनि। यो नेपालको मात्र नभई वर्तमान परिप्रेक्ष्यमा विश्वभर प्रचलित शैक्षिक प्रणाली हो। एकखाले सैद्धान्तिक शोध–खोज गर्ने र अर्काथरी सीपलाई व्यवहारमा रूपान्तरण गर्दै समसामयिक अर्थ व्यवस्थालाई चलायमान बनाउने, यी दुईखाले जनशक्ति उत्पादन गर्ने काम शिक्षा प्रणलीले गर्छ।
नेपाली र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरमा कस्तो भिन्नता छ ?
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरको अन्तरको कुरा गर्दा पहिलो त पाठ्यक्रम नै फरक हो। विदेशी विश्वविद्यालयका पाठ्यक्रम समयानुकूल अध्यावधिक र ज्ञानलाई सीपमा परिवर्तन गर्ने खालका व्यवहारिक विधि प्रयोग भएका छन्।
विदेशी विश्वविद्यालयको डिग्री किन लिने ?
हरेक विषयमा शोध तथा अनुसन्धान भइरहेको छ, र विदेशी विश्व विद्यालयका पाठ्यक्रम सोहीअनुरूप अध्यावधिक पनि भइरहको हुनाले विदेशी विद्यालयका डिग्रीले विद्यार्थीको सोच शैली परिवर्तन हुने मात्र नभई रोजगारदाताको अगाडि पनि सम्भावनामुखी प्रदर्शन गरी रहेका हुन्छन्।
अभिभावकले आफ्ना सन्तानले राम्रो अध्ययन गरून् भन्ने चाहना राख्छन्। मुलुकको दश जोड दुई शिक्षाको विकासक्रमलाई कसरी लिनुहुन्छ ?
हाम्रो मुलुकको विद्यमान शिक्षा प्रणलीमा अध्यावधिक, विश्व परिवेशअनुसार गतिशिल नै हाम्रो दश जोड दुई शिक्षाको विकासलाई लिनु पर्ने हुन्छ।
मुलुकमा उत्पादित जनशक्तिका लागि हाम्रो रोजगारी बजार पर्याप्त छ कि छैन ?
यस विषयमा एउटा छुट्टै अनुसन्धान हुनुपर्छ। यद्यपि विद्यमान सामाजिक अवस्था र सोचअनुसार विदेश मोहका कारण देशमा चाहिने जनशक्ति उत्पादन भए पनि रोजगारदाताले खोजे चाहेअनुसारको जनशक्ति पाउन निकै मुस्किल पर्दै गएको छ।
तपाईं आबद्ध हुनुभएको कलेजबारे केही भनिदिनोस् न !
बुद्धनगर, काठमाडौंमा अवस्थित यती इन्टरनेसनल कलेजमा व्यवस्थापन, मानविकी तथा सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालित छन्। स्नातक तहमा बीसीए, बीबीएस बीएचएम, बीटीटीएम एयरलाइन्स बिजनेस, तथा स्नाकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालित छन्।
तपाईंकै कलेजमा किन पढने ?
यती कलेजको समग्र शैक्षिक वातावरण, पूर्वाधार, शैक्षिक कार्यक्रमको पाठ्यक्रम, शिक्षक तथा अध्यापकको शैक्षिक र व्यावहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप, सहज प्रशासन, तथा सुलभ शुल्कले गर्दा हाम्रो कलेज सहरका अन्य कलेजको तुलनामा विद्यार्थीको रुचिको केन्द्र बनेको छ। यहाँबाट आफ्नो शैक्षिक उपाधि लिएका विद्यार्थीको इच्छा वा अवस्थाअनुसार त्यसभन्दा माथिको शैक्षिक कार्यक्रममा सहजरूपमा प्रवेश पाउनुका साथै सतप्रतिशत रोजगारीमा परिणत भएको छ।
तपाईंका कलेजमा पढेको जनशक्तिले रोजगारीका क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
मुख्यतः हाम्रा कलेजले नेपालको मात्र नभई विदेशको अर्थतन्त्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। हाम्रो कलेजबाट दीक्षित विद्यार्थीले समाजका सबै क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।
केही रोजगारी पनि सिर्जना गरेका छन् तर पनि माथि भनिए जस्तो मुलुकमा विद्यमान बढ्दो अस्थिरता र नवप्रर्वतनमा चाहिने पुँजीको अभाव तथा असहजताले गर्दा गर्न सकिने जति परिवर्तन हुन सकेको छैन।
अध्ययनका नाममा ठूलो धनराशि विदेश गइरहेको छ। यसलाई स्वदेशमै रोक्नका लागि के–के गर्नुपर्ला ?
हाम्रो समाजको समग्र सोच र चेतनामा परिवर्तन गरी विदेश मोह भंग गर्न सक्नुका साथै मुलुकमा रोजगारी सिर्जना गर्नुपर्छ। यसैगरी नवप्रर्वतन तथा स्वरोजगारका लागि आवश्यक पुँजी सहज रूपमा उपलब्ध गराउन जरुरी छ।