विराटनगरमा यस्तो भने समाजवादी मोर्चाका शीर्ष नेताले

विराटनगरमा यस्तो भने समाजवादी मोर्चाका शीर्ष नेताले

विराटनगर : चार दलीय समाजवादी मोर्चाले विराटनगरमा सोमबार सन्देशसभा सम्पन्न गरेको छ। सभालाई मोर्चाका शीर्षलगायतका नेताहरुले सम्बोधन गरेका छन्। 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताले सन्देशसभालाई सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा नेताहरुले एकअर्काको खुलेर प्रशंसा गरे। 

उनीहरुले मोर्चा सरकार टिकाउन र कुनै ‘बार्गेनिङ’ गन नभइकन सुशासन, समृद्धि र भ्रष्टाचारको अन्त्य गर्नका लागि बनेको जिकिर गरे। मोर्चालाई प्रदेश, जिल्ला र पालिकास्तरदेखि देशका कुनाकुनासम्म विस्तार गरिने बताए। 

जनतालाई सडकमा उतार्छौं : प्रधानमन्त्री 
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले हिंसारहित युद्धका लागि लाखौं नेपाली जनतालाई सडकमा उतार्ने दाबी गरेका छन्। 

‘भोलि (मंगलबार) सुदूरपश्चिममा सभा गरेपछि सातवटै प्रदेशमा मोर्चाको कार्यक्रम सकिन्छ। त्यसपछि कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई,’ प्रचण्डले भने, ‘समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको छ। हामीले नयाँ लडाइँ सुरु गर्दैछौं। हिंसावाला होइन। हतियार उठाउने पनि होइन । हामी हतियारविहीन युद्धको थालनी गर्दैछौं।’ 

उनले वर्षौ जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए। हावाहुरीबाट आएका पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको उनको स्वीकारोक्ति छ। ‘अहिले सामाजिक सञ्जाल हेर्ने हो भने हेरिसाध्य छैन। टिकटक एकछिन हेरौं भन्यो, एक्लै हेर्दा पनि लाज लाग्ने जस्तो। तर तिनैको संरक्षण नयाँ भनिएका दलहरूबाट हुँदैछ। हामी जेलनेल भोगेकाहरू भने रक्षात्मक हुने अवस्था आएको छ,’ प्रचण्डले भने। नेताहरूको एकअर्कालाई होच्याउने बानी बसेकाले त्यसलाई सुधार्नुपर्नेमा उनको जोड छ। 

प्रधानमन्त्री दाहालले धरानमा सम्प्रादायिक मुठभेड निम्तिन नदिन आफूले धेरै मिहीनेत गरेको दाबी गरे। धर्म निरपेक्षको लागि लडेको पूर्वी क्षेत्रमा जातीय तथा धार्मिक द्वन्द्व फैलाउन खोजिएको उनको आरोप छ। ‘यो क्षेत्र धर्म निरपेक्षका लागि लडेको हो। यही क्षेत्रमा धार्मिक अतिवाद, जातीय दंगा फैलाउन खोजियो। मैले सबै दलका नेताहरूलाई दंगा फैलिएर सात-आठ जना नेपालीको ज्यान गयो भने त्योजस्तो दुर्भाग्य केही हुँदैन भने। गृहमन्त्री र प्रहरीलाई मुठभेडको अवस्था आउन नदिन निर्देशन दिएँ। मुठभेडको स्थिति आउन नदिन निषेधाज्ञा जारी गर्न परे गर्नू भनेर आग्रह गरें। त्यही भएकाले दुई समूहबीच हुनसक्ने मुठभेठ रोकियो। मैले प्रधानमन्त्रीको हैसियतले धेरै जिम्मेवारी निभाएको छु,’ प्रचण्ड भन्छन्।
 
लोकतान्त्रिक दलका नेतालाई खुकुरी हानिएको भन्दै उनले अब मोर्चाले इँटको जवाफ पत्थरले दिने जिकिरसमेत गरे। लाइसेन्स, नागरिकतालगायतमा गरेका काम, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आवद्ध गर्ने र देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याइने कुरा समाजवादको भु्रण भएको उनको भनाइ छ। 

मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी ललिता निवास र सुन तस्करी रोक्न सरकारले काम गरेको प्रचण्डले बताए। उनले ठूला र दीर्घकालीन महत्वका आयोजना निर्माणमा सरकार सक्रिय भएको उल्लेख गरे। आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू  खोल्ने, चीनसँग विद्युत व्यापारको ढोका खोल्नेलगायतका विषयमा समझदारी हुने उनले बताए। समाजवादी मोर्चा पार्टी एकताको आधार भएको दाबी प्रचण्डले गरेका छन्। 

