बीपीको सम्झनामा साहित्यिक सम्मेलन

बीपीको सम्झनामा साहित्यिक सम्मेलन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको आयोजनामा तथा नेपाली लेखक संघ,नेपाल सांस्कृतिक महासंघ, फाइन आर्ट र निरन्तर शनिबारको आयोजनामा आइतबारदेखि ‘बीपी साहित्य सम्मेलन–२०८०’ सुरु भएको छ। नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा आयोजना भएको महोत्सवमा १५ वटा शीर्षकमा छुट्टाछुट्टै कार्यपत्रहरू पेश हुँदैछन्।

डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरू रहेका छन्। महोत्सवको पहिलो दिन ‘हाईज्याकिङ फर डेमोक्रेस’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ। सँगसँगै बीपीसँग सम्बन्धित सामाग्रीहरू पनि प्रदर्शनमा राखिएको छ।

‘कथा पनि सत्यतामा लेख्ने नेता’

महोत्सवको पहिलो दिन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन्। 

बीपी आफैंमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्दै सभापति देउवाले भने, ‘उहाँँ राजनीतिक जगतमा सवैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधँै अजर र अमर नक्षत्रका रूपमा आज पनि स्थापित हुनुहुन्छ। उहाँँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौं।’ बीपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको भन्दै देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए। 

‘मैले एकपटक श्वेतभैरवी पढिसकेपछि उहाँँलार्ई सोधेको थिएँ,’ देउवाले भने, ‘त्यसबेला मैले कथाको कुरा सोध्दा उहाँँले घुँडामा रहेको घाउ देखाउनुभएको थियो। त्यसकारण उहाँँले लेखेका कथा पनि सत्य घटनामा आधारित हुन्थे। उहाँँको साहित्य पनि समाज र वरपर भएका घटनाहरू नै हुन्थे।’

‘महोत्सवले बीपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँँका साहित्यिक कृति, उहाँँले भोग्नु परेका संघर्षमय जीवन गाथा र उहाँँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजका युवा पुस्तालार्ई गहिरो ज्ञान बाँड्नेमा केन्द्रित हुने विश्वास छ। बीपी सादा जीवनमा विश्वास गर्ने उच्चतहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँँलार्ई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो। उहाँँले माक्र्स र गान्धीलार्ई गहिरिएर पढ्नुभएको थियो। प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलार्ई आवश्यक ठान्नुहुन्थ्यो।’ 

बीपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भनेको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बीपीको विचार रहेको सभापति देउवाले बताए। उनले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालार्ई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको बताउँदै, ‘समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व पाएको छैन। नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न पाएका छैनौं। बीपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेदविरूद्ध आगो ओकल्नु हुन्थ्यो। समावेशिता र सधैं नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो। राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैं उभिनुभयो,’ सभापति देउवाले भने। 

अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बीपी सबैंको सह–अस्तित्व र सम्मानलार्ई उच्च मान्यतामा राख्ने भएको भन्दै देउवाले, ‘राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गर्नु उहाँँको स्वभाव थियो।’ 

महोत्सवको पहिलो दिन प्रा.डा. अभि सुवेदीको ‘बीपी साहित्य सिर्जना र जीवन दर्शन’ विषयमा सम्भाषण प्रस्तुत भएको थियो। त्यसपछिको सत्रमा ‘बीपीका दृष्टिमा बीपी’ विषयमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, लेखक सीके लालको प्रस्तुति थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.