राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै उज्यालो बन्दै कर्णाली

राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै उज्यालो बन्दै कर्णाली
तस्बिर : अन्नपूर्ण

पछिल्लो समय कर्णालीका ९ वटा जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ । मुगु जिल्लामा विद्युत विस्तार भएसँगै कर्णालीका १० वटा जिल्ला मध्ये ९ वटा जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । यसअघि सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, कालीकोट, डोल्पा र रूकुम–पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको थियो ।

वीरेन्द्रनगर : कालिकोटको तिलागुफा नगरपालिका ६ का नरेश शाहीले प्राथमिक तहमा पढ्दा घरमा सल्लाको झरो बालेर पढ्नु पथ्र्यो । उनी हरेक दिन विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न सल्लाको झरो बाल्थ्ये । तर, पछिल्लो समय तिलागुफामा त्यस्तो छैन् । जहाँ राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेपछि गाउँ नै झलमल्ल छ । उनले भने, गाउँमा सिंहदरबारसँग अन्य सडक, विद्युत,अस्पताल जस्ता सेवाहरु आएपछि हामीलाई धेरै सहजिलो भएको छ । संघीयतापछि हामीले धेरै सेवा सुविधाहरू उपभोग गर्न पाएका छौँ । तर, छिनछिनमा बत्ती जाने समस्या अहिले पनि छ । यो समस्या नभइदिए त थप आनन्द हुने थियो ।' 

कालिकोटको तिलागुफाका ५ वटा वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली जडान भइसकेको छ । अन्य वडामा पनि विस्तारको काम भइरहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । उनले भने, 'हामीले हाम्रो पाँच वर्षभित्र तिलागुफा नगरपालिका झिलिमिली बनाउने योजना थियो । दोस्रो आर्थिक वर्षमा नै नगरपालिका झलमल्ल हुनेभयो । नगपालिकाका हरेक वडामा यातायात सेवा, वडा वडामा आधारभूत भरपर्दो स्वास्थ्य सेवा पुगाउने लक्ष्य लिएका थियौँ । विस्तारै लक्ष्य हाँसिल हुँदैछ । शिक्षा र कृषिमा पनि हामीले सुधारको संकेत देखिसकेका छौँ । हरेक वडामा हुने उत्पादन बृद्धि गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने, विद्यालयमा नियमित गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलाप गर्ने जस्ता कामहरु भइरहेका छन् । '

तिलागुफा मात्र होइन,जिल्लामा रहेको ९ वटै पालिकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत जडान कार्य भइरहेको छ । कालिकोटबाट प्रतिनिधिसभा सदस्य बिजयी सांसद एवं पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने,' म उर्जामन्त्री भएको बेला राष्ट्रिय प्रसारण लाइनको विद्युत सुर्खेतसम्म मात्र थियो । सुर्खेतमा रहेको राष्ट्रिय प्रसारण लाइनसँग माथिल्लो कर्णालीलाई जोड्न पहल लिएको थिएँ । कालिकोटलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सपना म उर्जामन्त्री भएकै बेलामा देखेको थिएँ। पहल गर्दागर्दै धेरै समय जिम्मेवारीमा नरहने अवस्था आयो । तरपनि ढिलै भएपनि कालिकोट मात्र नभइ सिंगो माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत सेवा पुग्यो । निकै खुसी लाग्यो । '

पछिल्लो समय कर्णालीका ९ वटा जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ । मुगु जिल्लामा विद्युत विस्तार भएसँगै कर्णालीका १० वटा जिल्ला मध्ये ९ वटा जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । यसअघि सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, कालीकोट, डोल्पा र रूकुम–पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको थियो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भने,' कर्णालीमा राष्ट्रिय प्रसारण लाइन नपुगेको जिल्ला अब हुम्लामा मात्र भयो । त्यहाँ पनि राष्ट्रिय प्रसारण लाइन पुगाउनका लागि पहल भइरहेको छ । चाँडै नै कर्णाली प्रदेशभरी राष्ट्रिय प्रसारण लाइनबाट बिजुली पुगाउने र सबै बस्तीसम्म विस्तार गर्नेगरी समन्वय गरिएको छ । '

कालीकोट–जुम्ला ३३ केभी प्रसारण लाइनबाट कालिकोट र जुम्लाको सिमाना नाग्मामा ट्यापिङ गरेर करिब ८५ किलोमिटर लाइन निर्माण मुगुसम्म विद्युत पुगाएर सदरमुकाम गमगडी बजारमा पनि राष्ट्रिय प्रसारण लाइनबाट विद्युत वितरण गर्न सुरू गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादवले बताए । यसअघि राष्ट्रिय प्रसारण लाइन नपुगेको मुगुमा स्थानीयस्तरमा सञ्चालित साना जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत वितरण गरिएको थियो । प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति गर्दै आएको थियो । प्राधिकरणका अनुसार मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३÷११ केभी सवस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको छ । 

राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी रहेको कर्णालीको एक मात्र जिल्ला हुम्लामा पनि राष्ट्रिय प्रसारण लाइन पुगाउन प्रक्रिया अघि बढिसकेको छ । राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भएको छ । ठेक्का सम्झौता भइ सर्भेको काम भइरहेको प्रदेश प्रमुख कुसियतले बताए । उनका अनुसार हुम्लामा लाइन पुर्‍याउनका लागि अहिले सर्भको काम भइरहेको छ । उनले भने,' आगामी दुई वर्षभित्र कर्णाली प्रदेशलाई नै पूर्ण रूपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । अबको दुई वर्षभित्रमा कर्णाली प्रदेशका दश जिल्लाका बासिन्दाको घर–घरमा विद्युत पुर्‍याउने गरी काम अगाडी बढाइएको छ । '

कर्णाली प्रदेशका दश जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । तीन नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कूल ७ सय १८ वडामध्ये ३ सय ९३ मा विद्युत पुगेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.