समाजवादबाटै असमानताको अन्त्य गरिने छ : नेपाल 
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले समाजवादबाटै असमानताको अन्त्य गरिने र सबैलाई न्याय दिइने बताए। ‘मिसन समाजवाद’ लिएर आफूहरु अघि बढेको उनको भनाइ छ। ‘सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास बढाउनुपर्छ । त्यो काम प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको छ,’ नेपालले भने, ‘सुशासनको पक्षमा काम हुनु पर्छ। त्रुटि सच्याउन नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुँदैन।’  

उनले जनताको आवाज उठाउने मोर्चालाई प्रदेश, जिल्ला र पालिकास्तरसम्म विस्तार गरिने बताए। भ्रष्टाचारमा डुबेका र अपराधमा संलग्न रहेकालाई मोर्चाले अस्वीकार गर्ने नेपालको जिकिर छ। ‘अहिले नेपाल र विश्वकै परिस्थिति जटिल छ,’ उनी भन्छन्, ‘यस्तो बेला राष्ट्रिय स्वाधीनताको रक्षा महत्वपूर्ण हुन्छ ।’ दलाल पूँजीवादको प्रभाव नेपाली राजनीति र अर्थतन्त्रमा पर्न नदिन लडाइँ सुरू गर्नुपर्ने नेपालले बताए। आफूहरू एकता र मेलमिलापको पक्षमा रहेको उल्लेख गर्दै नेपालले समाजवादमा जानका लागि मोर्चा बनाइएको दाबी गरे। 

जनताको अधिकार प्रत्याभूत गर्ने कानुन भएन : यादव 
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादवले जनताको अधिकार प्रत्याभूत गर्ने कानुन बनाउन नसकिएको बताएका छन्। ‘संविधानले दिएको अधिकार प्रत्याभूति गर्न कानुन बनाउन सकिएन,’ उनले भने, ‘गणतन्त्र स्थापनापछि १३ पटक सरकार परिवर्तन भइसकेको छ।’ सत्ताको फोहोरी खेलको कारण प्राप्त उपलब्धिको रक्षालाई संस्थागत र कानुन कार्यान्वयन गर्न नसकिएको यादवको भनाइ छ। 

कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरता बोकेर हिँड्नु परेको कारण सबै समुदायले प्राप्त उपलब्धिको लाभ लिन नसकिरहेको उनले बताए। ‘देशमा अराजकता बढ्दै गएको छ। सुशासन, समृद्धि र विकास नल्याएसम्म यो कायमै रहन्छ,’ यादवले भने, ‘राजनीतिक स्थिरता नभएसम्म विकास र समृद्धि प्राप्त हुँदैन। प्रचण्डले खुद्राखुद्री कुरामा अलमल नगरिकन मुलुकलाई निकास दिनतर्फ लाग्नुपर्छ।’ सरकार र परिवर्तनकारी शक्ति असफल हुँदा मुलुक प्रतिगमनतिर जाने उनको भनाइ छ। ‘राजनीतिको खुद्रे खेलबाट जोगिँदै अगाडि बढ्न सक्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्रमाथि नै आक्रमण भइरहेकाले झनै सतर्क हुनुपर्छ।’ 

मोर्चालाई कुनाकुनामा पुर्‍याइने छ : विप्लव 
नेकपाका महासचिव ‘विप्लव’ले सबै अन्तरविरोधको हल गर्न बनेको समाजवादी मोर्चालाई देशको कुनाकुनामा पुर्‍याइने उद्घोष गरेका छन्। ‘मोर्चा इतिहासकै नयाँ प्रयोग हो। स्पष्ट दृष्टिकोण लिएर आएको मोर्चाले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्छ,’ उनले दावाका साथ भने, ‘नेपालमा अहिलेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जानुपर्छ । जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न पाएनन् ’ 

वर्तमान व्यवस्थाले मुलुक दलाल पूँजीपतिको जिम्मामा जाने खतरा रहेकाले त्यसलाई रोक्न आवश्यक रहेको र नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने विप्लव बताउँछन्। क्रान्तिका नायकहरूलाई अपराधीजस्तो गर्ने परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको उनको आरोप छ। ‘कम्युनिष्टहरु मिलेर देशलाई निकास दिँदै कालोसपना देख्नेहरूलाई सखाप पार्नुपर्छ,’ विप्लवले भने, ‘साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोज्दैछन्।’ उनले मुलुकलाई निकास नेपालीले नै दिने भन्दै कसैले युक्रेन बनाउने सपना देख्न नहुने बताए। 

क्रान्तिबाट आफू नडराउने उनको भनाइ छ। ‘माधव नेपाल र उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे हामी सडकमा लड्न तयार छौं,’ विप्लवले भने, ‘हामी क्रान्तिबाट डराउँदैनौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.